
यो लेखमा शंका गर्न खोजिएको कुरा के हो भने नेकपा (एमाले)मा केपी ओली र रास्वपामा वालेन्द्र शाह स्वाभाविक नेतृत्व हुन् ? कतै ती पार्टीहरूमा यिनीहरू अस्वाभाविक ढंगले टाँसिएका त होइनन् ? अर्थात् ती पार्टीहरूको मूल चरित्रभन्दा यिनीहरू भिन्न स्वरूपमा त अभिव्यक्त भइरहेका छैनन् ?
शंका गर्नुपर्ने थुप्रै संकेत देखिएकाले यो लेख जन्मिएको हो । अब सबैलाई थाहा भइसक्यो, रास्वपा र एमालेको मौलिकतामा र श्रीवृद्धिमा बालेन र ओलीको भूमिका दिन–प्रतिदिन नकारात्मक प्रमाणित हुँदै छ । अथवा आफ्नो निजी हितमा ती पार्टीहरूलाई प्रयोग गर्ने सन्दर्भमा ओली र बालेन समान देखिँदै छन् ।
सायद पार्टी निर्माणमा उनीहरूको भूमिका नभएर पनि त्यस्तो भएको हुन सक्छ । किनकि रास्वपा भन्ने पार्टी निर्माणमा वालेन्द्र शाहको कुनै भूमिका थिएन । उनी त निर्वाचनको सम्मुखमा प्रधानमन्त्री हुन पाउने सर्तसहित रास्वपामा सामेल भएका थिए । ठिक त्यसैगरी नेकपा(एमाले)को निर्माणमा पनि केपी ओलीको सशरीर प्रत्यक्ष भूमिका थिएन । जतिबेला २०३५ सालमा नेकपा(माले)को गठन भयो, त्यो समयमा उनी व्यक्ति हत्याको आरोपमा जेल जीवन बिताइरहेका थिए । तर, पनि उनी झापा आन्दोलनकै एउटा सदस्य भएको नाताले उनलाई मानार्थ संस्थापक सदस्य बनाइएको थियो, जसरी रास्वपामा बालेनलाई वरिष्ठ नेता बनाइएको छ ।
अब प्रश्न उठछ, मन, वचन र कर्मले अथवा चरित्र र आस्थाले पार्टीप्रति बफादार नभईकन कुनै मान्छे त्यो पार्टीको मूल नेतृत्वमा पुग्न सक्छ ? इतिहासका कैयौं घटनाले यो प्रमाणित गर्दछ कि त्यस्तो हुन सक्छ । उदाहरण नेपालमै छ । एउटा कम्युनिस्ट पार्टी जसको महासचिव डा.केशरजंग रायमाझी थिए, उनले वि.सं.२०१७ पुस १ को महेन्द्रीय कदमलाई समर्थन गर्दै दीपावली गरेका थिए । उनको आस्था आफैं महासचिव भएको कम्युनिस्ट पार्टीमा भन्दा राजतन्त्रको सबलीकरणमा प्रकट भएको थियो । ओली र बालेनका गतिविधिलाई पनि मसिनो ढंगले नियाल्ने हो भने यिनीहरूको बफादारी आ–आफ्नो पार्टीभन्दा अन्यत्र त छैन ? प्रश्न उब्जेको छ । कतै रायमाझीको इतिहास नेपाली राजनीतिमा फेरि एकचोटि प्रहसनका रूपमा दोहोरिएको त होइन ? रास्वपाभित्र बालेन र एमालेभित्र ओलीको उपस्थिति र उनीहरूका गतिविधि ती पार्टीको मूल विचार, चरित्र र प्रवृत्तिभन्दा फरक देखिएकाले पनि यस्ता सवाल उठेका होलान् ।
अब अलिकति व्यक्तिगत चरित्र र आस्थाको कुरा गरौं । केपी ओलीको राजनीतिक जीवनको सुरुआत, उनको विश्वास र उदयसँग उनको पार्टी एमालेको गठन, त्यो पार्टीको विश्वास र उद्देश्यसँग मेल खाँदैन । ओलीको प्रारम्भिक राजनीति झापा आन्दोलनबाट भएको थियो । त्योताका उनको विश्वास व्यक्ति हत्याबाट क्रान्ति सम्पन्न हुन्छ भन्ने नै हो । तर, तत्कालीन मालेको गठन व्यक्तिहत्याको राजनीतिलाई अस्वीकार गरेर भएको तथ्य सबैलाई थाहा छ । यद्यपि, पार्टी गठनमा झापा आन्दोलनका मान्छेहरूलाई समेत सामेल गराइए पनि झापा विद्रोहको उग्रवादी अतिवादलाई त्यतिबेलै आत्मालोचना गराइएको थियो । यसबाट के भन्न सकिन्छ भने नेकपा(एमाले)को सुरुआती गठन र यसको दिन–प्रतिदिनको ख्याति र उदय झापा आन्दोलनको विस्तारित रूप होइन र थिएन । त्यतिखेर माले पार्टी गठन र त्यसबाट विकसित भएको वर्तमान एमालेको यो राजनीतिसँग केपी ओली आज पनि सहमत छन् ? कि उनीभित्र राजनीतिमा बल प्रयोगको धङधङी अझै बाँकी छ ? यदि हिंसाप्रति वर्तमान एमालेको आमधारणासँग ओली सहमत छन् भने उनको १४ वर्षे जेलजीवन उग्रवामपन्थको परिणति होइन ? यदि त्यो उग्रवामपन्थको परिणाम हो भने उनले आफ्नो जेलजीवनलाई किन महिमाकरण गर्दै छन् ? वामपन्थताविरोधी उनका अनेकौं गतिविधि सतहमा प्रकट भइरहेको सन्दर्भमा यो प्रश्न फेरि बल्झिएको छ । आज पनि एमाले सञ्चालनको सन्दर्भमा तर्क र तथ्यभन्दा बाहुबलको प्रयोगमा उनको डरलाग्दो रुचि एमालेको स्थापित चरित्रसँग मेल खाँदैन । यसमा उनले दिने प्रस्टीकरणले नै उनको एमालेप्रतिको आस्था प्रमाणित हुन्छ । अन्यथा मान्छेहरूले भन्नेछन्– रास्वपालाई बालेनले प्रयोग गरेझैं ओली पनि आफ्ना तुष्टिहरू पूरा गर्न एमाले भन्ने पार्टीलाई प्रयोग गरिरहेका छन् ।
अब बालेनको कुरा गरौं । उनको राजनीतिक जीवनको सुरुआत पार्टी राजनीतिबाट भएको होइन । ‘नयाँ पुराना सबै नेता चोर हुन्’ भन्ने समझको जगमा नै उनले राजनीति आरम्भ गरेका थिए । उनको कार्यक्षेत्र जनताको गाउँबस्ती होइन, सामाजिक सञ्जाल थियो । जनताका जनजीविका र कष्टसाध्य जीवनको आलोकमा उनले राजनीतिक जीवन आरम्भ गरेका थिएनन्, उनी त सामाजिक सञ्जालको अल्गोरिदममा आधारित चमकधमकबाट प्रभावित थिए । उनले गर्ने मूल्याकंनको आधार पनि जनताको आँखामा देखिने सन्तुष्टि वा असन्तुष्टि होइन, फेसबुकमा गणना गरिने लाइक र भ्युज नै हो । प्रधानमन्त्री भइसकेपछि पनि उनी आफ्नो विचार र दृष्टिकोण संसद्मा राख्दैनन्, बरु यसका लागि उनको रोजाइ मध्यरातको फेसबुक बन्छ ।
लोकतन्त्रमा पार्टीको प्रभावकारिता र यसको अस्तित्व नमान्नु भनेको अनुशासनहीनता मात्र होइन, राष्ट्र निर्माणका लागि विचारधारामा आधारित सामूहिकताको अस्वीकृति पनि हो । राष्ट्र निर्माणमा पार्टीको आवश्यकता जरुरी छैन भन्ने विचारका कारण प्रधानमन्त्री बालेन आफ्नै पार्टीको बैठकमा सामेल हुँदैनन् । आफ्नै पार्टीको महाधिवेशनमा मतदान गर्दैनन् । सायद प्रधानमन्त्रीजीको ¥याप पेसा र यसबाट विकसित भएको सोचले पनि राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अनुशासनमा बस्न उनलाई अनुमति दिँदैन होला । तर, विचारका आधारमा संगठित हुने राजनीतिक सिद्धान्तलाई अस्वीकार गर्ने तत्कालीन काठमाडौंका मेयर बालेन र हालका सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता बनाउन रास्वपा बाध्य छ ।
यो मामिलामा केपी ओली र वालेन्द्र शाहलाई समान रूपले भाग्यमानी मान्नुपर्छ । आजको एमाले पनि केपी ओलीलाई आफ्नो अध्यक्ष मान्न विवश छ । एमालेका मान्छेहरूलाई थाहा छ, ओली आफ्नै पार्टीको मूल चरित्र वामपन्थताप्रति विश्वास गर्दैनन् । बरु पूर्वीय दर्शन र ऋषिमुनिकालीन विचारप्रति उनको झुकाव छ । उनले रामको जन्मभूमि त्यसै खोजेका होइनन् । त्यसमा ओलीको राजनीतिक समझ छताछुल्ल हुन्छ । उनले लिम्बूहरूको जीवनस्तर उठाउने कार्यक्रममा ध्यान दिएनन्, बरु लिम्बूहरूको गोत्र पत्ता लगाउने कुरामा रुचि राखे । कम्युनिस्टहरूको सामूहिक संस्कृति, नीति निर्माणमा सामूहिकता र विचारको सर्वोच्चतामा ओलीको भरोसा नभएको कुरामा एमालेजन भुक्तिभोगी छ । इतिहासको निर्माणमा कुनै एउटा महान् व्यक्तिको भूमिका हुन्छ भन्ने मुसोलिनीको मतमा ओलीको सामीप्य बारम्बार देखिएको हो । अनायसै ‘आइ लभ यु’को नारा उनीद्वारा निःसृत भएको होइन । यो उनको वैचारिक लाइन थियो । यो मामिलामा ओली र बालेन समान छन् । उनीहरू विधिमा होइन, परिणाममा विश्वास राख्छन् । परिणाम आउँछ भने विधि मानिराख्नुपर्दैन भन्ने कुरामा इटलीका मुसोलिनीझैं नेपालका ओली र बालेनको पनि समान धारणा देखिन्छ ।
कसैले माने पनि नमाने पनि एउटा भयानक सत्य के हो भने एउटा अभियानका रूपमा रास्वपा लोकप्रिय भएको साँच्चै हो । जब अभियान पार्टीमा रूपान्तरण हुन खोज्छ, त्यतिखेर उसलाई दर्शन, सिद्धान्त, रणनीति र कार्यनीति चाहिन्छ । यी सारा कुराहरूले वर्ग पक्षधरता खोज्छ । पक्षधरता अँगाल्नेबित्तिकै अर्को पक्षको समर्थन घट्ने नै भयो । त्यसकारण रास्वपा जति पार्टी बन्न खोज्छ, अथवा यसमा जति सिद्धान्त प्रवेश गर्छ, त्यति नै मात्रामा हिजो अभियानका रूपमा प्राप्त लोकप्रियता घट्दै जाने हो । रास्वपा भन्ने पार्टी अहिले यही चरणमा छ ।
विचार र सिद्धान्तका हिसाबले रास्वपा अहिले संसदीय राजनीतिमा आधारित नवउदारवाद र शक्तिशाली नेतृत्वमा आधारित मुसोलिनीवादको तानातानमा छ । एउटाको नेतृत्व स्वर्णिम वाग्ले र अर्को विचारको नेतृत्व बालेनले गरिरहेका छन् । अभियानका रूपमा गठित रास्वपा र यसलाई संगठित गर्ने रवि लामिछानेको भूमिका त्यहाँ दयनीय भएको अकारण होइन । त्यसकारण अभियानको रूपमा विकसित भएको मौलिक रास्वपामा मुसोलिनीवादको विचार बोकेर बालेन टाँसिएका हुन् भन्न खोजिएको हो ।
अब ओलीमै फर्कौं । माक्र्सवादी दर्शन, भौतिकवादी समाज, समाजवादी अर्थतन्त्र, सामूहिकता र प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादजस्तो अत्याधुनिक सिद्धान्त बोकेको नेकपा (एमाले)मा पूर्वीय दर्शन, ऋषिमुनि र रामबाट प्रभावित, देवत्वकरण गरिएको शक्तिशाली एकल नेतृत्वको विचार राख्ने केपी ओली कतै एमालेमा टाँसिएको तत्व त होइनन् ? यो प्रश्नले पनि उत्तर खोज्दै छ ।
बालेन र ओलीका विचार र गतिविधिले रास्वपा र एमाले भन्ने पार्टीहरूलाई जनताका बीचमा लोकप्रिय बनाउँदै छ ? कि दिन–प्रतिदिन अलोकप्रिय बनाउँदै छ ? यो अर्को प्रश्न हो । विधिभन्दा परिणाम महत्वपूर्ण हो भन्ने सोचमा बालेन र ओली किन समान देखिँदै छन् ? राजनीति, पार्टी र सत्ता सञ्चालनमा राजकीय विवेक प्रयोग जरुरी हुन्छ भन्ने मतमा ओली र बालेन किन सहमत छैनन् ? पार्टीभन्दा व्यक्ति ठुलो हुन्छ भन्ने सोचमा उनीहरू एकै ठाउँमा कसरी आए ? उनीहरूमा देखिएको प्रतिस्पर्धीहरूप्रतिको भयानक अनुदारताको वैचारिक स्रोत के हो ? लगातार संसद् भंग गरिरहने केपी ओली र संसद्मा सदा अनुपस्थित रहने बालेनको संसद्लाई हेर्ने र बुझ्ने एउटै दृष्टिकोण कसरी बन्यो ? यस्ता अनेकौं प्रश्न र अनुमान गरिने उत्तरहरूले एमालेमा ओली र रास्वपामा बालेन्द्र शाह आ–आफ्ना पार्टीका विजातीय तत्व हुन् भन्ने तर्कमा बल पुग्छ ।
अन्तिममा यति भनौं, अभियानका रूपमा संगठित भएको रास्वपामा बालेन र स्वर्णिमहरू विचार घुसाउन खोज्दै छन्, जुन प्राकृतिक होइन । दर्शन र विचारका आधारमा संगठित भएको एमालेलाई केपी ओलीहरू विचारविहीन बनाइरहेका छन्, त्यो पनि प्राकृतिक होइन । यसरी आ–आफ्नो संगठनलाई अप्राकृतिक बनाउने मामिलामा पनि बालेन र केपी ओलीहरू एकै ठाउँमा उभिएका छन् । अबचाहिँ यति भन्न सकिन्छ, विचारविहीन एमाले र विचारसहितको रास्वपा दुवै संगठनहरू मुलुकको हितमा छैन ।
– अर्याल नेकपा (संयुक्त)का केन्द्रीय प्रचार विभाग प्रमुख हुन् ।