२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारमा फादर अमिरको स्वर्णिम युग

Nada
प्रो. मोहम्मद रमजान अली मियाँ
२०८३ असार ३० गते ०६:००
Shares
कतारमा फादर अमिरको स्वर्णिम युग

कतार राज्यका पूर्वअमिर तथा ‘फादर अमिर’ (अमिर अल–वालिद) महामहिम शेख हमद बिन खलिफा अल थानीको १२ जुलाईमा ७४ वर्षको उमेरमा निधन भयो । अमिरी दिवानले आइतबार बिहान उहाँको निधन भएको आधिकारिक पुष्टि गरेपछि सिंगो राष्ट्र शोकमा डुबेको छ ।

ncell

महान् व्यक्तिहरू शारीरिक रूपमा हामीबाट बिदा भए पनि उनीहरूको जीवन, आदर्श र योगदान कहिल्यै समाप्त हुँदैन । मातृभूमि, राष्ट्र र सम्पूर्ण मानवताका लागि गरेका सेवाहरू इतिहासका अमिट अध्याय बनेर सधैं जीवित रहन्छन् । त्यस्तै एक पात्र थिए– शेख हमद बिन खलिफा अल थानी ।

उहाँ कतारका पूर्वशासक मात्र हुनुहुँदैनथ्यो, आधुनिक कतारका प्रमुख शिल्पकार, दूरदर्शी राष्ट्रनेता तथा विश्वमञ्चमा कतारलाई विशिष्ट स्थान दिलाउने ऐतिहासिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा मरुभूमिमा अवस्थित एउटा सानो राष्ट्र आर्थिक, ऊर्जा, शैक्षिक, वैज्ञानिक, कूटनीतिक, सञ्चार तथा खेलकुदका क्षेत्रमा विश्वकै अग्रणी राष्ट्रहरूमध्ये एकका रूपमा स्थापित भएको थियो । 

शेखको जन्म १ जनवरी १९५२मा कतारको राजधानी दोहामा अल–थानी शाही परिवारमा भएको थियो । उहाँले प्रारम्भिक शिक्षा कतारमै प्राप्त गर्नुभयो । त्यसपछि बेलायतबाट सैनिक तालिम लिनुभयो । स्वदेश फर्किएपछि उहाँ कतारको सेनामा आबद्ध भई त्यसको आधुनिकीकरण तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभयो । आफ्नो नेतृत्व क्षमता र दूरदर्शिताका कारण उहाँले राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न उच्च जिम्मेवारीहरू सम्हाल्दै भविष्यका नेतृत्वकर्ताका रूपमा आफूलाई स्थापित गर्नुभयो । 

२७ जुन १९९५मा उहाँले कतार राज्यको शासनभार सम्हाल्नुभयो । त्यससँगै आधुनिक कतार निर्माणको नयाँ युग प्रारम्भ भयो । प्राकृतिक स्रोतको दिगो उपयोग, आर्थिक विविधीकरण, सुशासन, मानव विकास, शिक्षा, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर उहाँले दीर्घकालीन विकास नीति अवलम्बन गर्नुभयो । उहाँको नेतृत्वमा विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डारमध्ये एक नर्थ फिल्डको तीव्र विकास गरियो । यसको प्रभावकारी उपयोगबाट कतार विश्वकै अग्रणी तरल प्राकृतिक ग्यास निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित भयो । ऊर्जा क्षेत्रबाट प्राप्त आम्दानीलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रविधि तथा दीर्घकालीन राष्ट्रिय लगानीमा परिचालन गरियो । फलस्वरूप कतार विश्वका उच्च प्रतिव्यक्ति आय भएका राष्ट्रमध्ये एक बन्न सफल भयो । 

शेख हमदको शासनकाललाई कतारको पूर्वाधार विकासको स्वर्णिम युग मानिन्छ । आधुनिक राजमार्ग, द्रुतमार्ग, बन्दरगाह, औद्योगिक क्षेत्र, आवासीय परियोजना, अस्पताल, विद्यालय तथा विश्वविद्यालयको निर्माणमा व्यापक लगानी गरियो । आजको आधुनिक दोहा, हमद अन्तर्राष्ट्रिय विमानस्थल, लुसैल सिटी तथा अन्य ठुला विकास परियोजना उहाँकै दूरदर्शी योजनाको परिणाम मानिन्छन् । उहाँको नेतृत्वमा सरकारी निकायको आधुनिकीकरण, सार्वजनिक सेवाको गुणस्तर सुधार तथा प्रशासनिक दक्षता अभिवृद्धिमा विशेष जोड दिइयो । राज्यका संस्थाहरूलाई उत्तरदायी, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा उल्लेखनीय सुधार गरियो । 

उहाँको शासनकालमा कतारले लेबनान, सुडान, अफगानिस्तान, प्यालेस्टाइनलगायत विभिन्न क्षेत्रीय द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै विश्व कूटनीतिमा विशिष्ट पहिचान स्थापित गर्‍यो । उहाँको नेतृत्वमा कतारले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा व्यापक लगानी गर्‍यो । एसियाली खेलकुदसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना भयो । उहाँकै शासनकालमा कतारले सन् २०२२को फिफा विश्वकप आयोजना गर्ने ऐतिहासिक अवसर प्राप्त गर्‍यो । यस उद्देश्यका लागि सन् २००५मा कतार इन्भेस्टमेन्ट अथोरिटी स्थापना गरियो, जुन आज विश्वका प्रमुख सार्वभौम सम्पत्ति कोषमध्ये एक मानिन्छ । यसमार्फत विश्वका प्रमुख बैंक, उद्योग, होटल, विमान सेवा, पूर्वाधार तथा रणनीतिक परियोजनामा दीर्घकालीन लगानी गरी कतारलाई विश्व अर्थतन्त्रको प्रभावशाली लगानीकर्ता राष्ट्रका रूपमा स्थापित गरियो । 

शेख हमद बिन खलिफा अल थानीको नेतृत्व (१९९५–२०१३)मा कतारले ऊर्जा निर्यातबाट प्राप्त आम्दानीलाई विश्वव्यापी रणनीतिक लगानीमा रूपान्तरण गर्ने नीति अवलम्बन गर्‍यो । यसका लागि विशेष रूपमा कतार इन्भेस्टमेन्ट अथोरिटीलाई सशक्त बनाइयो । यो सन् २००५मा स्थापना भएको सार्वभौम सम्पत्ति कोष हो, जसले कतारको दीर्घकालीन आर्थिक सुरक्षा र तेल–ग्यासपछिको भविष्य सुनिश्चित गर्ने उद्देश्य राख्यो । 

शेख हमदको दूरदर्शी आर्थिक नीतिको एउटा महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय लगानी विस्तार थियो । उहाँको नेतृत्वमा ऊर्जा क्षेत्रबाट प्राप्त आम्दानीलाई आन्तरिक विकासमा मात्र सीमित नराखी विश्वका विभिन्न रणनीतिक क्षेत्रमा पनि लगानी गरियो । कतारले बेलायत, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका तथा एसियाका विभिन्न मुलुकमा बैंकिङ, वित्त, ऊर्जा, पूर्वाधार, विमान सेवा, होटल, पर्यटन, सूचना–प्रविधि, स्वास्थ्य, कृषि तथा रियल इस्टेट क्षेत्रमा दीर्घकालीन रणनीतिक लगानी गर्‍यो । 

यस विश्वव्यापी लगानी नीतिको मुख्य उद्देश्य तेल र प्राकृतिक ग्यासमा मात्र निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्नु, भावी पुस्ताका लागि राष्ट्रिय सम्पत्ति सुरक्षित गर्नु, अन्तर्राष्ट्रिय आर्थिक साझेदारी विस्तार गर्नु तथा कतारको विश्वव्यापी प्रभावलाई अझ सुदृढ बनाउनु थियो । आज कतार विश्वका सबैभन्दा सफल सार्वभौम लगानी कोष सञ्चालन गर्ने राष्ट्रमध्ये एकका रूपमा परिचित हुनुको आधार यही दूरदर्शी नीति हो । 

२५ जुन २०१३मा शेख हमद बिन खलिफा अल थानीले स्वेच्छाले आफ्ना पुत्र तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई शासनसत्ता हस्तान्तरण गर्नुभयो । खाडी क्षेत्रका राजतन्त्रमा यस्तो शान्तिपूर्ण र स्वैच्छिक सत्ता हस्तान्तरण दुर्लभ उदाहरण मानिन्छ । त्यसपछि उहाँ सम्मानित ‘फादर अमिर’का रूपमा राष्ट्रको मार्गदर्शक रहनुभयो । 

शेख हमद सरल, दूरदर्शी, निर्णयक्षम, सुधारवादी तथा व्यवहार कुशल राष्ट्रनेताका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले कतारलाई आर्थिक रूपमा सम्पन्न राष्ट्र मात्र बनाउनुभएन, शिक्षा, अनुसन्धान, कूटनीति, मानव विकास, सञ्चार, मानवीय सहायता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका क्षेत्रमा पनि स्थायी आधार निर्माण गर्नुभयो । यही कारणले उहाँलाई आधुनिक कतारका प्रमुख शिल्पकार तथा रूपान्तरणकारी राष्ट्रनेताका रूपमा सम्मानपूर्वक स्मरण गरिन्छ ।

शेख हमदको १८ वर्षे शासनकाल आधुनिक कतारको इतिहासको स्वर्णिम तथा परिवर्तनकारी युगका रूपमा सदैव स्मरणीय रहनेछ । उहाँको दूरदर्शी नेतृत्वका कारण आजको समृद्ध, आधुनिक र विश्वमञ्चमा प्रभावशाली कतारको आधारशिला निर्माण भएको मानिन्छ ।

(प्रो.मिया राष्ट्रिय मानवअधिकार आयोग कतारमा आबद्ध छन् ।)

सम्बन्धित खबर