२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

विकासको पर्खाइमा खोलिबडगाउँ

Nada
प्रचण्ड खत्री
२०८३ असार ६ गते १५:५१
Shares
विकासको पर्खाइमा खोलिबडगाउँ

रुकुम पश्चिम :  रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट करिब २० किलोमिटर टाढा रहेको खोलिबडगाउँ विकासका दृष्टिले अझै पनि पछाडि परेको स्थानीयवासीको गुनासो छ ।

ncell

बाफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको यस गाउँमा क्षेत्री समुदायका २८ घरधुरी बसोबास गर्छन् । गाउँका अधिकांश बासिन्दा आपसमा नातागोता तथा भाइपट्टीका सम्बन्धका छन् । स्थानीय थलवीर केसीका अनुसार गाउँको कुल जनसंख्या २०३ रहेको छ ।

स्थानीयवासीले पटक–पटक माग गरे पनि गाउँमा उल्लेखनीय विकास योजना नपरेको उनीहरूको गुनासो छ । करिब पाँच वर्षअघि पूर्वाधार विकास कार्यालयमार्फत ४० लाख रुपैयाँको लागतमा सिँचाइ कुलो निर्माण गरिएको थियो । त्यसबाहेक गाउँमा ठूला विकास आयोजना सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ ।

गाउँमा हालसम्म स्तरीय सडक निर्माण हुन सकेको छैन भने कुनै सामुदायिक भवन पनि निर्माण गरिएको छैन । स्थानीयवासीहरूका अनुसार विकासको अभावको मुख्य कारण बजेट विनियोजन नहुनु हो ।

खोलिबडगाउँका बासिन्दाले छिमेकी गाउँहरूसँग तुलनामा विकासबाट वञ्चित भएका छन् । उनीहरूका अनुसार डार्ने गाउँमा सडक सञ्जाल नपुगे पनि राम्रो सिँचाइ कुलो निर्माण भएको छ र घरघरमा खानेपानीका धारा पुगेका छन् । त्यस्तै छिमेकी गाउँ बालुवाचौरमा वर्सेनि बजेट पर्ने गर्छ ।

खोलिबडगाउँ पूर्व गाउँपालिका अध्यक्षको गाउँसमेत हो । स्थानीयवासीका अनुसार पूर्व अध्यक्षको कार्यकालमा ४० लाख रुपैयाँको सिँचाइ कुलो निर्माण भए पनि त्यसबाहेक गाउँको समग्र विकासका लागि उल्लेखनीय काम हुन सकेन । अहिले पनि सडक, सामुदायिक संरचना तथा अन्य पूर्वाधार निर्माणका थुप्रै काम बाँकी रहेको स्थानीयको भनाइ छ ।


 

ताजा खबर

सम्बन्धित खबर