२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

समाज परिवर्तनको आधार : सेवाभाव, युवा शक्ति र सामूहिक चेतना

Nada
भरतजंग क्षेत्री
२०८३ असार ३० गते १७:२७
Shares
समाज परिवर्तनको आधार : सेवाभाव, युवा शक्ति र सामूहिक चेतना

समाज परिवर्तन कुनै एक व्यक्तिको चाहना, भाषण वा नाराले मात्र सम्भव हुँदैन । परिवर्तनका लागि सेवाभाव, क्षमता, इमानदारी र जागरुकताले भरिएका युवाहरूको सक्रिय सहभागिता आवश्यक हुन्छ । जब फरक–फरक विचार, अनुभव र ऊर्जाले एउटै उद्देश्यलाई केन्द्रमा राखेर हातेमालो गर्छन्, तब मात्र सकारात्मक परिवर्तनको यात्रा दिगो, प्रभावकारी र परिणाममुखी बन्छ । वास्तवमा संस्था भवन होइन, विचार हो । विचार बलियो भयो भने संस्था आफैं बलियो बन्छ, र संस्था बलियो भए समाज परिवर्तनको अभियानले गति लिन्छ ।

ncell

पछिल्ला वर्षहरूमा समाजका विभिन्न क्षेत्रमा निस्वार्थ भावले काम गर्ने समाजसेवीहरूको संख्या बढ्दै गएको देख्दा आशा जाग्छ । समाजसेवीहरू वास्तवमा समाजका बेतलबी कर्मचारी हुन् । उनीहरूका लागि सबैभन्दा ठूलो पुरस्कार कुनै पद, प्रतिष्ठा वा आर्थिक लाभ होइन, बरु समाजबाट प्राप्त हुने विश्वास, सम्मान, माया र आत्मीयता हो । समाजका लागि काम गर्ने मानिसले प्रशंसा मात्र होइन, आलोचना पनि सहनुपर्छ । सम्मान र अपमान दुवैलाई समान रूपमा स्वीकार गर्दै समाजको हितमा निरन्तर लागिरहनु सजिलो काम होइन । तर एकपटक समाजसेवा जीवनको उद्देश्य बनिसकेपछि त्यो यात्राबाट फर्किन मन लाग्दैन ।

हाम्रा धर्म, दर्शन र संस्कृतिले पनि समाजसेवालाई सर्वोच्च कर्मका रूपमा व्याख्या गरेका छन् । अरूको सेवामा समर्पित जीवनलाई नै उत्कृष्ट जीवन मानिएको छ । समाजसेवाको वास्तविक सार स्वार्थमा होइन, सेवामा हुन्छ । अरूको अनुहारमा मुस्कान ल्याउँदा प्राप्त हुने आत्मसन्तुष्टि नै समाजसेवाको सबैभन्दा ठुलो उपलब्धि हो । यही सन्तुष्टिले अर्को व्यक्तिलाई पनि सकारात्मक कामतर्फ प्रेरित गर्छ ।

आजका युवाहरू सामाजिक संस्थामार्फत समाज रूपान्तरणको अभियानमा उल्लेखनीय रूपमा सक्रिय देखिन्छन् । यो सुखद संकेत हो । तर युवाको ऊर्जा सही दिशामा परिचालन हुन आवश्यक छ । समाजलाई सकारात्मक बाटोमा डोर्‍याउने, कुलत, हिंसा, निराशा र विकृतिबाट टाढा राख्ने तथा रचनात्मक अभियानमा सहभागी गराउने जिम्मेवारी पनि आजको पुस्ताकै काँधमा आएको छ । किनभने सामूहिक चेतना र सहकार्यबिना समाज परिवर्तन सम्भव हुँदैन । एक व्यक्तिले आफ्नै परिवार परिवर्तन गर्न कठिन हुन्छ भने सिंगो समाजको परिवर्तन त झन् सबैको साझा प्रयासबाट मात्र सम्भव हुन्छ ।

मेरो सपना अभावसँग संघर्ष गरिरहेको त्यही मानिसको साथमा उभिनु हो, जसको खुट्टामा चप्पल छैन, जसले गरिबीका कारण शिक्षा, स्वास्थ्य वा अवसरबाट वञ्चित हुनुपरेको छ । समाजका कमजोर, असहाय र पछाडि परेका वर्गलाई साथ दिनु नै वास्तविक मानवता हो । मेरो विश्वास छ—एक व्यक्तिको सोचभन्दा सामूहिक सोच धेरै शक्तिशाली हुन्छ । जब समुदाय एउटै उद्देश्यका साथ अघि बढ्छ, तब समाज र राष्ट्रमा आमूल परिवर्तन सम्भव हुन्छ । त्यसैले सहकार्य, एकता र सहभागिताको विकल्प छैन ।

हामीले यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ एक नेपालीले अर्को नेपालीको पीडालाई आफ्नै पीडा ठान्न सकोस् । गरिबीका कारण कुनै बालबालिका शिक्षाबाट वञ्चित नहोस् । वृद्ध, अशक्त, विपन्न र असहाय नागरिकले आफूलाई एक्लो महसुस गर्न नपरोस् । सहयोग, सद्भाव, सहिष्णुता र मानवता हाम्रो सामाजिक संस्कारका आधार बनून् । यस्ता मूल्यहरू बलिया भए मात्र सभ्य र समुन्नत समाजको निर्माण सम्भव हुन्छ ।

समाज परिवर्तन छेपारोले रंग फेरेजस्तो क्षणभरमै हुने प्रक्रिया होइन । परिवर्तनका लागि दीर्घकालीन सोच, निरन्तर प्रयास, धैर्यता, इमानदार नेतृत्व र सबैको साझा प्रतिबद्धता आवश्यक पर्छ । कठिनाइ आउँछन्, आलोचना हुन्छ, अवरोध सिर्जना हुन्छन् । तर परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन सक्यौं भने परिवर्तन अवश्य सम्भव हुन्छ ।

सच्चा मानिस भएर बाँच्नु भनेको कसैलाई दुःख, पीडा वा अन्याय नदिनु हो । किनभने नकारात्मक सोच र व्यवहारले व्यक्ति, परिवार, समाज र अन्ततः राष्ट्रलाई नै पछाडि धकेल्छ । मरेपछि स्वर्ग वा नर्कको कल्पना गर्नुभन्दा पनि बाँचुन्जेल असल कर्म गर्ने संस्कार विकास गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । प्रत्येक युवाले आफ्नो जीवनलाई सकारात्मक कर्म, अनुशासन, सेवा र जिम्मेवारीसँग जोड्न सके देशको भविष्य उज्ज्वल बन्न सक्छ । त्यसैले हामीले बाँचुन्जेल कसैको मन नदुखाई, सकारात्मक काम गर्दै, मानवताको बाटोमा अघि बढ्नुपर्छ ।

मेरो समाजसेवाको यात्रा कुनै ठूलो स्रोतबाट सुरु भएको होइन । कहिलेकाहीँ आफ्नै खाजा खाने खर्च कटौती गरेर गरिएको सानो सहयोगबाट यो यात्रा सुरु भएको हो । यही यात्राले मलाई जीवनका अनेक पाठ सिकाएको छ । समाज परिवर्तन भाषणले होइन, सेवाले हुन्छ भन्ने सत्य मैले यही यात्राबाट बुझेको छु । जब व्यक्तिगत सफलतालाई समाजको हितमा समर्पित गरिन्छ, त्यहीँबाट आशा, विश्वास र समृद्धिको नयाँ अध्याय सुरु हुन्छ ।

आज नेपाललाई विकास, सुशासन र सामाजिक रूपान्तरणका लागि सबैभन्दा बढी आवश्यक परेको शक्ति भनेकै सकारात्मक सोच भएका युवाहरू हुन् । त्यसैले सम्पूर्ण युवा पुस्तालाई समाज निर्माणको अभियानमा जोडिन हार्दिक आग्रह गर्दछु । न्याय, समानता, सेवा, सहकार्य र मानवतामा आधारित समाज निर्माण गर्नु आजको युवाको ऐतिहासिक जिम्मेवारी हो । यदि हामी सबैले आफ्नो क्षमता, समय र ऊर्जा समाजका लागि केही अंश समर्पित गर्न सक्यौं भने परिवर्तन कुनै टाढाको सपना रहने छैन । परिवर्तन हाम्रै पुस्ताले देख्नेछ, र भावी पुस्ताले त्यसको उज्यालो भविष्य निर्माण गर्नेछ ।

सम्बन्धित खबर