२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसको नयाँ यात्रा

Nada
रामगोपाल न्यौपाने
२०८३ असार १४ गते ०६:००
Shares
कांग्रेसको नयाँ यात्रा

आज नेपाली कांग्रेस फेरि एउटा महत्वपूर्ण मोडमा उभिएको छ । क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ क्रियाशील सदस्यता वितरणको कार्य प्रारम्भमा जेठ २८ गतेसम्मका लागि अन्तिम समयसीमा तोकिएको थियो । तर प्राविधिक तथा व्यवस्थापकीय कारणले केही सदस्यहरू छुट्न सक्ने अवस्था देखिएपछि समय थप गरिनु सकारात्मक निर्णय हो । लोकतान्त्रिक पार्टीमा कुनै पनि इमानदार र सक्रिय कार्यकर्ता प्रक्रियाबाट बाहिर नछुटून् भन्ने भावना आफैंमा स्वागतयोग्य छ ।

ncell

लोकतान्त्रिक संगठनमा मतभिन्नता हुनु स्वाभाविक हो । एउटै छानामुनि बसेका मानिसहरूको विचार फरक हुन सक्छ, तर पार्टीको मूल उद्देश्य, विचारधारा र भविष्यप्रतिको प्रतिबद्धता एउटै हुनुपर्छ । आज पार्टीभित्र देखिएका मतभेदलाई वैमनस्यतामा होइन, आत्मसमीक्षाको अवसरमा रूपान्तरण गर्न सक्यौं भने कांग्रेस अझ बलियो बन्न सक्छ ।

यस सन्दर्भमा हामीले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहासलाई पनि स्मरण गर्नैपर्छ । यो पार्टी केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय एकताको लामो संघर्षबाट निर्माण भएको संस्था हो ।

राष्ट्रनायक बिपी कोइरालाले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता, स्वतन्त्रता र नैतिक राजनीतिको आदर्श आज पनि कांग्रेसको मार्गदर्शक सिद्धान्त हो । गणेशमान सिंहको त्याग, साहस र निस्वार्थ नेतृत्व, कृष्णप्रसाद भट्टराई (किसुनजी)को सादगी, इमानदारी र नैतिकता, गिरिजाप्रसाद कोइरालाको संगठन निर्माण गर्ने दृढता, सुशील कोइरालाको सरल जीवनशैली र संविधान निर्माणप्रतिको समर्पण तथा अनेकौं अग्रज नेताहरूको योगदानले नेपाली कांग्रेसलाई आजको उचाइमा पुर्‍याएको हो । उहाँहरूले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिनुभयो– व्यक्तिभन्दा संस्था ठुलो हुन्छ, पदभन्दा सिद्धान्त ठुलो हुन्छ र गुटभन्दा पार्टीको एकता ठुलो हुन्छ ।

हामीमध्ये धेरैले जेल, नेल, आन्दोलन, त्याग र बलिदानको कठिन यात्रा पार गरेर लोकतन्त्रको यो उपलब्धि हासिल गरेका हौं । तर समयसँगै कतिपय अवस्थामा संघर्षका ती मूल्यहरू ओझेलमा पर्न थाले । पद र अवसर पाएपछि आन्दोलनका सहयात्रीलाई बिर्सने, सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिने, आर्थिक रूपमा कमजोर तर इमानदार कार्यकर्तालाई पाखा लगाउने, तथा त्याग र बलिदानको सम्मान क्रमशः कम हुँदै जानेजस्ता प्रवृत्ति देखिन थाले । यो कुनै एक व्यक्तिको समस्या होइन, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने विषय हो ।

यद्यपि, सबै कुरा नकारात्मक मात्र भएका छैनन् । धेरै राम्रा काम पनि भएका छन् । तर आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र सत्ताकेन्द्रित सोचका कारण ती उपलब्धि ओझेलमा परे । सुधारका सुझाव दिनेलाई कहिलेकाहीँ विरोधीका रूपमा बुझियो । आलोचनालाई सुधारको अवसरका रूपमा लिन नसक्दा संगठनले अपेक्षित गति लिन सकेन ।

गत वर्षको भदौ २३–२४ पछि विकसित राजनीतिक घटनाक्रम, सरकार परिवर्तन, जनमतमा आएको परिवर्तन र निर्वाचनका परिणामले हामीलाई स्पष्ट सन्देश दिएका छन्– जनताले कांग्रेससँग अझ जिम्मेवार, एकताबद्ध र विश्वासिलो नेतृत्वको अपेक्षा गरेका छन् । त्यसैले आज पनि यदि हामी केवल एकअर्कालाई दोष दिँदै बस्यौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन ।

कांग्रेसभित्र आज कोही विशेष महाधिवेशनलाई दोष दिन्छन्, कोही नेतृत्वलाई, त कोही संगठनलाई । तर समाधान दोषारोपणमा होइन, सुधारमा छ । पार्टीको विधान, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन आयोगका प्रावधान र न्यायालयका निर्णयको सम्मान गर्दै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन हुनु नै कांग्रेसको लोकतान्त्रिक परम्परा हो । आगामी पन्ध्रौं नियमित महाधिवेशनमा जसले कार्यकर्ताको मन जित्छ, उसैले नेतृत्व गर्ने अवसर पाउनु स्वाभाविक र स्वीकार्य प्रक्रिया हो ।

आज कांग्रेसलाई बाहिरी शक्तिभन्दा बढी भित्री अविश्वास, असहिष्णुता र दूरीले कमजोर बनाउने खतरा छ । यसको समाधान कुनै एक नेताको जित वा हारमा छैन । समाधान संवादमा छ, आत्मसमीक्षामा छ, विधि र विधानको सम्मानमा छ, पारदर्शितामा छ र सबैलाई सम्मान गर्ने संस्कृतिमा छ ।

हामीले बिपीको विचारलाई केवल भाषणमा होइन, व्यवहारमा उतार्नुपर्छ । गणेशमानको त्यागलाई केवल इतिहासमा होइन, वर्तमानको संस्कार बनाउनुपर्छ । किसुनजीको निस्वार्थतालाई राजनीतिक जीवनको आदर्श बनाउनुपर्छ । गिरिजाबाबुको संगठन निर्माण गर्ने क्षमताबाट सिक्नुपर्छ । सुशीलजीको सादगी र जिम्मेवारीलाई नेतृत्वको मापदण्ड बनाउनुपर्छ । त्यस्तै, महेन्द्रनारायण निधि, प्रदीप गिरि तथा लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउने सम्पूर्ण अग्रजहरूको योगदानबाट प्रेरणा लिनुपर्छ ।

कांग्रेस कसैको निजी सम्पत्ति होइन । यो लाखौं कार्यकर्ताको पसिना, हजारौं परिवारको बलिदान र करोडौं नेपालीको विश्वासले बनेको साझा संस्था हो । त्यसैले कुनै पनि नेता, कार्यकर्ता वा शुभेच्छुकले आफूभन्दा संस्था ठुलो हो भन्ने भावना हृदयदेखि स्वीकार गर्नुपर्छ । आजको आवश्यकता कसैलाई हराउनु होइन, कांग्रेसलाई जिताउनु हो । व्यक्तिवाद होइन, संस्थागत संस्कृति हो । गुट विस्तार होइन, संगठन विस्तार हो । पदको प्रतिस्पर्धा होइन, जनताको विश्वास जित्ने प्रतिस्पर्धा हो ।

आउनुहोस्, हामी सबै मिलेर आत्मसमीक्षा गरौं । एकअर्काको सम्मान गरौं । आलोचनालाई सुधारको अवसर बनाऔं । विधि, विधान, लोकतान्त्रिक मूल्य, संगठनात्मक अनुशासन र आपसी विश्वासलाई बलियो बनाऔं । भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पनि एकताबद्ध गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने वातावरण निर्माण गरौं ।

यदि हामीले बिपीको विचार, गणेशमानको त्याग, किसुनजीको निःस्वार्थता, गिरिजाबाबुको दृढता, सुशीलजीको सादगी र सम्पूर्ण अग्रजहरूको लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्न सक्यौं भने नेपाली कांग्रेसलाई पुनः जनताको पहिलो रोजाइ बनाउन असम्भव छैन । एकता नै आजको आवश्यकता हो । विधि र विधान नै हाम्रो शक्ति हो । विचार नै हाम्रो पहिचान हो ।

(लेखक न्यौपाने, नेपाली कांग्रेसनिकट नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुन् ।)

ताजा खबर

सम्बन्धित खबर