
जसको नामबाट यो उपमहाद्वीपले ‘भारत वर्ष’ र ‘हिन्दुस्तान’जस्ता विश्वव्यापी परिचय पायो, जसको काखमा मानव इतिहासको गौरवशाली सिन्धु घाटी सभ्यता फस्टायो, आज त्यही सिन्धु नदी आधुनिक विकास, मानवीय लोभ र वातावरणीय बेवास्ताको दोहोरो चपेटामा परेर कराइरहेको अवस्था छ । एसियाको सबैभन्दा ऐतिहासिक र विशाल नदीमध्ये एक सिन्धु केवल पानीको बहाव होइन, यो हजारौं वर्षको सांस्कृतिक सम्पदा, आध्यात्मिक चेतना र करोडौं मानिसको जीवनरेखा हो । तर तिब्बतको मानसरोवर क्षेत्रबाट उद्गम भई लद्दाख, गिलगित–बाल्टिस्तान हुँदै अरब सागरसम्म बग्ने यही जीवनदायिनी नदी आज आफ्नै अस्तित्वको गम्भीर संकटसँग जुधिरहेकी छन् ।
सिन्धु नदीको जलाधार विश्वकै सबैभन्दा विशाल र वातावरणीय दृष्टिले संवेदनशील भौगोलिक प्रणालीमध्ये एक हो । करिब ११ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जलाधार चीन (तिब्बत), भारत, पाकिस्तान र अफगानिस्तानसम्म विस्तारित छ । यस प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्ष यसको क्रायोस्फियर अर्थात् हिउँ र बरफको विशाल भण्डार हो । ध्रुवीय क्षेत्रबाहिर रहेको संसारकै सबैभन्दा ठुलो हिमभण्डार ‘तेस्रो ध्रुव’को महत्वपूर्ण हिस्सा यही क्षेत्र हो ।
सिन्धु नदीको वार्षिक बहावको करिब ४० देखि ५० प्रतिशत पानी हिमनदी र मौसमी हिमपात पग्लिएर आउने गर्छ । त्यसैले यो नदी शुष्क र हिमाली क्षेत्रका करोडौं मानिसका लागि खानेपानी, कृषि तथा जलविद्युत्को मुख्य आधार बनेको छ ।
यद्यपि, विश्वव्यापी तापवृद्धि (ग्लोबल वार्मिङ)ले सिन्धुको यो प्राकृतिक संरचनालाई तीव्र रूपमा कमजोर बनाइरहेको छ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टले सार्वजनिक गरेको एचकेएच ग्लेसियर आउटलुक प्रतिवेदनअनुसार सन् २००० यता हिन्दुकुश–हिमालय क्षेत्रमा हिमनदी पग्लिने गति दोब्बर भइसकेको छ । सन् १९९० देखि २०२० सम्ममा यस क्षेत्रले आफ्नो कुल हिमनदी क्षेत्रफलको करिब १२ प्रतिशत तथा बरफ सञ्चितिको नौ प्रतिशत स्थायी रूपमा गुमाइसकेको छ । सिन्धु जलाधारका रुलोंग र हुन्जाजस्ता हिमनदी हरेक वर्ष धेरै मिटर पछि सर्दै गएका छन् । वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वैज्ञानिकहरूका अनुसार पहिले जाडोयाममा हुने बाक्लो हिमपात अहिले मार्चदेखि मे महिनासम्म सर्न थालेको छ । यसले हिमनदीलाई पुनः भरिने प्राकृतिक चक्रमा गम्भीर असर पारेको छ ।
सिन्धु जलाधारका माथिल्ला क्षेत्र विशेषगरी लद्दाख, सोनमर्ग र हिमाचलका हिमाली भूभागले आज अनियन्त्रित पर्यटनको ठुलो चाप झेलिरहेका छन् । वातावरणविद्हरूले यस अवस्थालाई ‘पारिस्थितिक आत्महत्या’सम्म भन्न थालेका छन् । चिसो मरुभूमिका रूपमा परिचित लद्दाखको वातावरणीय वहन क्षमता सीमित छ । तर हरेक वर्ष यहाँ पुग्ने पर्यटकको संख्या स्थानीय स्थायी जनसंख्याभन्दा धेरै बढी हुन्छ । यस अत्यधिक चापका कारण संवेदनशील हिमाली क्षेत्रमा प्लास्टिकजन्य फोहोर र अन्य प्रदूषण तीव्र रूपमा बढिरहेको छ ।
हिमनदी विनाशको अर्को प्रमुख कारण हो– सवारीसाधनबाट निस्कने धुवाँ, सडक निर्माणको धुलो तथा डढेलोबाट उत्पन्न हुने ब्ल्याक कार्बन । पर्यटनको मुख्य मौसम (अप्रिलदेखि जुन)मा हजारौं डिजेल र पेट्रोल सवारी हिमाली सडकमा गुड्ने गर्छन् । तिनबाट निस्कने सूक्ष्म कालो कण हावासँगै उडेर हिमनदीमाथि जम्छन् । सामान्य अवस्थामा सेतो हिउँले सूर्यको ताप परावर्तित गर्छ । तर, ब्ल्याक कार्बनले ढाकिएपछि हिमको सतहले ताप सोस्न थाल्छ र पग्लिने प्रक्रिया तीव्र बन्छ । वैज्ञानिकका अनुसार यही कारणले पछिल्ला दुई दशकमा हिमालयको हिमसतहको तापक्रम करिब ४ डिग्री सेल्सियससम्म बढेको छ । सडक विस्तार, निर्माण गतिविधि र धुलोले हिमनदीको अल्बिडो (प्रकाश परावर्तन क्षमता) पनि निरन्तर घटाइरहेको छ ।
हिमनदीको तीव्र क्षयले पानीको मात्रा मात्र होइन, गुणस्तरसमेत प्रभावित गरिरहेको छ । हालैका भू–रासायनिक अध्ययनले देखाएका छन् कि तीव्र रूपमा पग्लिरहेका हिमनदीका कारण पानीको चट्टानसँगको सम्पर्क बढ्दा नदीको पानीमा विभिन्न रासायनिक तत्व तथा सूक्ष्म धातुको मात्रा परिवर्तन भइरहेको छ । यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कृषिमा दीर्घकालीन जोखिम निम्त्याउन सक्छ ।
यससँगै अर्को ठुलो खतरा हो ग्लेसियल लेक आउटबस्र्ट फ्लड अर्थात् हिमताल विस्फोटबाट आउने बाढी । सिन्धु जलाधारमा यस्ता सयौं जोखिमयुक्त हिमताल बनिसकेका छन्, जुन कुनै पनि बेला केदारनाथ वा चमोलीजस्ता विनाशकारी विपद्को कारण बन्न सक्छन् । प्रारम्भिक चरणमा हिमनदी पग्लँदा नदीमा पानीको मात्रा बढेर भीषण बाढी आउन सक्छ । तर, लामो अवधिमा हिमनदी नै समाप्त हुँदै गएपछि यही नदी गम्भीर जलसंकट र सुक्खापनतर्फ धकेलिनेछ ।
सिन्धु नदी केवल दुई देशबीचको पानी बाँडफाँटको विषय होइन । यो सम्पूर्ण दक्षिण एसियाको साझा प्राकृतिक सम्पदा हो, जसबिना यस क्षेत्रको सभ्यता, संस्कृति र भविष्यको कल्पना गर्न सकिँदैन । यदि हामीले यो ऐतिहासिक सम्पदा जोगाउन चाहन्छौं भने हरित पर्यटन र वहन क्षमताका सिद्धान्त कागजमा सीमित नराखी व्यवहारमा कडाइका साथ लागू गर्नुपर्नेछ । संवेदनशील हिमनदी क्षेत्रमा सवारी प्रवेश सीमित गर्ने, वातावरणीय कर लागू गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक नियन्त्रण गर्ने तथा ब्ल्याक कार्बन उत्सर्जन घटाउने कार्य अब विकल्प होइन, अपरिहार्यता बनेको छ । यदि हामी अझै पनि मौन बस्यौं भने भविष्यका पुस्ताले केवल इतिहासका पुस्तकमा पढ्नेछन्– कुनै समय यही नदीका किनारमा बसेर ऋषिमुनिहरूले वेदका ऋचाहरू रचेका थिए ।
अमर उजालाबाट अनुवादित