२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

काठमाडौंमा भारतीय विदेश सचिव

ADV
शिव विक
२०८१ साउन २८ गते ०६:४५
काठमाडौंमा भारतीय विदेश सचिव

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा छन् । नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका मिस्रीले शीर्ष भेटघाट गरेका छन् । 

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

शीर्ष भेटघाटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विभिन्न विषय तथा आपसी सहयोग विस्तार लगायत विषयमा शीर्ष नेताहरूबीच कुराकानी भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मिस्रीसँग भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ । 

पौडेलले नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । 

भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा रहेका परियोजनामा भारत पनि काम गर्न इच्छुक रहेको बताए । मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको भेटका क्रममा बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेललाई भेट्नुअघि मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको भिडिओमा देखिन्छ । 

प्रधानमन्त्री ओलीसँग भेटेपछि उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवालाई भेटेका हुन् । 

कांग्रेस सभापति देउवासँग बुढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटारमा भएको भेटमा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिव मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी थिइन् । लम्सालको निम्तोमा नेपालको शिष्टाचार भ्रमणमा मिस्री आएका हुन् ।  मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise