
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय संघीय संसद्मा नउठाउन समेत सांसदहरूलाई आग्रह गरे । प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको अक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनि प्रश्न सोधेका थिए ।
जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै प्रतिप्रश्न गरे । गृहमन्त्री गुरुङले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर भइरहेको बताए ।
उनले भने, ‘सरकार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निरन्तर लागिरहेको छ । यो गृह मन्त्रालयको मुख्य जिम्मेवारी भएकाले पनि सचेत छ । हत्या, हिंसा, बलात्कारलगायतका अपराधहरूको अनुसन्धान हामीले क्रमबद्ध रूपले गरिरहेका छौं । माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवदेनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको हो ? यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रूपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन । यस विषयमा हामीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं । र अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधिसभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’
उनले पीडित परिवारलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसद्मा नभई व्यक्तिगत रुपमा राख्न समेत आग्रह गरे ।