२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

समको गजल सन्तोषको संगीत र स्वरमा

Nada
२०८३ असार २८ गते ११:४३
Shares
समको गजल सन्तोषको संगीत र स्वरमा

काठमाडौं : नाट्यसम्राट बालकृष्ण समद्वारा रचित गजल विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा सार्वजनिक गरिएको छ ।

ncell

समद्वारा एक सय वर्षअघि रचना गरिएको उनको कृति 'मेरो कविताको आराधन उपासना- १'मा संकलित गजल 'जान लाग्यो नाम जप्ने सास यो'लाई श्रेष्ठले संगीतबद्ध गरी स्वर दिएका हुन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय मैतीदेवीमा शनिबार आयोजित कार्यक्रममा उक्त गजलको श्रव्यदृश्य पनि सार्वजनिक गरिएको थियो l

सार्वजनिक गजलबारे गजल अभियन्ता एवं समालोचक घनेन्द्र ओझाले चर्चा गर्दै सम नाट्यसम्राटका रूपमा सम्मानित रहे पनि उनले गजल पनि लेखेकामा खुसी व्यक्त गरे । ओझाले आदिगजलकार मोतीराम भट्टपछिका सर्जकहरूले गजल लेख्ने क्रम चलेको र त्यही मेसोमा समले पनि गजल लेखेका देखिएको सुनाए । समले गजल भनेरै नलेखे पनि गजलको शास्त्रीयताभित्र रहेर समले उक्त सिर्जना गरेका बताए ।

कृष्णभक्तिमा केन्द्रित रहेर समले गजल लेखेका भन्दै ओझाले समका समकालीन त्रिमूर्तिहरू महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र सम तीनै जनाका गजल खोजेर संगीतकार, गायक श्रेष्ठले संगीतमा ल्याएका बताए ।

चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले सन्तोष श्रेष्ठ साहित्य र संगीतमा नयाँनयाँ काम गर्न रुचाउने व्यक्ति भएकाले यस्ता राम्रा कामहरू सन्तोषबाट हुँदा खुसी लागेको बताए ।

गजलकार राधा कणेलले सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले २ वर्षअघि घोषणा गरेको 'नेपाली गजल गायन स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानले छोटो समयमै देशका विभिन्न भागमा करिब एक दर्जन प्रत्यक्ष गजल गायन गरिसकेको, केही एल्बम ल्याइसकेको भन्दै यही मेसोमा नेपाली साहित्यका त्रिमूर्तिहरू देवकोटा, पौड्याल र समका गजल पनि संगीतमा ल्याइनु राम्रो काम भएको बताइन् ।

महाकवि देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटाले अग्रजहरूको सम्मान गर्न सन्तोष श्रेष्ठले जानेका भन्दै प्रशंसा गरे l

संगीतकार, गायक श्रेष्ठले आफूले कुनै व्यावसायिक लाभका लागि नभई अग्रजको सम्मानका खातिर मात्र यस्ता काम गरिरहेको बताए ।

प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनमा संगीतकार श्रेष्ठको सक्रियता र लगाव उल्लेखनीय रहेको बताए । नेपाली गजललाई संगीतमा ल्याउने सन्तोषको प्रयासको बरालले सराहना पनि गरे ।

अनाममण्डलीले आयोजना गरेको कार्यक्रमको सभापतित्व प्रभाती किरणले गरेका थिए भने सहजीकरण रूपक अलंकारले गरेका थिए ।

सम्बन्धित खबर