२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

स्टार्मरबाट बालेनले सिक्नुपर्ने पाठ

Nada
जनक बराल
२०८३ असार ९ गते ०७:३९
Shares
स्टार्मरबाट बालेनले सिक्नुपर्ने पाठ

बेलायती राजनीतिमा ठुलो हलचल पैदा भएको छ । दुई वर्षअघि मात्रै अत्यधिक बहुमतसहित सत्तामा पुगेका लेबर पार्टीका नेता किर स्टार्मर प्रधानमन्त्री पदबाट बाहिरिएका छन् । लामो समय शासन गरेको कन्जरभेटिभ पार्टीलाई पराजित गर्दै ‘अबको दशक लेबरकै हो’ भन्ने भाष्य निर्माण गरेका स्टार्मरको बहिर्गमनले लोकतन्त्रमा जनमत कति छिटो बदलिन सक्छ र सत्ता कति अस्थायी हुन्छ भन्ने तथ्य फेरि प्रमाणित गरेको छ ।

ncell

महँगी, आप्रवासन व्यवस्थापन र जनअपेक्षाअनुसार परिणाम दिन नसक्नु स्टार्मरका लागि महँगो साबित भयो । बेलायतको यो घटनाले नेपालको सत्ता नेतृत्वकर्ता नयाँ राजनीतिक शक्ति, विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई पनि महत्वपूर्ण सन्देश दिएको छ ।

स्टार्मरको राजनीतिक अवसानको मुख्य कारण चुनावी प्रतिबद्धताअनुसार काम गर्न नसक्नु थियो । नेपालमा पनि परम्परागत दलहरूको कार्यसम्पादनप्रतिको असन्तुष्टिकै कारण रास्वपा र बालेनको उदय भएको हो । रास्वपा र बालेनको उदय र विकासक्रममा पुराना दलको गलत कदम नै महत्वपूर्ण कारक बनेको देखिन्छ । उदय हुँदा हेक्का नराखेका पुराना दलहरूले जेनजी आन्दोलनसम्म आउँदा थप भेउ नपाएको पाइन्छ । तर, जेनजी आन्दोलनले उनीहरूलाई एकैपटक विस्थापित गरिदियो र रास्वपा र बालेनलाई मूल नेतृत्वकर्ताको रूपमा अगाडि ल्यायो । जनताले रास्वपा र बालेनलाई ठुलो आशा र अपेक्षासहित समर्थन गरेका छन् । 

तर इतिहासले देखाएको छ– अपेक्षा जति ठुलो हुन्छ, निराशा पनि त्यति नै गहिरो हुन सक्छ । रास्वपा वा बालेन शाहका लागि लोकप्रिय नारा, सामाजिक सञ्जालको चर्चा वा प्रतीकात्मक कदम मात्र पर्याप्त हुँदैनन् । सरकारको तर्फबाट रास्वपाले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सेवा प्रवाहमा नागरिकले अनुभूति गर्ने परिवर्तन देखिन सकेन भने जनमत फेरिन धेरै समय लाग्दैन ।

बेलायतमा स्टार्मरको विकल्प खोज्ने प्रक्रिया सुरु भएझैं नेपालमा पनि राजनीतिक शून्यता कहिल्यै रहँदैन । यदि आजका नयाँ शक्तिले महँगी, बेरोजगारी र आर्थिक संकटजस्ता जनजीवनका मूल समस्याको समाधान दिन सकेनन् भने उनीहरूको स्थान लिन अर्को नयाँ शक्ति वा अझै तीव्र राजनीतिक धार उदाउन सक्छ । राजनीतिमा ‘विकल्पहीन’ भन्ने कुनै अवस्था स्थायी हुँदैन ।

बालेन शाहले सामाजिक सञ्जालमा प्राप्त लोकप्रियता र केही साहसिक निर्णयका आधारमा बनेको छवि सधैं कायम रहन्छ भन्ने निश्चितता छैन । दुई वर्षअघि स्टार्मर पनि अभूतपूर्व जनसमर्थनका साथ सत्तामा पुगेका थिए, तर लोकप्रियता मात्रै सत्ता टिकाउने आधार बन्न सकेन ।

यस घटनाले अर्को महत्वपूर्ण पाठ पनि दिन्छ– व्यक्तिगत लोकप्रियता र संस्थागत शक्तिबीचको अन्तर । बेलायतमा पार्टीभित्र नेतृत्वलाई चुनौती दिने, समीक्षा गर्ने र आवश्यक परे परिवर्तन गर्ने स्थापित राजनीतिक संस्कृति छ । नेपालमा भने रास्वपा र बालेन दुवैको राजनीतिक शक्ति अझै धेरै हदसम्म व्यक्तिकेन्द्रित देखिन्छ । रास्वपाको उदय नै रवि लामिछानेको लोकप्रियतासँग जोडिएको छ । पछिल्लो समय जेनजी आन्दोलन र बालेनको क्रेज पनि रास्वपाको आधार बनेको छ । यद्यपि, यी आधार वैचारिक वा संगठनात्मक भन्दा व्यक्तिगत ब्रान्डमा आधारित छ । तर व्यक्तिमा आधारित राजनीति बलियो संस्थागत संरचना, आन्तरिक लोकतन्त्र र स्पष्ट नीतिबिना दीर्घकालीन हुन सक्दैन ।

विश्वव्यापी आर्थिक मन्दी, महँगी र ऊर्जा संकटको असर नेपालमा पनि स्पष्ट देखिइरहेको छ । यस्तो अवस्थामा नागरिकले भाषण होइन, परिणाम खोजिरहेका छन् । जनताको दैनिकी सहज बनाउने काममा सफलता प्राप्त गर्न नसके लोकप्रियता क्षणिक साबित हुन सक्छ ।

त्यसैले किर स्टार्मरको बहिर्गमनलाई केवल बेलायतको राजनीतिक घटनाका रूपमा मात्र हेर्नुहुँदैन । यो सत्ता, जनमत र नेतृत्वबारेको एउटा महत्वपूर्ण चेतावनी पनि हो । सत्ता स्थायी हुँदैन, जनसमर्थन पनि सधैं एकनास रहँदैन । त्यसैले बालेन शाह, रास्वपा र अन्य नयाँ राजनीतिक शक्तिले व्यक्तिपूजाभन्दा परिणाममुखी शासन, संस्थागत विकास र जनताको वास्तविक समस्याको समाधानमा केन्द्रित हुनु आवश्यक छ । अन्ततः लोकतन्त्रमा लोकप्रियता होइन, कार्यसम्पादन नै सबैभन्दा ठुलो परीक्षा हो ।

ताजा खबर

सम्बन्धित खबर