२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

देवानगन्ज घटनाबाट सिक्नुपर्ने पाठ

Nada
२०८३ साउन १३ गते ०६:१०
Shares
देवानगन्ज घटनाबाट सिक्नुपर्ने पाठ

सुनसरीको देवानगन्जमा दुई धार्मिक समूहबीच भएको विवाद र हिंसात्मक घटनाले देशभर चिन्ता बढाएको छ । धार्मिक एवं सामुदायिक विवादलाई बेलैमा हल नगरिँदा उत्पन्न तनावले ठुलो दुर्घटना निम्त्याएको छ । त्यसमा राज्य संयन्त्र, सुरक्षा व्यवस्था र समुदाय नराम्ररी चुकेको छ । एक महिनादेखि रहेको धार्मिक झन्डाको विवाद समयमै समाधान गर्न सकेको भए अहिलेको अवस्था आउँदैनथ्यो । अर्को समुदायलाई उत्तेजित पार्नेगरी मध्यरातमा चर्को आवाजमा डिजे बजाउनुले पनि परिस्थिति बिगारेको देखिन्छ । घटनामा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । स्थानीय प्रशासनले सेना परिचालन गर्दै कफ्र्यु लगाए पनि स्थिति सामान्य हुन सकेको छैन । यसले साम्प्रदायिक तनाव फैलिने खतरा बढेको छ । 

पछिल्ला केही वर्षयता तराई–मधेसका विभिन्न जिल्लामा धार्मिक तथा साम्प्रदायिक तनाव भइरहेका छन् । यसले विभिन्न स्वार्थ समूहबाट सामाजिक शान्ति, सद्भाव र एकतालाई खल्बल्याउने कोसिस भइरहेको बुझ्न कठिन छैन । सुनसरी घटनामा सबैभन्दा ठुलो कमजोरी राज्य पक्षबाट देखिएको छ । स्थानीय तह, प्रशासन र सुरक्षा निकायलाई विवादको जानकारी पहिलेदेखि नै थियो । मोहर्रम सकिएपछि धार्मिक झन्डाको विवादले असन्तुष्टि बढिरहेको जानकारी हुँदाहुँदै पनि आवश्यक मध्यस्थताको पहल भएको देखिँदैन । संवेदनशील विषयलाई सामान्य विवाद ठानेर बेवास्ता गर्दा अन्ततः त्यसले हिंसाको रूप लियो । दुई समूहको तनाव रोक्न पुगेको प्रहरीकै अत्यधिक बल प्रयोगबाट मानवीय क्षति हुनु झन् दुःखद छ । 

सुरक्षाकर्मीको पहिलो जिम्मेवारी तनाव कम गर्नु र दुवै पक्षलाई संवादमा ल्याउनु हुनुपर्थ्यो । तर, सशस्त्र र नेपाल प्रहरी त्यसमा असफल देखिएका छन् । विद्युत् अवरुद्ध भएको बेला अन्धाधुन्ध गोली चलाइएको थियो । मृतकसहित अधिकांश घाइतेलाई कम्मरमाथि गोली लागेको छ । यसको निष्पक्ष छानबिन हुनुपर्छ । यति हुँदाहुँदै पनि सबै दोष राज्यलाई मात्रै दिन मिल्दैन । धार्मिक र सामाजिक संवेदनशील विषयमा समुदाय स्वयं पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । समुदायका अगुवा, धार्मिक नेता, नागरिक समाज, राजनीतिक दल र सचेत वर्गले तनाव बढाउने होइन, विवादको समाधान खोज्नुपर्छ । अफवाह, उत्तेजक अभिव्यक्ति र प्रतिशोधको भावनाले समाजलाई द्वन्द्वतर्फ नै धकेल्छ । नेपालको पहिचान धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी सम्मानमा आधारित छ । त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।

देवानगन्जको घटनाबाट राज्यले गम्भीर पाठ सिक्नुपर्छ । धार्मिक वा सामुदायिक विवादलाई सानो ठानेर बेवास्ता गर्नु हुँदैन । यस्ता संवेदनशील क्षेत्रमा सुरक्षा निकाय सधैं तयारी अवस्थामा रहनुपर्छ । निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्यायसँगै भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्नुमै सरकारले अहिले ध्यान केन्द्रित गर्नुपर्छ ।

सम्बन्धित खबर