२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संघको ३४औं स्थापना दिवस : अग्रजको संघर्ष, आजको उपलब्धि

Nada
पार्वती श्रेष्ठ खड्का
२०८३ असार १७ गते १३:५९
Shares
संघको ३४औं स्थापना दिवस : अग्रजको संघर्ष, आजको उपलब्धि

आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो ३४औं स्थापना दिवस मनाइरहेको छ । यो केवल एउटा संस्थाको स्थापना दिवस मात्र होइन, नेपालको वैदेशिक रोजगार क्षेत्रले पार गरेको संघर्ष, परिवर्तन र योगदानको स्मरण गर्ने अवसर पनि हो ।

ncell

आजको विकसित अवस्थामा आइपुग्नुअघि वैदेशिक रोजगार व्यवसायले निकै कठिन यात्रा तय गरेको छ । पञ्चायती व्यवस्थाको कठोर कानुनी संरचना, देशव्यापी अशिक्षा, व्यापक गरिबी र सीमित रोजगारीका अवसरबीच वैदेशिक रोजगारको अवधारणा स्थापित गर्नु आफैंमा ठुलो साहसको विषय थियो । त्यतिबेला अग्रज व्यवसायीहरूले जोखिम मोलेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने पहल गरे । त्यसले हजारौं होइन, लाखौं नेपाली परिवारको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्यो र गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍यायो ।

त्यो समय व्यवसाय सञ्चालन गर्न कानुनी जटिलता र विभिन्न चुनौतीहरू थिए । यिनै समस्यालाई समाधान गर्न, व्यवसायलाई व्यवस्थित बनाउन र सरकारसँग संवाद गर्दै कानुनी सुधारका लागि आवाज उठाउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको स्थापना गरिएको थियो । समयसँगै संघले व्यवसायीहरूको साझा आवाजका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आज ३४ वर्षको यात्रामा आइपुगेको छ ।

सुरुवातमा सीमित व्यवसायीहरूको सहभागिताबाट अघि बढेको यो क्षेत्र अहिले राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको ठुलो उद्योगका रूपमा विकास भएको छ । यस यात्रामा अनेकौं उतारचढाव आए, नीतिगत परिवर्तन भए, अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा बढ्यो, तर व्यवसायीहरूको आत्मविश्वास र निरन्तरतामा कमी आएन । यही दृढताले यो क्षेत्रलाई आजको अवस्थामा पुर्‍याएको हो ।

यस अवधिमा केही अग्रज व्यवसायीहरू हामीबीच रहनुभएन । उहाँहरूको योगदान र समर्पणलाई सम्झनु आजको दिनको अर्को महत्वपूर्ण पक्ष हो । संघले वार्षिकोत्सवको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री वितरणजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्नु पनि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने सकारात्मक प्रयास हो । यस्ता कार्यले दिवंगत अग्रजहरूको योगदानलाई सम्मान गर्दै आगामी पुस्तालाई प्रेरणा दिने विश्वास गर्न सकिन्छ ।

वैदेशिक रोजगार व्यवसाय केवल व्यवसाय मात्र होइन, लाखौं नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराउने माध्यम पनि हो । यस क्षेत्रले विप्रेषण (रेमिट्यान्स) मार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन निरन्तर योगदान दिँदै आएको छ । रोजगारीको खोजीमा विदेश गएका नेपालीले आफ्ना परिवारको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याएका छन् । यस प्रक्रियामा व्यवसायीहरूले पनि महत्वपूर्ण सेतुको भूमिका निर्वाह गरेका छन् ।

यद्यपि, अझै पनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा सकारात्मक बन्न सकेको छैन । व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानुनी सहजीकरण, नीतिगत स्थिरता र सरकारको सहयोग अपरिहार्य छ । व्यवसायीलाई केवल नियमनको दृष्टिले मात्र नभई रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने साझेदारका रूपमा सम्मानपूर्वक हेर्न आवश्यक छ ।

३४ वर्षको यो ऐतिहासिक अवसरमा वैदेशिक रोजगार क्षेत्रमा योगदान पुर्‍याउने सम्पूर्ण अग्रज व्यवसायीप्रति उच्च सम्मान तथा दिवंगत व्यवसायीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, देशभित्र र विदेशमा श्रम गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।

आगामी दिनमा वैदेशिक रोजगार क्षेत्र अझ सुरक्षित, व्यवस्थित, पारदर्शी र सम्मानित बनोस् । व्यवसायी, श्रमिक, सरकार र सरोकारवाला सबै पक्षबीच सहकार्य अझ मजबुत बनोस् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३४औं स्थापना दिवसले यही सकारात्मक सन्देश दिँदै सम्पूर्ण व्यवसायी, रोजगारदाता तथा वैदेशिक रोजगारीमा रहेका र जाने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(खड्का पुराना वैदेशिक रोजगार व्यवसायी हुन् ।)

सम्बन्धित खबर