२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाल-क्यानडा सम्बन्धमा नागरिक पहल

नेपाल–क्यानडाबीचको सम्बन्धमा विकासका लागि अपरिगणित सम्भावनाहरू छन् । पर्वतारोहण पर्यटन र पर्वतारोहीहरूको लामो इतिहास, वेलनेस पर्यटन, शिक्षा क्षेत्रमा लाखौं युवामा लगानी, वातावरण संरक्षण तथा द्विपक्षीय व्यापार सबै यस सम्बन्धका आधारस्तम्भ हुन् ।

Nada
पदम न्यौपाने
२०८३ असार २५ गते १५:१८
Shares
नेपाल-क्यानडा सम्बन्धमा नागरिक पहल

विश्व राजनीतिमा दुई राष्ट्रबीचको सम्बन्ध सरकारी तहमा मात्र सीमित रहेको छैन । आजको युगमा सार्वजनिक कूटनीति र नागरिक स्तरको साझेदारीले अन्तर्राष्ट्रिय सम्बन्धलाई गहिरो र अर्थपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । नेपाल र क्यानडाजस्ता भौगोलिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले भिन्न देशबीच पनि साझा मूल्य, पर्वतप्रतिको प्रेम, शिक्षाप्रतिको लगाव र विकासको परिकल्पनाले सम्बन्धलाई नयाँ आयाम दिन सक्छ । नेपाली नागरिक स्तरमा गठित ‘नेपाल–क्यानडा मित्रता तथा सांस्कृतिक संघ’ जस्ता संस्थाले यो कार्यलाई अझ मूर्त रूप दिन सक्छन् । यस आलेखमा नागरिक तहको सहकार्यका सुझावबाट सुरु गर्दै क्यानडाले नेपालमा दूतावास स्थापना तथा सांस्कृतिक केन्द्र सञ्चालनको पहल गर्नुपर्ने कूटनीतिक पक्षको व्याख्या गर्ने जमर्को गरिएको छ ।

ncell

ऐतिहासिक पृष्ठभूमिः नेपाल र क्यानडाबीचको सम्बन्धको विकासक्रम

नेपाल र क्यानडाबीचको कूटनीतिक सम्बन्ध सन् १९६५ मा स्थापित भएको हो । यद्यपि, यो सम्बन्ध मुख्यतः विकास सहायता, क्षेत्रीय सहकार्य (जस्तै संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन) र व्यक्तिगत स्तरको मित्रतामा आधारित छ । क्यानडाले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको छ । खासगरी कृषि, वन, स्वास्थ्य र महिला सशक्तीकरणजस्ता क्षेत्रमा उक्त सहायता सार्थक रहेको छ । तर अझै पनि नेपालमा क्यानडाको स्थायी दूतावास छैन । काठमाडौंस्थित दूतावासमार्फत नभई भारतको नयाँ दिल्लीस्थित क्यानडाली उच्चायोगले नेपालसम्बन्धी कार्य हेर्दै आएको छ । यसले समयसापेक्ष र विकासशील आवश्यकताबीचको अन्तरलाई देखाउँछ । नागरिक स्तरका यस्ता संघहरूको भूमिकाले यो अन्तर हटाउन पुलको काम गर्न सक्छ ।

नेपाली पर्वतारोहणमा क्यानडाली नागरिकको प्रवर्धित इतिहास र योगदान

विश्वका उच्च हिमालहरू नेपालमै छन् । पर्वतारोहण र साहसिक पर्यटनको केन्द्रका रूपमा नेपाल परिचित छ । क्यानडाको रकी पर्वतशृङ्खला अनुभवी पर्वतारोहीहरूको जन्मभूमि हो । सन् १९५०–६० को दशकदेखि नै क्यानडाली पर्वतारोहीहरू सगरमाथा, अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत हिमाल आरोहण गर्न सक्रिय रूपमा आउने गरेका छन् । उनीहरूले एभरेस्ट आरोहणको इतिहासमा उल्लेखनीय सफलता हासिल गरेका छन् । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बनेको हो । क्यानडाली अन्य आरोहीहरू पनि यस अभियानमा सक्रिय छन् । पर्वतारोहणले नेपालको ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, हिमाली समुदायको उत्थान, सामुदायिक वन संरक्षण तथा आयआर्जनका स्रोतको विकासमा योगदान पुर्‍याएको छ । यदि ‘नेपाल–क्यानडा मित्रता तथा सांस्कृतिक संघ’ले यी विद्यमान व्यक्तिगत सम्बन्धलाई संस्थागत बनाउन सक्यो भने पर्वतारोहण पर्यटनलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन नीतिगत सुझाव दिन सकिन्छ ।

वेलनेस (स्वास्थ्य तथा ध्यान) पर्यटनको साझेदारी

नेपाल आयुर्वेद, योग, पुनर्स्थापना र ध्यानको पनि प्रमुख केन्द्र हो । क्यानडामा पनि आध्यात्मिक चिकित्सापद्धति र प्राकृतिक उपचारप्रति आकर्षण बढ्दो छ । लाखौँ क्यानडाली नागरिक तनाव व्यवस्थापन, समग्र कल्याण तथा वैकल्पिक चिकित्साका लागि नेपाल आउन इच्छुक देखिन्छन् । अहिले पनि क्यानडाबाट पोखरा, नुवाकोट, त्रिशूली क्षेत्र तथा ललितपुरका आयुर्वेद केन्द्रमा भ्रमण बढेको छ । यसलाई थप प्रवर्धन गर्न संघले स्वास्थ्य पर्यटन मार्ग विकास गर्न, दुवै देशका चिकित्सकबीच आदानप्रदान तथा प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्न सक्ने देखिन्छ । वेलनेस पर्यटनले दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई थप सहज र जनमैत्री बनाउनेछ ।

शिक्षा कूटनीतिः लाखौँ युवा अध्ययनको आकर्षण

हरेक वर्ष नेपालबाट पाँच हजारभन्दा बढी विद्यार्थी क्यानडाका विश्वविद्यालय तथा कलेजहरूमा विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ र नर्सिङलगायत विषयमा उच्च शिक्षा अध्ययनका लागि जाने गर्छन् । उक्त संख्या निरन्तर बढ्दो छ । क्यानडाको शिक्षा प्रणाली, बसाइँसराइ नीति र बहुसांस्कृतिक वातावरण नेपाली विद्यार्थीका लागि आकर्षक छन् । तर नेपालमा क्यानडाको प्रत्यक्ष दूतावास नहुँदा भिसा प्रक्रिया, विद्यार्थी ऋण, पूर्वप्रस्थान अभिमुखीकरण, सांस्कृतिक व्यवस्थापन तथा अध्ययन पूरा गरी नेपाल फर्किएपछि सीप उपयोगसम्बन्धी नीतिमा चुनौती देखिन्छ । ‘नेपाल–क्यानडा मित्रता तथा सांस्कृतिक संघ’ले यी क्षेत्रमा सूचना केन्द्रका रूपमा काम गर्दै छात्रवृत्ति र शोध सहकार्यका लागि सिफारिस गर्न सक्छ । दूतावास खुलेपछि शैक्षिक ऋणमा सहज पहुँच, पारस्परिक डिग्री मान्यता तथा द्विपक्षीय शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।

वातावरण संरक्षण र प्रवर्धनमा सहकार्य

क्यानडा वातावरण संरक्षणमा विश्वकै अग्रणी राष्ट्रमध्ये एक हो । नेपालले हिमाल, जंगल र नदी प्रणालीको संरक्षण तथा जलवायु परिवर्तन अनुकूलनमा अन्तर्राष्ट्रिय सहयोगको खाँचो महसुस गरिरहेको छ । आरोहण तथा ट्रेकिङ मार्गमा जलवायुमैत्री पूर्वाधार, क्षतिग्रस्त हिमनदीको अध्ययन तथा जैविक विविधता संरक्षणमा क्यानडा सहयोगी बन्न सक्छ । नागरिक संघले विशेषज्ञ समूह गठन गरी स्थानीय सरकारसँग साझेदारी गर्ने नीति लिन सक्छ । दूतावास खुलेपछि वातावरणीय परियोजनाका लागि प्राविधिक सहयोग र अनुदान सहज रूपमा प्रवाह हुनेछ ।

विकास कूटनीति र व्यापार विस्तारको सम्भावना

नेपाल र क्यानडा दुवै विकास कूटनीतिमा विश्वास राख्छन् । नेपालसँग जलविद्युत्, हस्तकला, जडीबुटी, अलैंची, ऊनी उत्पादन तथा पर्यटन सेवाको ठूलो सम्भावना छ । क्यानडासँग जैविक प्रविधि, सूचना प्रविधि, पूर्वाधार निर्माण, नवीकरणीय ऊर्जा तथा सार्वजनिक स्वास्थ्य प्रणालीको विशेषज्ञता छ । द्विपक्षीय दूतावास र सांस्कृतिक केन्द्र सञ्चालनले लगानी सम्मेलन, व्यापार मेला तथा सेवा उद्योगका नयाँ अवसर खोल्न सक्छ । साथै, विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने परिकल्पना पनि साकार हुन सक्छ ।

क्यानडाको दूतावास नेपालमा खोल्नुको अनिवार्यता र तर्क

वि.सं. २०७६ (सन् २०१९) पछि नेपालको कूटनीतिक रणनीति अझ सक्रिय र बहुआयामिक बन्दै गएको छ । भारतको नयाँ दिल्लीस्थित उच्चायोगबाट नेपालका लागि नागरिक सेवा (पासपोर्ट नवीकरण, भिसा तथा आपत्कालीन सेवा) प्रदान गर्दा विशेषगरी कोभिड तथा प्राकृतिक प्रकोपका समयमा कठिनाइ हुने गरेको छ । यदि क्यानडाको दूतावास काठमाडौंमा स्थापना भयो भने सहयोग संयन्त्र स्थानीय तहमा बलियो हुनेछ । नेपाल–क्यानडा पर्यटन तथा शिक्षा सम्झौतामा हस्ताक्षर गर्न सहज हुनेछ । क्यानडामा रहेका नेपाली मूलका नागरिकको हित संरक्षण तथा वैदेशिक रोजगारको कानुनी पक्ष पनि सहज हुनेछ । हुलाक मतदान, दोहोरो कर अभिसन्धि तथा सामाजिक सुरक्षा सम्झौता कार्यान्वयनमा समेत सघाउ पुग्नेछ ।

नेपाल–क्यानडा सांस्कृतिक केन्द्रः सार्वजनिक कूटनीतिको मूर्त रूप

‘नेपाल–क्यानडा सांस्कृतिक केन्द्र’ (खोल्ने पहल क्यानडाले गरोस्) ले क्यानडाको आदिवासी संस्कृति (First Nations) र नेपालको आदिवासी जनजातीय संस्कृतिबीच सांस्कृतिक सेतु निर्माण गर्न सक्छ । चलचित्र, सङ्गीत तथा साहित्यका नियमित महोत्सव आयोजना गर्न सकिनेछ । अङ्ग्रेजी, फ्रान्सेली र नेपाली भाषाको तालिम सञ्चालन गर्नुका साथै पर्यटकका लागि सूचना केन्द्र र सांस्कृतिक सम्पर्क केन्द्रका रूपमा पनि विकास गर्न सकिनेछ । प्राकृतिक संरक्षणका क्षेत्रमा स्थानीय तहमा उत्कृष्ट अभ्यास हस्तान्तरण हुनेछ । केन्द्र स्थापनाले दुई देशबीचको सम्बन्धमा जनस्तरको स्वामित्वसमेत प्रदान गर्नेछ ।

नागरिक स्तरको संघको टेवा र सरकारी सहकार्यको समन्वय

नेपाल–क्यानडा मित्रता तथा सांस्कृतिक संघले आफूलाई थिंक ट्यांक, सुविधादाता र वकालतको मञ्चका रूपमा स्थापित गर्न सक्छ । नेपालमा क्यानडाको दूतावास खोल्न नेपाल सरकारले कूटनीतिक पहल गर्न आवश्यक भइसकेको छ । त्यस्तै, नेपाल सरकारले क्यानडाको विदेश मन्त्रालय तथा पर्यटन मन्त्रालयसँग समन्वय गर्दै सम्भाव्यता अध्ययन गर्नुपर्छ ।

नेपाल–क्यानडाबीचको सम्बन्धमा विकासका लागि अपरिगणित सम्भावनाहरू छन् । पर्वतारोहण पर्यटन र पर्वतारोहीहरूको लामो इतिहास, वेलनेस पर्यटन, शिक्षा क्षेत्रमा लाखौं युवामा लगानी, वातावरण संरक्षण तथा द्विपक्षीय व्यापार सबै यस सम्बन्धका आधारस्तम्भ हुन् । तर कूटनीतिक उपस्थितिलाई स्थानीय तहमा विस्तार गर्न सकेमा मात्र यी सम्भावनाको पूर्ण उपयोग हुनेछ । ‘नेपाल–क्यानडा मित्रता तथा सांस्कृतिक संघ’ जस्ता नागरिक संस्थाको सक्रियताले क्यानडा सरकारलाई नेपालमा प्रत्यक्ष दूतावास र सांस्कृतिक केन्द्र खोल्न मनोवैज्ञानिक तथा राजनीतिक रूपमा प्रेरित गर्न सक्छ । त्यसैले क्यानडालाई भन्नुपर्छ- नेपाली नागरिकसँगको मित्रतालाई अझ विस्तार गर्ने यो अवसरलाई कूटनीतिक पहलकदमीबाट समर्थन गरोस् । नागरिक तहको यस पहललाई संस्थागत कूटनीतिले पूर्णता प्रदान गर्नेछ । यही पहल दिगो विकासको सेतुका रूपमा स्थापित हुनेछ ।

सम्बन्धित खबर