२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

होल्डिङ सेन्टरमा बाढी, सुकुम्वासीको बिचल्ली

Nada
मुकुन्द लामिछाने
२०८३ असार २८ गते ०६:२०
Shares
होल्डिङ सेन्टरमा बाढी, सुकुम्वासीको बिचल्ली

काठमाडौं : सुकुम्वासी बसोबास गर्दै आएका होल्डिङ सेन्टरमा बाढीले क्षति पु¥याएको छ । काठमाडौं उपत्यकाबाट विस्थापित भएका सुकुम्वासी विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा बस्दै आएका थिए । अविरल वर्षापछि बागमती नदीको बहाव बढेर बाढी आउँदा होल्डिङ सेन्टरमा क्षति पु¥याएको हो । जसबाट सुकुम्वासीको बिचल्ली भएको छ । 

ncell

कीर्तिपुर नगरपालिका १०मा रहेको राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टरमा बाढी पस्दा त्यहाँ आश्रय लिइरहेका विस्थापित परिवार थप समस्यामा परेका हुन् । 

राति अचानक बाढी सेन्टरभित्र पसेपछि अधिकांश परिवारले घरायसी सामग्री, लत्ताकपडा तथा दैनिक उपभोगका सामान जोगाउनसमेत पाएनन् । सुरक्षाकर्मीले डुंगाको प्रयोग गरी केही सामान बाहिर निकाल्न सहयोग गरेका थिए । निकालिएका सामग्री पानीले भिजेर नष्ट भएको पीडितहरूको गुनासो छ । 

गृह मन्त्रालयका अनुसार राति १ बजेर ३८ मिनेटमा डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमान्डमा डिजास्टर म्यानेजमेन्ट टोलीसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो । 

उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

केही आफन्त वा नजिकैको होस्टलमा बसेका छन् । बाँकी ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्र पानी नपसेको सुरक्षित भागमा राखिएको छ । शनिबार बिहानसम्म पनि होल्डिङ सेन्टर जलमग्न नै थियो । दिउँसो भने पानी घट्यो । होल्डिङ सेन्टरमा आश्रय लिइरहेकाहरूले उद्धारमा ढिलाइ भएको गुनासो गरेका छन् । 

राति १२ बजेतिरै बाढी पसेको र घुँडासम्म पानी आइसकेपछि सामान सार्ने अवस्था नरहेको भन्दै उनीहरूले त्यसपछि मात्रै सुरक्षाकर्मी पुगेको बताए । स्थानीयका अनुसार बागमती नदीको सतह रातारात बढेपछि होल्डिङ सेन्टर पूर्ण रूपमा डुबानमा परेको हो । वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सुकुम्वासीहरू नदी किनारबाट हटाइएपछि अस्थायी रूपमा होल्डिङ सेन्टरमा रहँदै आएका थिए । बाढीले त्यही आश्रयस्थल पनि डुबाएपछि उनीहरू बिचल्लीमा परेका हुन् । पीडितहरूले तत्काल खाद्यान्न, कपडा, ओढ्ने/ओछ्याउने सामग्री तथा सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर