
केही दिनअघि बेलायतका प्रधानमन्त्री किर स्टार्मरले पदबाट राजीनामा दिए । त्यसपछि सामाजिक सञ्जाल एक्समा एउटा रमाइलो सन्देश देखियो– मैले स्टार्मरको राजीनामा स्वीकार गरेँ । आश्चर्य के भने, यो कुनै नेताको होइन, एउटा बिरालोको खाताबाट पोस्ट गरिएको थियो । त्यो बिरालो हो– ल्यारी द क्याट । बेलायतका प्रधानमन्त्रीको आधिकारिक निवास १० डाउनिङ स्ट्रिटको सबैभन्दा चर्चित र स्थायी बासिन्दा ।
सन् २०११मा जन्मिएको ल्यारीलाई तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यकालमा पशु आश्रयस्थलबाट ल्याइएको थियो । भनिन्छ, क्यामरुनले आफ्ना छोराछोरीका लागि उसलाई घरमा ल्याएका थिए । यद्यपि उनी आफैं बिरालोप्रेमी थिएनन् भन्ने चर्चा पनि चल्थ्यो । तर, ल्यारीले आफ्नो सरल स्वभाव र आकर्षणले क्यामरुन परिवारको मन जित्न धेरै समय लगाएन ।
जब क्यामरुन प्रधानमन्त्री पदबाट बाहिरिए, उनी ल्यारीलाई सँगै लैजान चाहन्थे । तर, त्यो सम्भव भएन, किनभने ल्यारी कुनै व्यक्तिको निजी पाल्तु जनावर मात्र होइन, १० डाउनिङ स्ट्रिटकै स्थायी बासिन्दा बनिसकेको थियो । क्यामरुन परिवारसँग उसको गहिरो आत्मीयता थियो, त्यसैले उनीहरू बिदा हुँदा ल्यारीलाई कस्तो लाग्ला भन्ने धेरैले सोचे । तर, उसले आफ्नो घर भने कहिल्यै छाडेन ।
क्यामरुनपछि आएका सबै प्रधानमन्त्रीसँग पनि ल्यारीले उस्तै आत्मीय सम्बन्ध बनायो । डेभिड क्यामरुनदेखि टेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस, ऋषि सुनक हुँदै किर स्टार्मरसम्म उसले लगातार ६ जना प्रधानमन्त्रीको कार्यकाल नजिकबाट देखिसकेको छ । त्यसैले बेलायतमा हाँसो–ठट्टाका साथ भनिन्छ, ‘ल्यारी त सबै प्रधानमन्त्रीभन्दा पनि अनुभवी र चलाख छ ।’
केही समयअघि नाटोका महासचिव मार्क रुटे प्रधानमन्त्री स्टार्मरसँग भेट्न आएका बेला फर्किने क्रममा उनले पनि ल्यारीलाई सुम्सुम्याउँदै मायापूर्वक कुरा गरेका थिए । आखिर, ल्यारीसँग भेट नगरी १० डाउनिङ स्ट्रिटको यात्रा नै अधुरो मानिन्छ ।
ल्यारी केवल प्रधानमन्त्री निवासको पाहुना होइन, ऊ त सरकारी जिम्मेवारी बोकेको ‘अधिकारी’ पनि हो । उसलाई ‘चिफ माउजर अफ द क्याबिनेट अफिस’को पद दिइएको छ । उसको मुख्य जिम्मेवारी सरकारी भवनमा मुसा नियन्त्रण गर्नु हो । साथै, परिसरको निगरानी गर्नु, आउने विशिष्ट पाहुनालाई आफ्नै शैलीमा स्वागत गर्नु र त्यहाँको चहलपहलमा आफ्नो उपस्थिति जनाइरहनु पनि उसको दैनिकी हो ।
यद्यपि, बेलायती सञ्चारमाध्यमको एउटा हिस्साले ल्यारीलाई अलि अल्छी पनि भन्छ । किनभने यति लामो सेवाकालमा उसले आधिकारिक रूपमा मुसा समातेको संख्या दुई मात्रै रहेको उल्लेख गरिन्छ । त्यसबाहेक पुराना कुर्सी वा फर्निचरमाथि आरामसँग लमतन्न परेर निदाइरहेको दृश्य पनि बेलाबेला क्यामेरामा कैद हुन्छ । पत्रकार सम्मेलन चलिरहेकै बेला ऊ मस्त निदाइरहेको देखिनु त उसका लागि सामान्य कुरा हो । संसारका शक्तिशाली नेता आए पनि उनीहरूलाई खासै वास्ता नगर्ने उसको आफ्नै सान छ ।
यही बेफिक्री, स्वाभाविक व्यवहार र अनौठो व्यक्तित्वका कारण ल्यारी बेलायती सञ्चारमाध्यमको प्रिय पात्र बनेको छ । सामाजिक सञ्जालमा उसका नामबाट आउने व्यंग्यात्मक र रमाइला सन्देशले लाखौं मानिसलाई हँसाउँछन् । प्रधानमन्त्री निवासमा पुगेको केही घण्टामै ऊ विश्वभर चर्चित बनेको थियो र आज पनि उसका असंख्य प्रशंसक छन् ।
ल्यारीको जीवनमाथि आधारित पुस्तकहरू पनि प्रकाशित भएका छन् । प्रधानमन्त्री निवासमा बिताएका पहिलो सय दिनबारे जेम्स रोबिन्सनले चित्रसहितको पुस्तक लेखेका छन् । ल्यारीको आत्मकथा पनि प्रकाशित छ । बालबालिकाका लागि त उसैलाई मुख्य पात्र बनाएर धेरै रंगीन र रोचक पुस्तक लेखिएका छन्, जसलाई साना पाठकले निकै रुचाउँछन् ।
ल्यारीको अर्को विशेषता भनेको सञ्चारमाध्यमप्रतिको उसको ‘सजगता’ हो भन्ने ठट्टा पनि गरिन्छ । त्यसैले त उसका विभिन्न भावभंगिमाका तस्बिर सधैं चर्चामा रहन्छन् । अझ हाँसो–ठट्टामै मानिसहरू भन्छन्– ल्यारी अहिले एउटा नयाँ पुस्तक लेख्दै छ, ‘द राइज एन्ड फल अफ प्राइम मिनिस्टर्स’, किनकि उसले आफ्नै आँखाले ६ जना प्रधानमन्त्रीको उदय र अवसान देखिसकेको छ ।
अहिले ल्यारी वृद्धावस्थातर्फ उन्मुख छ । तर, ऊ अझै अवकाश लिन तयार देखिँदैन । बेलायती सरकारका अधिकारीले भने उसको अन्तिम बिदाइका लागि समेत पूर्वतयारी गरिसकेको बताइन्छ । प्रेस विज्ञप्तिदेखि सामाजिक सञ्जालमा सार्वजनिक गरिने सूचना र तस्बिर सबै पहिले नै सुरक्षित राखिएको चर्चा छ । जनताले उसप्रति राखेको माया र सम्मानलाई ध्यानमा राख्दै, उसको निधन हुँदा राष्ट्रिय सम्मानका साथ सम्झिने विषयमा समेत छलफल हुने गरेको समाचार आउने गरेका छन् ।
भोलिका दिनमा १० डाउनिङ स्ट्रिटमा अर्को कुनै बिरालोले ल्यारीको स्थान लिन्छ वा लिँदैन, त्यो समयले नै बताउनेछ । तर, एउटा सामान्य आश्रयस्थलबाट प्रधानमन्त्री निवाससम्मको यात्रा तय गरेर विश्वभरका मानिसको मन जित्ने सौभाग्य संसारका बिरालामध्ये बिरलै कसैलाई मिल्ला । त्यसैले अन्त्यमा मनबाट एउटै शुभकामना निस्कन्छ– ल्यारी, तिमी हजारौं वर्ष बाँचिरहू । तिम्रो सान, तिम्रो शैली र तिम्रो मौन मुस्कानले अझ धेरै पुस्तालाई मुस्कुराइरहोस् ।
अमर उजालाबाट साभार