
मानिसको उत्पत्ति र विकासबारे वैज्ञानिकहरूले फरक–फरक दृष्टिकोण राखेका छन् । यद्यपि, धेरै वैज्ञानिक तथा ज्योतिषीहरूका अनुसार अर्बौं वर्षपहिले सौर्यमण्डलका सबै ग्रह र उपग्रहसहित सूर्य एउटा मात्र अत्यन्तै तातो पिण्ड थियो । कुनै समय अन्तरिक्षको टाढाको दूरीबाट एउटा विशाल तारा सूर्यको नजिक आउँदा आकर्षणका कारण सूर्यको वाष्पमय सतहमा भीषण ज्वारभाटा उठ्यो । सो तारा टाढा जाँदा सूर्यको त्यो ज्वारमय भाग मुख्य पिण्डबाट अलग भयो र विभिन्न टुक्रामा विभाजित भई सूर्यकै वरिपरि घुम्न थाल्यो । यिनै टुक्राहरू सौर्यमण्डलका ग्रह बने र करिब दुई अर्ब वर्षपहिले यसरी नै पृथ्वी सूर्यबाट अलग भयो । सुरुमा अत्यन्त तातो रहेको पृथ्वी बिस्तारै चिसिँदै जाँदा यसको बाहिरी भागमा चट्टान बन्न थाल्यो र तापक्रम अझ घटेपछि वायुमण्डलको पानी खाल्डोमा जम्मा भई आदिम समुद्रको निर्माण भयो ।
समुद्रको तापमान घटेपछि त्यहाँ सर्वप्रथम हाड नभएका सूक्ष्म जीवहरूको उत्पत्ति भयो । भूगर्भशास्त्रीहरूका अनुसार पृथ्वीमा जीवको उत्पत्ति करिब ३० करोड वर्ष पहिले भएको हो, जसलाई जीवकल्प भनिन्छ । करिब २० करोड वर्षपहिलेको मध्यजीवकल्पमा पृथ्वीमा विशालकाय सरिसृपहरूको साम्राज्य थियो । पछि जलवायुमा आएको भयानक परिवर्तनका कारण ती विशाल जीवहरू नष्ट भए र जल तथा स्थल दुवैमा बस्न सक्ने प्राणीहरूबाट स्तनधारी र चराचुरुंगीको विकास भयो । शत्रुहरूबाट बच्न रुखमा चढ्ने निरन्तरको अभ्यास र प्राकृतिक छनोटका कारण यिनै स्तनधारी प्राणीहरूबाट चलाख बाँदरहरूको सृष्टि भयो । पृथ्वीको इतिहासमा विभिन्न हिमयुगहरू आए, जसले प्राणीजगत्मा ठुलो उथलपुथल ल्याए । अत्यधिक चिसोका कारण कैयौं जीवहरू लोप भए भने आत्मरक्षाका लागि संघर्ष गर्ने प्राणीहरू शारीरिक र मानसिक रूपमा सबल बन्दै गए ।
करिब ५० हजार वर्षपहिले चौथो हिमयुगका बेला युरोपमा नेअन्डरथल मानवको उदय भयो । कठोर चिसोबाट बच्न गुफामा बस्ने यी मानवले ढुंगा र काठका हतियार प्रयोग गर्थे, आगो बाल्न जान्दथे र जनावरको छाला ओढ्थे । पछि करिब २५ हजार वर्षपहिले स्पेनलगायत क्षेत्रमा क्रोमेग्नन मानव देखापरे, जो कुशल सिकारी थिए र ओडारमा चित्रहरू कोर्थे । यिनीहरूले दियोको प्रयोग र माटाका खेलौना बनाउन जाने पनि भाँडाकुँडा बनाउने र मासु पकाउने ज्ञान पाइसकेका थिएनन् । भाषाको पूर्ण विकास नभएकाले यिनीहरूमा परम्परा, धर्म वा देवताको कल्पना सुरु भइसकेको थिएन ।
करिब १२ हजार वर्षपहिले नवपाषाण युगको सुरुवात भयो, जहाँ मानिसले खस्रा ढुंगाको सट्टा कुँदेर चिल्ला पारेका हतियार र धनुषबाणको आविष्कार गरे । मानिसले सबैभन्दा पहिले कुकुर र त्यसपछि गाई, भेडा आदि पशुहरू पाल्न थाले । मलिलो भूमिमा घाँस र अन्न उम्रेको देखेर कृषिको आरम्भ भयो, जसले गर्दा मानिसको फिरन्ते जीवन अन्त्य भई गाउँ र नगरहरूको विकास भयो । सुरक्षा र व्यवस्थापनका लागि पारस्परिक लडाइँहरूमा वीर नेताहरूको प्रभाव बढेर राजा पदको उदय भयो । इस्वी संवतपूर्व ५००० तिर मेसोपोटामियामा पहिलो गाउँ र कृषिको विकास भएको मानिन्छ ।
नवपाषाण युगमा भूमध्यसागरीय क्षेत्रका भुरी जातिहरू इजिप्ट, मेसोपोटामिया, इरान र भारत हुँदै चीनसम्म फैलिए । करिब ५ हजार वर्षपहिले यिनै जातिले सिन्धु उपत्यकामा मोहनजोदडो र हडप्पाजस्ता भव्य नगर र द्रविड सभ्यताको निर्माण गरे, जसको पछि उत्तरबाट आएका आर्यहरूसँग संघर्ष भयो । अर्कोतर्फ, मध्य एसियादेखि कालो सागरको उत्तरी किनारासम्म बसोबास गर्ने भारोपेली जातिबाट वर्तमानका गोरा जाति, इरानी र उत्तरी भारतीयहरूको विकास भयो भने मङ्गोलियाली जातिका पूर्वजहरूबाट तिब्बत, चीन, जापान र कोरियाका मानिसहरूको विकास भयो । मानव जातिको उत्पत्ति एकै ठाउँमा भएर जलवायुका कारण भिन्नता आएको हो वा अलग–अलग भूगोलमा विकास भएको हो भन्ने विषयमा आज पनि वैज्ञानिकहरूका बीच मतभेद र अनुसन्धान जारी छ । नयाँ–नयाँ अनुसन्धान नयाँ–नयाँ अवधारणा पनि तथ्य पनि उजागर गरिरहेका छन् ।