
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकतापछि पहिलोपटक आयोजना हुन लागेको ११औं एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुने सम्मेलनलाई सफल बनाउन एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेलको नेतृत्वमा व्यापक तयारी तीव्र पारिएको छ ।
एकतापछि हुने पहिलो क्षेत्रीय सम्मेलन भएकाले यसलाई एनआरएनएको नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ । सम्मेलनलाई परिणाममुखी र व्यवस्थित बनाउन आयोजक टोलीले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसिसी), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) तथा सरोकारवालासँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । सहभागी व्यवस्थापनदेखि कार्यक्रम संरचना र अन्तर्राष्ट्रिय उपस्थिति सुनिश्चित गर्न विशेष ध्यान दिइएको छ ।
आयोजकका अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको पुष्टि हुने क्रम जारी छ । कार्यक्रममा नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि सांसद, एनआरएनएका वर्तमान तथा पूर्व नेतृत्व, लगानीकर्ता, पर्यटन व्यवसायी, वैदेशिक रोजगार क्षेत्रका विज्ञ र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
क्षेत्रीय संयोजक कंडेलले ‘आरोहण–२०२६’ लाई केवल औपचारिक कार्यक्रम नभई एनआरएनएको एकताको सन्देशलाई व्यवहारमा उतार्ने अवसरका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार सम्मेलनले विश्वभर रहेका नेपालीलाई साझा लक्ष्यमा जोड्दै नेपालमा लगानी, व्यापार, पर्यटन, प्रविधि र ज्ञान हस्तान्तरणलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पनि सम्मेलनलाई एकतापछिको महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै विश्वभरका एनआरएनए अभियन्तालाई सहभागी हुन आह्वान गरेका छन् । उनले नव–निर्वाचित पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूलाई सम्मेलनमा उपस्थित भई औपचारिक सपथ ग्रहण गर्न अनुरोध गरेका छन् ।
दुईदिने सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन, व्यापारिक साझेदारी (बिटुबी), पर्यटन विकास, सूचना प्रविधि, जलविद्युत्, कृषि, पूर्वाधार, महिला उद्यमशीलता, युवा सहभागिता तथा सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ । साथै, दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई भाषा, संस्कृति र नेपालसँग जोड्ने विशेष कार्यक्रम पनि समावेश गरिएको छ ।
सम्मेलनअन्तर्गत पाँचवटा विषयगत सत्र सञ्चालन गरिनेछ भने समापन समारोहमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गरिनेछ । उक्त घोषणामार्फत नेपाल सरकारलाई लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा प्रवासी नेपालीका अधिकारसम्बन्धी नीतिगत सुझाव प्रस्तुत गरिने जनाइएको छ ।
स्थानीय आयोजकका रूपमा एनआरएनए चीन सक्रिय रहेको छ । सम्मेलनलाई सफल बनाउन उपसंयोजक भविन्द्र बस्नेत, लालसिंह खड्कालगायतको टोली परिचालित रहेको आयोजकले जनाएको छ । करिब ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता अपेक्षित रहेको सम्मेलनलाई एनआरएनएको एकतापछिको ऐतिहासिक जमघटका रूपमा हेरिएको छ, जसले संगठनको भावी कार्यदिशा तय गर्नुका साथै विश्वभरका नेपालीलाई साझा उद्देश्यमा जोड्ने विश्वास लिइएको छ ।