
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले न्यूनतम योग्यता र सर्त पूरा नगरेका करार शिक्षकहरूको म्याद नथप्ने निर्णय गरेको छ ।
गाउँपालिकाले शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ (संशोधनसहित) तथा बाँफिकोट गाउँपालिका शिक्षा ऐन, २०७५ बमोजिम गाउँपालिकाको अनुदानमा विभिन्न विद्यालयमा कार्यरत तर तोकिएका न्यूनतम सर्त पूरा नगरेका शिक्षकहरूको करार अवधि २०८३ साउन १ गतेदेखि नथपिने जनाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहका अनुसार अधिकांश विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकाले विद्यालय व्यवस्थापनलाई पुनर्संरचना गर्न आवश्यक भएको छ । उनले विद्यार्थी संख्याका आधारमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको जानकारी दिए ।
यस्तै, वडा नम्बर १० का अध्यक्ष हरिबहादुर चन्दले विद्यार्थी संख्या, शिक्षक दरबन्दी र भौगोलिक अवस्थालाई आधार मानेर विद्यालय नक्साङ्कन तथा दरबन्दी मिलानको काम २०८३ साउनभित्र सम्पन्न गरिने बताए ।
उनका अनुसार शिक्षा, युवा तथा खेलकुद शाखामार्फत आवश्यक तथ्यांक संकलन गरी आगामी कार्यपालिकाको बैठकमा प्रतिवेदन पेस गर्ने निर्णयसमेत गरिएको छ ।