काठमाडौँ : सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले थुनामा हुनुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।
उनी आफू गैरकानूनी थुनामा बस्नुपरेको भन्दै शुक्रबार बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।विशेष अदालतको फैसलाविरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिति बनेको उनको जिकिर थियो । विशेष अदालतले गतवर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो ।
१० वर्षसम्म कैद सजाय पाएका आरोपितहरूले थुनाबाहिर रहेरै मुद्दाको पुनरावेदन गर्न पाउँने भएपनि आफूलाई थुनामा राखेको भन्दै उनले सर्वोच्चमा निवेदन पेस गरेका थिए ।
विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैंया तिराउन आदेश गरेको छ । बिगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।