२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

ओली र एमालेको संकट

Nada
गोविन्द विक
२०८३ असार २१ गते ०६:०५
Shares
ओली र एमालेको संकट

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी नेतृत्वबाट विदा लिनुपर्ने दबाब चुलिँदै छ । केन्द्रीय सचिवालयमा ओलीले नेतृत्वबाट विदा लिनुपर्ने पक्षमा बहुमत देखियो । ओलीको संरक्षणमा केही नेता देखिए पनि वर्तमान अवस्थालाई यही रूपबाट अगाडि बढाउन नसकिने संकेत देखाइसकेका छन् । यद्यपि, ओलीको चाहना नेतृत्वबाट बाहिरिनुभन्दा पनि आफ्नै नेतृत्वमा पार्टीलाई केही वर्ष अगाडि बढाउने देखिन्छ । ओलीले आफूमाथि प्रहार हुने वैचारिक दबाबलाई विगतमा पनि पाखा नै पारे । पार्टी सुदृढीकरणलाई मुख्य विषय बनाएर ओलीमाथि वैचारिक दबाब दिनेहरू एमालेबाट बाहिर भइसकेका दृश्य जीवित छन् । पटकपटक सत्ता नेतृत्व गर्ने अवसर पाएका ओलीले बदलिँदो समय र युवा पुस्ताको भावना बिर्सेर आफ्नै एकल निर्णय पार्टी र सरकारमा थोपर्ने अभ्यास भएकै कारण आज एमाले जनविश्वासको ओरालोमा छ भन्नेहरू धेरै छन् ।

ncell

पार्टीभित्रको गुटबन्दी देखाउँदै ओलीले आफ्नै नेतृत्वको सरकार हुँदा संसद पटक–पटक विघटन गरेका थिए । आफू सत्तामा रहँदा केपी शर्मा ओलीले कहिल्यै आफ्ना कमजोरीलाई गम्भीर रूपमा समीक्षा गर्ने आवश्यक ठानेनन् । आफैले विघटन गरेको संसद अदालतले उल्टाइदियो र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । पार्टीमा लोकतन्त्रको अभ्यासलाई बलियो बनाउने कुरा ओलीले भाषणमा त भने, तर व्यवहारमा देखाएनन् ।

भारतले नाकाबन्दी गर्दा भारत भ्रमण नै नगर्ने भन्दै राष्ट्रियताका पक्षमा बलियो उभिएका कारण नै ओलीप्रति सबैको भरोसा बढेको थियो । घरघरमा ग्यास पाइपदेखि रेलको सपना ओलीले नै जनतालाई देखाएपछि उनीप्रति जनभरोसा चुलिएको थियो । हक्की स्वभावका ओलीले जसरी भाषण गर्दा सबैको ध्यान तान्थे, त्यसैगरी विकास र समृद्धिमा पनि उनले नै काम गर्छन् भन्ने जनविश्वासलाई ओलीले टिकाउन नसक्नु उनकै लागि दुःखद भयो । 

मुलुकमा पटकपटक सत्तामा गएकाहरूले जनस्तरका काम नगरी सधैं नातावाद, कृपावाद र संरक्षणवादलाई मात्रै ध्यान दिएको भन्दै जनआक्रोश चुलिँदै गएको ओलीले सधैं अनदेखा गरिरहे । कम्तीमा ओलीले एकपटक पछाडि फर्किएर हेरेका भए सुशासन र डेलिभरीका थुप्रै ग्यापहरू देख्न सक्थे, तर त्यसो गरेनन् ।

आफैं प्रधानमन्त्री भएको बेला नियमन गर्ने भन्दै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा जेनजी विद्रोह जन्मियो । भदौ २३ गतेको परिस्थितिको उचित मूल्यांकन गर्न तत्कालीन सत्ता चुकेकै कारण भदौ २४ गते आन्दोलन जन्मियो र नेपालको इतिहासमै ऐठन हुने घटनाक्रमहरू भए । ओलीले भदौ २३ गते नै राजीनामा दिएका भए अहिलेको परिस्थिति नै नआउने कुरा उनकै निकटका नेताहरू नै भन्दैछन् । नेतृत्वमा रहेको सरकार हुँदा नै करिब ७० जना भन्दा बढी जेनजी पुस्ताका युवाले आन्दोलनका क्रममा सहादत प्राप्त गरे, तर ओलीले त्यसलाई अन्तरमनदेखि स्वीकार गरेनन् । त्यसलाई विध्वंसको संज्ञा दिए । उपद्रवको बिल्ला लगाइदिए । पार्टीभित्र र बाहिर ओलीलाई सम्झाउने थुप्रै थिए, तर उनले सुन्न आवश्यक ठानेनन् ।

गुटबन्दी गरी आफूविरुद्ध मोर्चाबन्दी गरेको भन्दै ओलीले आफ्नै पार्टीभित्रका भीम रावल, माधव नेपाल, घनश्याम भुसाललगायतका नेतालाई सजिलै पाखा लगाइदिए । जेनजी मुभमेन्टपछि सबै पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र भयो । त्यसलाई ओलीले एकातिरबाट सुने र अर्कोतिरबाट उडाइदिए । पार्टी र सरकारमा सधैं ओली वा ‘बा’ को हैकमवादी अभ्यास चलिरह्यो भन्नेहरूको ठूलो भिड एमालेमै थियो र छ । आफू अध्यक्षबाट विस्थापित हुने भयले पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीको सदस्यता नवीकरणमै रोक लगाएका ओलीले अहिले भने भण्डारीको सदस्यता नवीकरण गरिदिएका छन् । तर पनि भण्डारीलाई नेतृत्व दिन ओली तयार छैनन् ।

चुनावमा ओलीकै पकड मानिएको क्षेत्रमा लज्जास्पद हार व्यहोरेपछि पक्कै पनि पार्टीभित्र त्यसको गम्भीर समीक्षा हुन्छ र आत्मालोचनासहित फेरि जनविश्वास फर्काउने मार्गमा एमाले लाग्छ भन्ने अपेक्षा थियो, तर त्यसो पनि भएन ।

आफ्नै नेता–कार्यकर्ताका लागि पनि ओली पछिल्लो समय प्रिय हुन सकिरहेका थिएनन् । चुनावपछिको बालेन सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै शपथको भोलिपल्ट नै ओलीलाई पक्राउ गरेको थियो । चुनाव हार्नु, पितृशोकमा पर्नु, सत्ताबाट असहज रूपमा बाहिरिनु, पार्टीभित्रैका आफ्नै वरिपरिकाबाट पनि लखेटिनु, यी सबै पीडाका रापहरू ओलीमाथि एकैचोटि परेका थिए । पक्राउ परेलगत्तै ओली अस्पतालमा भर्ना हुनुपरेको थियो । ओलीको पक्राउ कानुनसम्मत नभएको भन्दै उनलाई रिहा गर्ने आदेश भएपछि उनी अहिले घरमै छन् । ओली पक्राउ पर्दा पनि पार्टीले आन्दोलनको स्पष्ट बाटो तय नगरेकोमा ओलीकै गुनासो छ । जेनजी मुभमेन्टपछि ओलीलाई उनकै नेतृत्वमा पार्टी केही समय चल्छ भन्दै नेतृत्व अनुमोदन गरेका दोस्रो तहका नेताहरू अहिले नेतृत्वको विकल्प खोज्दैछन् ।

एमाले धुलोमा लडेको बेला सबैले थिचेको थिच्यै गर्नेभन्दा पनि धुलो टकटक्याएर फेरि उठ्छौं र जनतालाई देखाएका सपना र वाचा पूरा गर्छौं भन्ने सामूहिक हिम्मत एमालेमा आवश्यक भएको छ ।

सकारात्मक कुरालाई समर्थन र जनविरोधी कामलाई खबरदारी गर्दै वर्तमान सरकारसँग हातेमालो गर्ने अवसर गुमाउनु हुँदैन भन्ने मतको आवश्यकता एमालेभित्र छ । राजनीतिलाई उच्च समाजसेवाको अभ्यासमा लैजाने आँट एमालेबाटै सुरु हुनु आवश्यक छ । कम्तीमा आफूभित्रका कमजोरी केलाउनु एमाले नेतृत्वको मुख्य जिम्मेवारी हो ।

एमालेले अहिले पनि संसदको रोस्ट्रमबाट सत्ता गुमेको छटपटी पोखिरहेको छ । जेनजी आन्दोलनमाथि पनि प्रश्न गर्दैछ । आफ्नै चरित्र सच्याउन आवश्यक नठानेको एमालेले अरूको चरित्रमाथि गम्भीर आक्षेपहरू थोपर्दैछ । विरोध विरोधकै लागि हो भन्ने भाष्यलाई एमालेले पनि साथ दिइरहेको पछिल्लो शैलीले देखाएको छ । एमालेले आफैंलाई फर्केर हेर्ने, आफ्ना त्रुटिहरू सच्याउने र आफैंभित्रको धमिलो राजनीतिलाई सङ्गल्याउने मार्गमा पार्टीको नीति र सिद्धान्त केन्द्रित हुनुपर्नेमा कुनै शंका छैन । विरोध विरोधकै लागि हो भन्ने भाष्य निर्माण भइरहेको नेपाली राजनीतिमा एमालेको कार्यशैली झन् जनमुखीभन्दा पर पुग्दैछ ।

एमालेले पार्टीलाई पुनर्गठन गर्नका लागि पनि नेतृत्वमा कसलाई ल्याउने भन्ने विषय मुख्य विवाद बनेको छ । ओली पार्टी नेतृत्वबाट पछि हट्न मानसिक रूपमा अझै तयार छैनन् । यो निकै दुःखद पक्ष हो । ओली आफ्नै कारण दुःखद राजनीतिक बहिर्गमनको सिकार बन्न खोज्दैछन् ।

सम्बन्धित खबर