२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बाँदरको त्राहिमाम्

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २७ गते ०६:४५
बाँदरको त्राहिमाम्

अर्घाखाँची : ग्रामीण भेगका किसानलाई बाँदर आतंक टाउको दुखाइको विषय बनेको छ । मानव बसोबास पातलिएपछि बाँदर लगायतका जंगली जनावरले दुःख दिँदा कैयन गाउँ नै विस्थापित हुने अवस्थामा पुगेका छन् ।

यस्तो समस्याबाट प्रभावित एक जिल्ला हो – अर्घाखाँची । अर्घाखाँचीमा बाँदर आतंकले अन्नबाली नोक्सानी गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका सबै पालिकामा बसोबास गर्ने स्थानीय बाँदर आतंकका कारण समस्यामा परेका छन् ।

‘खेती जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन्’ भूमिकास्थान नगरपालिका वडा नम्बर ९ सुवणखाल घडेरिडाँडाका सालिकराम दमासेले भने । उक्त गाउँमा १० घरधुरी किसान बसोबास गर्छन । 

स्थानीयका अनुसार घरमा भित्र रहेको अन्नपात समेत बाँदरले खाइदिने गरेको छ । बाँदर आतंककै कारण स्थानीय गंगाराम दमासे बसाइ सरेर तराई पुगेका छन् । बाँदर आतंकले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएर कैयन बसाइँ सराइ सर्न बाध्य भएको स्थानिय जित बहादुर सुनार सुनाउँछन् । 

भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष खेमराज चुदाँलीका अनुसार   बाँदरका कारण घरभन्दा टाढा रहेका धेरै रोपनी जग्गा गाउलेहरुले खेति गर्न छोडेर बाँझो भइरहेको छ ।

वडाध्यक्ष चुदाँली भन्छन्, ‘कानूनले बाँदर मार्न पाइँदैन, बाँदरले किसानलाई बाँच्न दिएन । सबै गाउँले मिलेर बाँदर धपाउने अभियान पनि सफल हुन सकिरहेको छैन ।’ 

भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का युवा समाजसेवी ईटन भुसाल बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो  । सबैले त्यही बाली लगाउन पनि सक्ने अवस्था नरहेको उनले बताए ।

‘पहिलादेखि गाउँमा कफी बाँदरले अतिक्रमण गर्न नसक्ने थाहा पाएको भए पनि कफी खेतीतर्फ लागिन्थ्यो’ उनी भन्छन्, ‘किसानले  कफिमा त्यति ध्यान दिन सकेका छैनन् ।’ 

भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे गाउँमा मानिसको जनघनत्व घटेका कारण बाँदरले सताएको बताउँछन् ।

‘पहिले गाउँभरी मानिस थिए, बाँदर थिएनन् । अहिले गाउँ खाली हुँदैछ, बाँदरको संख्या  बढेको छ’ उनले भने । 

बाँदर आतंक राज्यकै समस्या बनेको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने बताउँछन् । 

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ बजेट नै छुट्याएर काम गर्दा बाँदर आतंक केही हदसम्म न्यूनीकरण भएको बताउँछन् । दिर्घकालीन रुपमा समस्या समाधान हुन नसके पछि बजेट छुट्याउन छोडिएको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला बाँदर र जंगली जनावरका कारण अर्घाखाँचीका सबै पालिकाहरू प्रभावित रहेको बताउँछन् । समस्या समाधानका लागि राज्यले नै पहल लिनुपर्ने उनको बुझाई छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise