
पर्सा : पर्साको दोस्रो सदरमुकामका रूपमा रहेको पोखरिया नगरपालिका अन्तर्गतको प्रदेशिक अस्पताल पोखरियामा विगत तीन महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राहीहरू रित्तै हात फर्किन बाध्य भएका छन् ।
ग्रामीण क्षेत्रका नागरिकका लागि पहिलो आशा र विश्वासको केन्द्रका रूपमा रहेको प्रदेशिक अस्पताल पोखरियामा विभिन्न रोगको उपचार गराउन दैनिक ठूलो संख्यामा बिरामी पुग्ने गरेका छन् । सेवाग्राहीहरू अस्पतालमा पुगेर चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएपछि सरकारले निःशुल्क उपलब्ध गराउने औषधि पाउने अपेक्षा गर्छन् । तर अस्पतालमा आवश्यक औषधि नहुँदा चिकित्सकले लेखेका औषधिसमेत उपलब्ध हुन नसकेपछि उनीहरू निराश हुँदै रित्तै हात घर फर्किन बाध्य भएका छन् ।
प्रदेशिक अस्पताल पोखरिया यस क्षेत्रका गरिब, दलित, ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा अन्य सर्वसाधारणका लागि उपचारको प्रमुख सरकारी स्वास्थ्य संस्था हो । तर पछिल्लो तीन महिनादेखि औषधि अभाव भएपछि सेवाग्राहीहरू उपचारपछि निजी मेडिकलबाट महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भइरहेका छन् ।
विशेषगरी चर्को गर्मीका बेला आवश्यक पर्ने ग्यास्ट्रिक, झाडापखाला, जीवनजल, भाइरल ज्वरो, टाइफाइडलगायतका रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिसमेत अस्पतालमा उपलब्ध छैन । यसले आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई थप समस्या परेको छ ।
औषधि अभावबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट आनन्द रौनियारसँग जिज्ञासा राख्दा उनले अस्पतालमा औषधिको समस्या रहेको स्वीकार गरे । उनका अनुसार प्रदेश सरकारले औषधि खरिदका लागि वार्षिक १० लाख रुपैयाँ र थप ५ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । तर अस्पतालको सेवा क्षेत्र ठूलो हुनु, बिरामीको संख्या निरन्तर बढ्दै जानु तथा सीमित बजेटका कारण आवश्यक मात्रामा औषधि खरिद गर्न कठिनाइ भएको उनले बताए ।
उनका अनुसार प्रदेशिक अस्पताल पोखरियामा दैनिक करिब २५० देखि ३०० जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको चाप बढेसँगै उपलब्ध औषधि पर्याप्त हुन नसकेको उनको भनाइ छ ।
मेडिकल सुपरिटेन्डेन्ट रौनियारले स्थानीय पोखरिया नगरपालिकाबाट पनि औषधि व्यवस्थापनका लागि पर्याप्त सहयोग हुन नसकेको उल्लेख गर्दै प्रदेश सरकारबाट थप बजेट प्राप्त भएपछि छिट्टै आवश्यक औषधि खरिद गरिने जानकारी दिए ।
अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि लामो समयदेखि अभाव हुँदा उपचारका लागि आउने सेवाग्राहीहरू निराश बनेका छन् । स्थानीयवासीले प्रदेश सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक औषधिको व्यवस्था गरी सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका छन् ।