२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

संकटमा एकदिवसीय मान्यता

टाढिँदै विश्वकप सपना

Nada
दिवाकर अधिकारी
२०८३ साउन १३ गते ०६:२५
Shares
संकटमा एकदिवसीय मान्यता

काठमाडौं : केही महिनाअघि काठमाडौंमा सम्पन्न आइसिसी विश्वकप लिग–२का दुई शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार ६ खेल जितेपछि नेपाली क्रिकेट समर्थकहरू आशावादी बनेका थिए । घरेलु मैदानमा प्राप्त सफलताले नेपाललाई शीर्ष चारमा पुग्ने सम्भावना मात्र नभई, सन् २०२७को एकदिवसीय विश्वकप छनोट यात्रातर्फ पनि बलियो बनाएको देखिएको थियो ।

तर, अहिले अवस्था ठिक उल्टो बनेको छ । नेदरल्यान्ड्समा जारी लिग–२ शृंखलामा लगातार तीन खेल गुमाएपछि नेपालको विश्वकप छनोटको यात्रा लगभग समाप्त भएको छ । अझ त्योभन्दा ठुलो चिन्ताको विषय भने नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता नै जोखिममा पर्ने सम्भावना बढेको छ ।

नेपालले यस भ्रमणलाई आफ्नो भविष्य निर्धारण गर्ने अवसरका रूपमा लिएको थियो । बाँकी सबै खेल जित्ने लक्ष्यसहित मैदान उत्रिएको टोलीले सुरुवातदेखि नै निराशाजनक प्रदर्शन गर्‍यो । नामिबिया र नेदरल्यान्ड्ससँगका सुरुवाती दुई खेलमा नेपाल प्रतिस्पर्धात्मक देखिनै सकेन । तेस्रो खेलमा भने अन्तिमसम्म संघर्ष गरे पनि नामिबियासँग तीन रनले पराजित भयो ।

तीन खेलबाट कुनै अंक जोड्न नसकेको नेपाल अंकतालिकामा झन् तल झरेको छ । ३२ खेलबाट ११ जितसहित २४ अंक जोडेको नेपाल अहिले छैटौं स्थानमा पुगेको छ । नेपालभन्दा माथि अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स, ओमान र नामिबिया छन् भने क्यानडा सातौं तथा युएई आठौं स्थानमा छन् । क्यानडाले नेपालभन्दा तीन खेल कम खेलेको छ भने युएईले सात खेल कम खेलेको छ । दुवैले बाँकी खेलबाट अंक बटुल्न सके नेपाल अझ तल धकेलिन सक्छ ।

लिग–२को संरचनाअनुसार आठ टोलीले समान ३६–३६ खेल खेल्छन् । प्रतियोगिता समाप्त हुँदा शीर्ष चार स्थानमा रहने टोलीले सिधै विश्वकप ग्लोबल क्वालिफायर खेल्ने अधिकार प्राप्त गर्छन् । उनीहरूको एकदिवसीय मान्यता पनि स्वतः अर्को चार वर्षका लागि सुरक्षित हुन्छ । नेपालका लागि यही लक्ष्य अब लगभग असम्भव बनेको छ ।

अमेरिका र स्कटल्यान्डले शीर्ष चार स्थान सुरक्षित गरिसकेका छन् । नेदरल्यान्ड्सलाई पनि अब केही अंक मात्र आवश्यक छ । चौथो स्थानमा रहेको ओमानलाई उछिन्ने नेपालको गणितीय सम्भावना अझै कागजमा बाँकी भए पनि त्यसका लागि नेपालले बाँकी सबै खेल जित्नुपर्नेछ र ओमानले सबै खेल हार्नुपर्ने अवस्था आवश्यक पर्छ । वास्तविक प्रतिस्पर्धामा यस्तो समीकरण पूरा हुनु अत्यन्त कठिन देखिन्छ । यस अर्थमा नेपालका लागि अब शीर्ष चारभन्दा पनि तल नझर्ने संघर्ष बढी महत्वपूर्ण बनेको छ ।

ओडिआई मान्यता संकटमा

धेरै समर्थकको ध्यान विश्वकप छनोटमा केन्द्रित भए पनि नेपाली क्रिकेटका लागि अहिले सबैभन्दा महत्वपूर्ण विषय एकदिवसीय (ओडिआई) मान्यता हो ।

एकदिवसीय मान्यता केवल एउटा उपाधि होइन । यही मान्यताले नेपाललाई नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर दिन्छ । आइसिसीको आर्थिक सहयोग, बलिया राष्ट्रसँग द्विपक्षीय तथा त्रिपक्षीय शृंखला, खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक क्रिकेटको विकास पनि यही मान्यतासँग जोडिएको हुन्छ ।

यदि नेपालले यो मान्यता गुमायो भने अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर उल्लेख्य रूपमा घट्नेछ । नियमित प्रतिस्पर्धा नहुँदा खेलाडीको विकास प्रभावित हुनेछ, व्यावसायिक क्रिकेटको आकर्षण कमजोर बन्नेछ र घरेलु क्रिकेटको लगानीमा समेत असर पर्ने विश्लेषण गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले पनि यसअघि एकदिवसीय मान्यता गुमे नेपाली क्रिकेटलाई ठुलो धक्का पुग्ने चेतावनी दिइसकेका छन् । उनका अनुसार त्यसको प्रभाव नेपाल प्रिमियर लिग (एनपिएल)जस्ता प्रतियोगिताको लोकप्रियता र लगानीसम्म पर्न सक्छ ।

अन्तिम अवसर

यद्यपि नेपालको यात्रा यहीँ समाप्त भएको भने छैन । लिग–२मा शीर्ष चारमा पर्न नसकेका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्ने अवसर पाउँछन् । उनीहरूसँग च्यालेन्ज लिगका शीर्ष चार टोली पनि सहभागी हुन्छन् । आठ टोलीबीच हुने यस प्रतियोगिताबाट उत्कृष्ट चार टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । त्यही प्रक्रियाबाट उनीहरूको ओडिआई मान्यता पनि सुरक्षित रहनेछ ।

यसकारण अहिले नेपालको मुख्य लक्ष्य शीर्ष चार होइन, कम्तीमा प्लेअफसम्म सुरक्षित रूपमा पुग्ने र त्यहाँ उत्कृष्ट प्रदर्शन गरेर आफ्नो ओडिआई हैसियत जोगाउनु बनेको छ ।
च्यालेन्ज लिग आइसिसीको लिग–२ भन्दा तल्लो स्तरको प्रतियोगिता हो । त्यहाँ अहिले जर्सी, युगान्डा, इटाली, कुवेत, हङकङ, पपुवा न्युगिनीलगायत टोली प्रतिस्पर्धामा छन् । यीमध्ये शीर्ष चार टोली मात्र प्लेअफमा पुग्नेछन् ।

स्तरका आधारमा हेर्दा नेपाल अझै पनि ती अधिकांश टोलीभन्दा बलियो मानिन्छ । त्यसैले नेपाल प्लेअफमा पुग्न सफल भए आफ्नो क्षमताअनुसार खेलेर एकदिवसीय मान्यता जोगाउन सक्ने सम्भावना बलियो छ । तर, त्यसका लागि अहिले देखिएको अस्थिर ब्याटिङ, कमजोर सुरुवात र दबाबमा हुने गल्ती सुधार्नैपर्नेछ ।

यस चक्रमा नेपालको सबैभन्दा कमजोर पक्ष ब्याटिङ बनेको छ । सुरुवाती ओभरमै विकेट गुमाउने, साझेदारी टिकाउन नसक्ने र लक्ष्य पछ्याउँदा दबाब झेल्न नसक्ने समस्या अधिकांश खेलमा दोहोरिएको छ । बलिङले धेरै खेलमा प्रतिस्पर्धात्मक अवसर सिर्जना गरे पनि ब्याट्सम्यानले त्यसलाई जितमा रूपान्तरण गर्न सकेका छैनन् ।

विशेषगरी विदेशी भूमिमा नेपालको प्रदर्शन झन् कमजोर देखिएको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि अवे सिरिजमा निरन्तरता कायम राख्न नसक्दा अंकतालिकामा टोली पछि परेको हो ।

नेपाली क्रिकेटले यस्ता कठिन परिस्थितिबाट पुनरागमन गरेको इतिहास पनि छ । अघिल्लो लिग–२ चक्रमा नेपाल अन्तिमतिर पुगेको अवस्थामा लगातार ११ खेल जित्दै सबैलाई चकित बनाएको थियो । त्यही अविश्वसनीय पुनरागमनले नेपाललाई शीर्ष तीनमा पु¥याएको थियो । यसपटक परिस्थिति अझ कठिन छ । तर, इतिहासले एउटा सन्देश भने दिएको छ– नेपाललाई अन्तिमसम्म कमजोर आक्न मिल्दैन ।

नेपालले नेदरल्यान्ड्ससँग अझै एक खेल खेल्न बाँकी छ । त्यसपछि अन्तिम शृंखलामा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । यी खेलहरूले नेपालको भविष्य निर्धारण गर्नेछन् ।

यदि नेपालले बाँकी खेलमा लय समात्न सके प्लेअफअघि मनोबल फर्काउन सक्नेछ । तर, हारको शृंखला जारी रहे अंकतालिकामा थप तल झर्ने जोखिम बढ्नेछ ।

विश्वकप खेल्ने सपना अहिले धेरै टाढा देखिन्छ । तर, नेपाली क्रिकेटका लागि अहिले त्योभन्दा ठुलो लडाइँ सुरु भएको छ । त्यो लडाइँ हो– एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने ।

एकदिवसीय मान्यता सुरक्षित रहे नेपालसँग पुनः उठ्ने अवसर हुनेछ । तर, यदि यही हैसियत गुम्यो भने अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यात्राले ठुलो धक्का खानेछ । त्यसैले अबका प्रत्येक खेल केवल जित–हारको हिसाबमा सीमित हुने छैनन्, ती नेपाली क्रिकेटको भविष्य, विकास र अन्तर्राष्ट्रिय अस्तित्वसँग प्रत्यक्ष जोडिएका निर्णायक परीक्षा बनेका छन् ।

सम्बन्धित खबर