२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

श्रमिक कल्याणकारी कोष स्थापनार्थ हुने सांस्कृतिक कार्यक्रमको मिति सर्‍यो, अब नोभेम्बर २० मा

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १९ गते १४:०८
Shares
श्रमिक कल्याणकारी कोष स्थापनार्थ हुने सांस्कृतिक कार्यक्रमको मिति सर्‍यो, अब नोभेम्बर २० मा

दोहा, कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतार र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा श्रमिक कल्याणकारी कोष स्थापनार्थ हुन लागेको ‘शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम–२०२६’ को मिति परिवर्तन गरिएको छ । यसअघि नोभेम्बर ६ का लागि तय भएको कार्यक्रम अब नोभेम्बर २०, शुक्रवार आयोजना हुने भएको छ ।

परिषद्का अध्यक्ष नन्दलाल बि.क. ‘अजय’लाई मातृ शोक परेको तथा केही प्राविधिक तयारी पूरा हुन नसकेका कारण कार्यक्रमको मिति सारिएको आयोजकले जनाएको छ । परिषद्ले जारी गरेको सूचनाअनुसार कार्यक्रम अलवकिरस्थित डीपीएस मोनार्क स्कुलको हलमा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । यसअघि वितरण गरिएका निमन्त्रणा तथा प्रवेशपास परिवर्तित मितिमा पनि मान्य हुने परिषद्ले स्पष्ट पारेको छ ।

कार्यक्रममा पोखराको चर्चित लेकाली ब्यान्डले विशेष सांगीतिक प्रस्तुति दिनेछ । दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा कतारमा रहेका नेपाली श्रमिक तथा समुदायको सहभागिता रहने अपेक्षा गरिएको छ । विसं २०५२ मा स्थापना भएको लेकाली ब्यान्डले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेपछि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको थियो। ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’, ‘सपनीमा’ र ‘कहाँबाट’ लगायतका गीत ब्यान्डका चर्चित सिर्जना हुन् । लोक तथा पप संगीतको सम्मिश्रणमार्फत लोकप्रियता कमाएको ब्यान्डले आफ्ना पुराना लोकप्रिय गीतसँगै नयाँ सिर्जनालाई पनि सांगीतिक मञ्चमा प्रस्तुत गर्दै आएको छ ।

कार्यक्रमको तयारीबारे यसअघि ग्रान्ड मलस्थित संसारा रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक संयोजक अर्जुन सङ्ग्रौलाले कार्यक्रम सञ्चालनका लागि करिब ४५ हजार कतारी रियाल खर्च हुने अनुमान गरिएको जानकारी दिएका थिए । परिषद्का उपाध्यक्ष कल्याण थापाले लेकाली ब्यान्डको सांगीतिक प्रस्तुतिमार्फत नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै श्रमिक कल्याणकारी कोष स्थापनाको अभियानमा जोड्ने उद्देश्य रहेको बताएका थिए ।

कार्यक्रमका लागि मुख्य प्रायोजक आठ हजार, सह प्रायोजक छ हजार, प्लाटिनम पाँच हजार, डायमन्ड तीन हजार, गोल्ड एक हजार पाँच सय, सिल्भर एक हजार तथा ब्यानर र अन्य प्रायोजनका लागि पाँच सय कतारी रियाल निर्धारण गरिएको छ । भिक्टोरिया गोल्ड एन्ड डायमन्ड मुख्य प्रायोजक रहने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट संकलित रकम श्रमिक कल्याणकारी कोष स्थापनाका लागि परिचालन गरिने परिषद्ले जनाएको छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई भइपरी आउने समस्यामा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गर्न लागिएको उक्त कोषलाई प्रभावकारी बनाउन परिषद्ले कतारस्थित नेपाली संघ–संस्था, व्यवसायी, श्रमिक तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आर्थिक तथा नैतिक सहयोग गर्न आह्वान गरेको छ ।

मिति परिवर्तनका कारण पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आयोजकले परिवर्तित मितिमा उपस्थितिका लागि अनुरोध गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर