
व्यस्त समय र प्रविधिको साथ स्थानीय तहका लागि जेठ र असार महिना बजेट तर्जुमा, योजना व्यवस्थापन र भुक्तानीको चाप हुने अत्यन्तै व्यस्त समय हो । यस्तो समयमा कार्यालय प्रमुखको एक क्षणको अनुपस्थिति पनि चर्चाको विषय बन्न सक्छ। तर, वर्तमान समयमा सूचना प्रविधिको विकासले कार्यसम्पादनको शैलीमा आमूल परिवर्तन ल्याएको छ। 'सूत्र', पिएएमएस र विद्युतीय हाजिरी जस्ता डिजिटल प्रणालीका कारण कार्यालय बाहिर रहँदा पनि ल्यापटप र अनलाइनका माध्यमबाट भुक्तानी लगायतका प्रशासनिक कार्यहरू नरोकिई सम्पन्न गर्न सकिने सुविधा उपलब्ध छ ।
शितगंगा नगरपालिकामा नीति तथा कार्यक्रम र बजेटको चटारो भइरहँदा अर्कोतर्फ भालुवाङ क्षेत्रस्थित राप्ती खोलाको नदीजन्य पदार्थ उत्खननको ठेक्का म्याद सकिएको विषयले एउटा जटिल मोड लिएको थियो । कानुनी रूपमा म्याद थप गर्ने कुनै आधार नभए पनि उच्च तहका व्यक्तिहरूको नाम जोडेर म्याद थपका लागि निरन्तर दबाब दिने प्रयास भइरहेको थियो । राति अबेरसम्म र बिहानैदेखि अपरिचित व्यक्तिहरूबाट फोनमार्फत आउने यस्ता दबाबहरूले प्रशासनिक निष्ठाको अग्निपरीक्षा लिइरहेको थियो । कानुनी रूपमा असम्भव कुरामा सम्झौता नगर्ने प्रमुख प्रशासकीय अधिकृतको अडान र त्यसले सिर्जना गरेको मानसिक दबाबका बीचमा पनि कार्यालयको कामकाजलाई व्यवस्थित बनाउने प्रयास जारी थियो ।
समन्वयको अभाव र संस्थागत अभ्यास संस्थागत सुशासनका लागि सूचनाको आदानप्रदान र समन्वय अनिवार्य हुन्छ। प्राइम टेलिभिजन जस्ता बाह्य निकायसँग हुने कार्यक्रमहरूमा पूर्व जानकारी र आर्थिक प्रस्तावको स्वीकृति बिना अघि बढ्दा प्रशासनिक जटिलता र आर्थिक दायित्वको प्रश्न उठ्ने गर्दछ । खरिद प्रक्रिया र आर्थिक ऐनको पालना गर्नु प्रमुख प्रशासकीय अधिकृतको दायित्व हुने भएकाले यस्ता कार्यक्रममा हुनुपर्ने न्यूनतम समन्वयको अभावले संस्थागत कार्यसम्पादनमा केही असहजता सिर्जना गरेको देखिन्छ ।
एक दिने बिदा र अफवाहको खेती आफ्नो व्यक्तिगत र केही प्रशासनिक कामका लागि प्रमुख प्रशासकीय अधिकृतले विधिवत रूपमा निमित्तको जिम्मेवारी सुम्पिएर मात्र एक दिन कार्यालय छोडेका थिए । तर यसलाई लामो समय अनुपस्थित रहेको जस्तो गरी सार्वजनिक रूपमा गरिएका टिप्पणी र अभिव्यक्तिहरू वास्तविक परिस्थितिसँग मेल खाने खालका थिएनन् । कार्यालय बाहिर रहँदा पनि अनलाइन माध्यमबाट काम भइरहेको अवस्थामा जिम्मेवार सहकर्मी र पदाधिकारीहरूबाटै फरक बुझाइ व्यक्त हुनु दुःखद पक्ष हो ।
आपसी सम्मान र सुशासनको मार्ग प्रमुख प्रशासकीय अधिकृत पनि एक व्यक्ति हो, जसका आफ्नै व्यक्तिगत र पारिवारिक दायित्वहरू हुन्छन् । कार्यालय बाहिर जाँदा पनि जिम्मेवारी हस्तान्तरण गरेर र मन्त्रालय तथा अन्य निकायसँग समन्वय गरेरै जाने गरिन्छ । तथ्य र प्रक्रियालाई नबुझी गरिने एकपक्षीय टिकाटिप्पणीले व्यक्तिको आत्मसम्मानमा मात्र होइन, अन्ततः संस्थाको कार्य वातावरण र प्रतिष्ठामा समेत नकारात्मक असर पुर्याउँछ ।
नगरपालिकाको हितका लागि आरोप र आलोचनाभन्दा पनि आपसी सम्मान, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नु आवश्यक छ । गल्ती खोज्नेभन्दा सहयोग गर्ने र विवादभन्दा सहकार्यको संस्कृतिले मात्र नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ ।
(लेखक सापकोटा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)