२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

मिडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह

Nada
मुकुन्द लामिछाने
२०८३ असार ७ गते ०६:२०
Shares
मिडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह

बुटवल : सञ्चार क्षेत्रका अगुवाहरूले वर्तमान सरकारले लिएको मिडिया नीति उचित नरहेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन् । खासगरी विज्ञापनसम्बन्धी सरकारको निर्णयले सञ्चार क्षेत्र प्रभावित छ । सञ्चार क्षेत्र र पत्रकारलाई प्रत्यक्ष प्रभाव पारेको सरकारको विज्ञापनसम्बन्धी निर्णय सच्चिनुपर्नेमा मिडिया क्षेत्रका अगुवाहरू एक भएका हुन् । 

ncell

‘चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३’ बुटवलमा शनिबारदेखि सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजना र नेपाल मिडिया सोसाइटीको सहआयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सुरु भएको चौथो राष्ट्रिय मिडिया सम्मेलन दुई दिनसम्म चल्नेछ ।

पहिलो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै मिडिया क्षेत्रका अगुवाहरूले विज्ञापनसम्बन्धी निर्णय सच्चिनुपर्ने बताएका हुन् । सरकारले निजी सञ्चारमाध्यमलाई दिने विज्ञापन तथा सार्वजनिक सूचनामा लगाएको प्रतिबन्धले मिडिया क्षेत्रलाई गम्भीर संकटमा धकेलेको उनीहरूको निष्कर्ष छ ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा सरकार लोकतन्त्र समाप्त बनाउने खेलमा लागेको बताउँछिन् । आम नागरिकको स्वतन्त्रताको हक कुन्ठितका लागि मिडियालाई समाप्त पार्ने रणनीतिमा सरकार लागेको भन्दै उनले ध्यानाकर्षण गराइन् । 

नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले पनि मिडिया सबल नहुँदासम्म लोकतन्त्रको सबलीकरण सम्भव नहुने बताए । 

नेपाली सञ्चार क्षेत्रका चुनौती, अवसर तथा समसामयिक विषयमा छलफल गर्ने गरी सम्मेलनको आयोजना गरिएको हो । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुंवरको सभापतित्वमा भएको कार्यक्रममा महासचिव माधव नेपालले सञ्चालन गरेका हुन् भने उपाध्यक्ष विष्णु भुसालले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रमलाई नेपाल मिडिया सोसाइटीका पूर्वअध्यक्ष शुभशंकर कँडेल र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पनि सम्बोधन गरेका थिए । 

कँडेलले नर्वेको उदाहरण दिएका थिए । उनका अनुसार नर्वेमा पत्रिका प्रकाशन गर्न सरकारले सहायता नै दिने गरेको छ । साथै, नर्वेमा मिडियालाई शून्य भ्याट लाग्दछ । जबकि, अन्यको हकमा ३९ प्रतिशतसम्म भ्याट लाग्ने गरेको छ । 

पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेले मिडियाको विगत, वर्तमान र भविष्यबारे व्याख्या गरे । सञ्चार क्षेत्र जति स्वतन्त्र र सबल हुन सक्यो लोकतन्त्र त्यति बलियो हुने उनको भनाइ रहेको छ ।

स्थानीय सरकार पनि रुष्ट

संघीय सरकारले लिएको विज्ञापनसम्बन्धी नीतिप्रति स्थानीय सरकार पनि रुष्ट छ । 

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे दुईतिहाइ नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको बताउँछन् । 

चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३ को पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले संघीय सरकारले मिडियालाई समाप्त गदै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाए । 

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाहरूले आफूलाई पनि समयानुकूल परिष्कृत गर्दै अगाडि बढनुपर्नेमा जोड दिएका छन् । 

आयोजकका अनुसार नेपाली मिडिया क्षेत्रले सामना गरिरहेको आर्थिक, प्राविधिक तथा नीतिगत चुनौतीमाथि व्यापक छलफल गर्ने उद्देश्यसहित ‘चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३’ आयोजना गरिएको हो ।

‘संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य’ मूल नारासहित आयोजित सम्मेलनको उपनारा ‘मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी’ रहेको छ । आयोजकका अनुसार सम्मेलनले नेपाली सञ्चार क्षेत्रले भोगिरहेका आर्थिक, संरचनागत, प्राविधिक र नीतिगत समस्याबारे गहन छलफल गर्दै निकासको उपाय समेत सुझाउनेछ ।

पछिल्ला वर्षहरूमा विज्ञापन बजार खुम्चिँदै जानु, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, सञ्चालन खर्च बढ्दै जानु, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको कमीका कारण विशेषगरी छापा माध्यमहरू गम्भीर संकटमा परेका छन् ।  

सम्मेलनको मुख्य उद्देश्य पनि सरकारी विज्ञापन नीतिमा सुधारका लागि साझा धारणा निर्माण गर्नु, मिडियाका लागि वैकल्पिक राजस्व स्रोतको खोजी गर्नु, डिजिटल रूपान्तरणलाई अवसरका रूपमा उपयोग गर्ने रणनीति विकास गर्नु तथा सञ्चार उद्योगभित्र सहकार्य र एकता सुदृढ गर्नु रहेको छ ।

यसै सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको दोस्रो दिन आइतबार राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला हुनेछ । उक्त भेलामा दैनिक पत्रिकाले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल संक्रमण तथा आवश्यक नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुनेछ ।

सम्मेलनमा देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले बुटवल घोषणापत्र जारी गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर