२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

छिनखेत खोलामा ह्युम पाइप जडान, वर्षायाममा यातायात आवागमन सहज हुने

Nada
प्रचण्ड खत्री
२०८३ असार ७ गते १४:१५
Shares
छिनखेत खोलामा ह्युम पाइप जडान, वर्षायाममा यातायात आवागमन सहज हुने

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ र ९ को सिमानामा पर्ने छिनखेत खोलामा वर्षायाममा हुने आवागमन समस्यालाई समाधान गर्न ह्युम पाइप जडान गरिएको छ ।

ncell

गाउँपालिकाका अनुसार वर्षात्का बेला खोलामा पानीको बहाव बढ्दा सवारीसाधन र पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो । ह्युम पाइप जडान भएसँगै वर्षायाममा समेत यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

छिनखेत–खलंगा सडकखण्डमा नियमित रूपमा सवारी चलाउँदै आएका चालक मनबहादुर विकले विगतका वर्षहरूमा खोलामा पानी बढ्दा सवारी सञ्चालनमा समस्या भोग्नुपरेको बताउँदै ह्युम पाइप जडानपछि उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

बाँफिकोट गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत तेजबहादुर डाँगीका अनुसार गाउँ कार्यपालिका बैठकले ह्युम पाइप बिछ्याउने कार्यका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट आवश्यक काम सम्पन्न गरिएको उनले जानकारी दिए ।

ह्युम पाइप जडान कार्यमा छिनखेत क्षेत्रका विभिन्न निर्माण व्यवसायीहरूले समेत सहयोग गरेका छन् । स्थानीय तहका प्रतिनिधिहरूले यस पूर्वाधार निर्माणपछि बाँफिकोट, स्यार्पुदह, बडगाउँ, मग्मा, दुली, पिपल तथा रुकुम पूर्वको पाङ्गा क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरेका छन् ।

स्थानीयवासीका अनुसार वर्षायाममा बारम्बार अवरुद्ध हुने सडक सञ्चालनलाई सहज बनाउन गरिएको यो कार्यले ग्रामीण क्षेत्रमा यातायात पहुँच सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर