
रौतहट : जिल्लाको उत्तरी भेगमा रहेको चन्दपुर पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित धनसर पुल नजिकै बिहीबार १२ हजार लिटर इन्धन बोकेको एक पेट्रोल ट्यांकर दुर्घटना भई आगलागी भएको छ । अमलेखगञ्ज डिपोबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर धनसर नजिक अनियन्त्रित भई सडकमै पल्टिन पुगेको थियो ।
दुर्घटनालगत्तै ट्यांकरमा लोड गरिएको पेट्रोल चुहिएर भीषण आगलागी भएको हो । आगलागीका कारण ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि दुर्घटनाको समयमा ट्यांकरका चालकले बेलैमा हाम फालेर ज्यान बचाउन सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार ट्यांकर सडकमै पल्टिएपछि पेट्रोलमा सल्किएको आगोले भीषण रूप लिएको थियो । घटनाको सूचना पाउनेबित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय वारुणयन्त्रको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
सडकको बीचमै ट्यांकर जलेर आगलागी भएपछि पूर्व-पश्चिम राजमार्गमा केही समय सवारी साधनको आवगमन पूर्ण रूपमा ठप्प बनेको थियो । प्रहरी निरीक्षक थापा मगरका अनुसार अहिले आगो पूर्ण रूपमा निभाइसकिएको र सडकमा रहेको अवरोध हटाई राजमार्गमा यातायात सेवा पुनः सुचारु गराइसकिएको छ ।
दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन । ट्यांकरको यान्त्रिक गडबडी वा तीव्र गतिका कारण नियन्त्रण गुमाएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।