चुनाव नजिकिएसँगै दल प्रवेशको लहर चलेको छ । चुनावकै सम्मुखमा देखिएको दल परिवर्तनको कारण अवसर भएको लुक्दैन । एउटा राजनीतिक दलबाट अर्कोमा प्रवेश तीव्र बनेको छ । राजनीतिक व्यक्तिहरुको दल अदलबदललाई स्वभाविक नै मान्न सकिन्छ । राजनीतिक निष्ठा फरक कुरा भयो, तर राजनीतिक दृष्टिले हेर्दा दल चयन गर्ने अधिकार हरेक व्यक्ति छ । राजनीतिक व्यक्ति पनि नागरिक भएकाले दल परिवर्तन गर्ने अधिकार सुरक्षित छ । त्यसरी दल परिवर्तन गर्नुमा चुनावी हिसाब नै मुख्य हो । एउटा पार्टीबाट टिकट नपाउने सम्भावना नदेखेका वा त्यो पार्टीमा भविष्य नदेखेपछि अर्को पार्टीमा प्रवेश नौलो कुरा नै भएन । टिकटको सुनिश्चितता गरेर पार्टी प्रवेश गर्ने प्रवृत्ति कायम छ । त्यस्तैमा बिहीबार पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् ।
२०७४ कै चुनावमा आइजीपी हुन नपाएपछि नवराज सिलवालले एमाले रोजेका थिए । एमालेबाटै उनी सांसद पनि भए । अहिले खनाल पनि एमाले प्रवेश गरेका छन् । एमालेमै भविष्य देखेर उनी प्रवेश गरेको हुनसक्छ । पूर्व प्रहरी प्रमुखकै पार्टी प्रवेशले केही प्रश्न अवस्य उठ्नेछ । तर यसलाई चुनावी रौनककै रुपमा नै बुझ्नुपर्ने हुन्छ । दलहरुले पनि आँखा चिम्लेर पार्टी प्रवेश गराइरहेका छन् । विशेषगरी सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिने तयारी गरेपछि एमालेले प्रवेशलाई प्राथमिकतामा राखेको देखिन्छ । जसरी पनि चुनाव जित्ने नीति लिएरै फरक राजनीतिक विचारधारा भएपनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धनको निर्णय गरिसकेका छन्, स्थानीय चुनाव लडिसकेका छन् ।
जसरी पनि चुनाव जित्ने नीति अन्तर्गत अहिले राष्ट्रिय मुद्दाहरु विवादित बन्न पुगेको छ । नागरिकता विधेयकमा सरकार र राष्ट्रपतिबीच देखिएको मतभेद वा विपक्षी एमालेले लिएको अडानलाई पनि चुनावलाई ध्यान दिएर चालेको कदमकै रुपमा लिन सकिन्छ । यदि चुनावी एजेण्डा नबनाइएको थियो भने प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, नागरिकता विधेयक जस्ता विषयमा राष्ट्रिय सहमति जरुरी थियो । नागरिक विधेयक २०७२ को संविधानकै शृङ्खला भएकाले राष्ट्रिय सहमति अझ जरुरी थियो । तर त्यस्तो भएन । मत तान्ने दाऊ दल र तिनका नेताहरुले लिएका छन् । तर ध्यान दिनुपर्ने विषय भनेको चुनावमा सस्तो लोकप्रियता भन्दा पनि वास्तविक तथ्यको आधार हुनुपर्ने हो । दलहरुले यसतर्फ ध्यान नदिएपनि मतदातासँग अझै अवसर छ, आगामी चुनावमा त्यस्तो अभिमत प्रकट गर्नुले नै मुलुकका निम्ति हित हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies