
राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाजको चरित्र निर्माण गर्ने प्रक्रिया पनि हो । राजनीतिक दलका नेता र कार्यकर्ताले बोल्ने भाषा, सार्वजनिक रूपमा गर्ने व्यवहार र फरक विचारप्रति देखाउने दृष्टिकोणले समाजमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले लोकतन्त्रको मूल्यांकन केवल निर्वाचन, संविधान वा सरकार परिवर्तनबाट मात्र हुँदैन । राजनीतिक संस्कार, सहिष्णुता र सार्वजनिक मर्यादाबाट पनि हुन्छ ।
नेपाल हजारौं वर्ष पुरानो सभ्यता र संस्कृतिको धनी मुलुक हो । यही सभ्यताले हामीलाई एउटा अमूल्य जीवनदर्शन ‘अतिथि देवो भवः’ दिएको छ । यसको अर्थ अतिथिलाई देवतासरह सम्मान गर्नु मात्र होइन, फरक पृष्ठभूमि, विचार वा आस्थाका व्यक्तिलाई पनि सम्मानपूर्वक व्यवहार गर्नु सभ्य समाजको आधार हो भन्ने हो । नेपाली समाजमा पाहुनालाई सम्मान गर्नु औपचारिक शिष्टाचार मात्र होइन, संस्कार हो । गाउँघरमा आज पनि पाहुना आउँदा घरको सबैभन्दा राम्रो ठाउँमा बसाल्ने, सक्दो सत्कार गर्ने र सम्मानपूर्वक बिदाइ गर्ने चलन कायम छ । आर्थिक अवस्था कमजोर भए पनि पाहुनाको सम्मानमा कमी आउनुहुँदैन भन्ने मान्यता नेपाली समाजको पहिचान बनेको छ ।
यद्यपि, हालै चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम केन्द्रीय महाधिवेशनमा देखिएको एउटा घटनाले राजनीतिक संस्कारबारे गम्भीर बहस जन्माएको छ । महाधिवेशनमा आयोजकको निमन्त्रणामा सहभागी भएका विभिन्न राजनीतिक दलका नेताहरूप्रति रास्वपाका केही नेताले सार्वजनिक रूपमा व्यक्त गरेका टिप्पणीलाई लिएर व्यापक चर्चा भयो । यसले राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य, सार्वजनिक शिष्टाचार र अतिथिप्रतिको सम्मानलाई कसरी बुझिरहेका छन् भन्ने प्रश्न पनि उठाएको छ ।
लोकतन्त्रमा आलोचना स्वाभाविक मात्र होइन, अपरिहार्य पनि हुन्छ । सरकारका नीति, विपक्षी दलका गतिविधि, विगतका राजनीतिक निर्णय वा नेतृत्वका कमजोरीमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार हो । तर आलोचना र अपमान एउटै कुरा होइनन् । आलोचना तर्क, तथ्य र विचारमा आधारित हुन्छ । अपमान व्यक्तिको गरिमामाथिको प्रहार हुन्छ । जब असहमतिलाई अपमानको भाषामा व्यक्त गरिन्छ, त्यहाँ लोकतान्त्रिक संवाद कमजोर हुन थाल्छ ।
चितवनको प्रसंगमा विशेषगरी रास्वपाले महाधिवेशनमा निमन्त्रणा गरेर बोलाएका अतिथिप्रति सम्मानजनक व्यवहार गर्नु सामान्य शिष्टाचार मात्र होइन, नैतिक दायित्व पनि हो । यदि कुनै अतिथिको विचारसँग असहमति छ भने त्यसलाई सार्वजनिक बहस, लेख, संसद् वा अन्य लोकतान्त्रिक मञ्चमार्फत अभिव्यक्त गर्न सकिन्छ । तर निमन्त्रणा स्वीकार गरेर कार्यक्रममा सहभागी भएको व्यक्तिलाई त्यही मञ्चमा अपमानित गर्नु न त हाम्रो सामाजिक संस्कारसँग मेल खान्छ, न त लोकतान्त्रिक मर्यादासँग ।
यस प्रसंगलाई कुनै एउटा दल वा व्यक्तिको आलोचनामा मात्र सीमित गर्नु पनि उचित हुँदैन । वास्तवमा पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा सार्वजनिक भाषाको स्तर खस्किँदै गएको देखिन्छ । सत्तापक्ष होस् वा विपक्ष, पुराना दल हुन् वा नयाँ, धेरै नेताले लोकप्रियता प्राप्त गर्ने उद्देश्यले उत्तेजक र कटु अभिव्यक्ति प्रयोग गर्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालको विस्तारसँगै यो प्रवृत्ति अझ तीव्र बनेको छ । तथ्य र तर्कभन्दा व्यंग्य, कटाक्ष र व्यक्तिगत आक्रमणलाई बढी महत्व दिन थालिएको छ । यसले लोकतान्त्रिक संवादको स्तर कमजोर बनाइरहेको छ ।
राजनीतिक नेतृत्वको भाषा केवल व्यक्तिगत अभिव्यक्ति हुँदैन । नेताले बोलेका शब्दले हजारौं कार्यकर्ता र समर्थकलाई प्रभावित गर्छन् । नेतृत्वले विरोधीलाई सम्मानपूर्वक सम्बोधन गर्छ भने कार्यकर्ताले पनि त्यही सिक्छन् । यदि नेतृत्वले अपमानजनक भाषा प्रयोग गर्छ भने त्यसले समाजमा असहिष्णुता र द्वेषलाई वैधता दिन सक्छ । त्यसैले सार्वजनिक जीवनमा रहेका व्यक्तिको भाषिक जिम्मेवारी सामान्य नागरिकभन्दा धेरै ठुलो हुन्छ ।
नेपालको राजनीतिक इतिहासमा वैचारिक प्रतिस्पर्धा निकै तीव्र रहँदै आएको छ । पञ्चायतविरुद्धको आन्दोलन, जनआन्दोलन, जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणजस्ता महत्वपूर्ण राजनीतिक चरणहरूमा गम्भीर मतभेद थिए । तर ती कठिन परिस्थितिमा पनि संवाद, सहमति र पारस्परिक सम्मानका अनेक उदाहरण देखिएका छन् । संसद्भित्र चर्को बहस गर्ने नेताहरू राष्ट्रिय कार्यक्रममा एउटै मञ्चमा बसेका, राजनीतिक प्रतिस्पर्धीरू व्यक्तिगत रूपमा सम्मानजनक सम्बन्धमा रहेका र राष्ट्रिय हितका विषयमा एक ठाउँमा उभिएका उदाहरणले लोकतन्त्रलाई परिपक्व बनाएका थिए ।
आजको आवश्यकता त्यही राजनीतिक संस्कारलाई अझ सुदृढ बनाउनु हो । लोकतन्त्रको अर्थ केवल आफ्नो विचार राख्ने स्वतन्त्रता होइन, अरूको विचार सुन्न सक्ने सहिष्णुता पनि हो । विरोधी विचारलाई शत्रुताका रूपमा होइन, लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा स्वीकार गर्ने संस्कार विकसित नगरी लोकतन्त्र बलियो हुन सक्दैन ।
विशेषगरी नयाँ राजनीतिक शक्तिहरूप्रति जनताको अपेक्षा अझ बढी हुन्छ । जनताले उनीहरूबाट नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक व्यवहार पनि खोज्छन् । नयाँ राजनीति भन्नाले केवल पुराना दलको आलोचना गर्नु होइन, सार्वजनिक जीवनमा नयाँ शिष्टाचार, नयाँ नैतिकता र नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नु पनि हो । यदि नयाँ शक्तिले पनि पुरानै कटु भाषा, असहिष्णु शैली र अपमानजनक व्यवहार दोहो¥याउँछ भने परिवर्तनको दाबी स्वाभाविक रूपमा कमजोर हुन्छ ।
त्यसैगरी, पुराना राजनीतिक दलहरू पनि यस प्रश्नबाट मुक्त छैनन् । उनीहरूले पनि विगतमा सार्वजनिक मर्यादा उल्लंघन गरेका घटना दोहोरिएका छन् । त्यसैले यो बहस कुनै एक दलको आलोचनाभन्दा पनि समग्र नेपाली राजनीतिक संस्कृतिको आत्मसमीक्षाका रूपमा अघि बढ्नुपर्छ ।
नेपाल विविधतायुक्त समाज हो । यहाँ फरक विचार, फरक आस्था, फरक जातीय र सांस्कृतिक पहिचान भएका नागरिक एउटै लोकतान्त्रिक व्यवस्थाभित्र सहअस्तित्वमा बाँचेका छन् । यस्तो समाजमा संवाद, सहिष्णुता र सम्मान नै सामाजिक एकताको आधार हो । यदि फरक विचार भएकालाई सम्मान गर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यसले राजनीतिक ध्रुवीकरण मात्र होइन, सामाजिक विभाजन पनि बढाउन सक्छ ।
राजनीतिक दलहरूले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन, जनताले उनीहरूका भाषण मात्र सुन्दैनन्, व्यवहार पनि हेर्छन् । चुनावी नाराभन्दा पनि सार्वजनिक जीवनमा देखिने आचरणले नागरिकको विश्वास निर्माण गर्छ । सम्मान गर्न जान्ने नेतृत्वले आलोचना पनि प्रभावकारी रूपमा गर्न सक्छ । तर, अपमानलाई राजनीतिक शैली बनाउने नेतृत्वले अन्ततः आफ्नै नैतिक उचाइ घटाउँछ ।
अन्ततः ‘अतिथि देवो भवः’ धार्मिक वाक्यांश मात्र होइन, लोकतान्त्रिक समाजको पनि नैतिक आधार हो । अतिथिको सम्मान गर्नु भनेको उनको विचारसँग सहमत हुनु होइन, उनको मानवीय गरिमाको पनि सम्मान गर्नु हो । लोकतन्त्रमा असहमति अपरिहार्य छ, तर अपमान अपरिहार्य छैन । विचारको प्रतिस्पर्धा लोकतन्त्रको शक्ति हो भने पारस्परिक सम्मान त्यसको आत्मा हो ।
सरकार फेरिन सक्छ, दलहरू सत्ता र प्रतिपक्षमा आउजाउ गर्न सक्छन्, राजनीतिक समीकरण बदलिन सक्छन् । तर समाजलाई दीर्घकालसम्म टिकाइराख्ने शक्ति भनेको संस्कार, मर्यादा र सहिष्णुता नै हो । त्यसैले चितवनको उक्त घटनालाई एउटा क्षणिक विवादका रूपमा मात्र होइन, नेपाली राजनीतिले कस्तो संस्कार निर्माण गरिरहेको छ भन्ने दृष्टिले पनि हेर्न आवश्यक छ । यदि हामीले लोकतन्त्रलाई संस्थागत मात्र होइन, संस्कारसहितको बनाउने हो भने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर सार्वजनिक जीवनमा सम्मान, शिष्टता र सहिष्णुताको संस्कारलाई बलियो बनाउनैपर्छ ।