
दोहा, कतार : कतारमा स्थापित रामेछाप सेवा समाज कतारले नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा देउसी–भैलो विशेष सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई प्रवासमा समेत जीवन्त राख्दै रामेछापवासीबिच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको समाजले जनाएको छ ।
माजका अध्यक्ष राजु थापा मगरका अनुसार कार्यक्रम आगामी भोलि शुक्रवार बिहान ११ बजेदेखि वेलफेयर रेस्टुरेन्ट, प्लाजा मलमा सञ्चालन हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समाजका महासचिव प्रकाश दर्नाल ‘शीतल’ले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा पर्व विशेष शुभकामना आदान–प्रदानसँगै परम्परागत देउसी–भैलो र विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।
प्रवासको व्यस्त जीवनमा आफ्नो गाउँ, जिल्ला, भाषा, संस्कृति र परम्परासँग जोडिने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ । यसले कतारमा रहेका रामेछापवासीबिच आपसी चिनजान, आत्मीयता, सहकार्य र सामाजिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।
यसै अवसरमा रामेछाप सेवा समाज कतारले कतारमा रोजगारी, व्यवसाय तथा विभिन्न पेसामा संलग्न भई बसोबास गरिरहेका सम्पूर्ण रामेछापवासीलाई संस्थामा आबद्ध हुन आह्वान गरेको छ । रामेछापवासीबिच एकता, सहकार्य र पारस्परिक सहयोगको भावना विकास गर्दै प्रवासमा आइपर्ने सुख–दुःखमा एक अर्काको सहारा बन्न संस्थालाई साझा मञ्चका रूपमा स्थापित गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको समाजले जनाएको छ । संस्थामा आबद्ध भई सामाजिक सेवा, मानवीय सहयोग, सांस्कृतिक संरक्षण तथा जिल्लाको पहिचान प्रवासमा स्थापित गर्ने अभियानमा हातेमालो गर्न समाजले आग्रह गरेको छ ।
समाजले कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकारसहित सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरेको छ ।