
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले आफूलाई समर्थन गर्ने ४ सयभन्दा बढी व्यवसायी रहेको जनाएको छ ।
साउन २९ गते हुने मञ्चको अधिवेशनमा सहभागी हुन इच्छुक सम्पूर्ण सदस्य संस्थाहरूलाई साउन २७ गतेभित्र आफ्नो प्रतिनिधिको नामावली तथा आवश्यक कागजात मञ्चको कार्यालय वा सम्पर्क व्यक्तिमध्ये कुनै एकलाई अनिवार्य रूपमा बुझाउन आग्रह गरिएको छ ।
प्रतिनिधि छनोटका क्रममा सहभागीमाझ गरिएको अध्ययनले मञ्चलाई समर्थन गर्ने व्यवसायीको संख्या करिब ४ सय रहेको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिए ।
मञ्चले महाधिवेशनका लागि इजाजतपत्र तथा सेयर लगतको प्रतिलिपि, प्रतिनिधिको नागरिकताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजका फोटो अनिवार्य गरेको छ ।
अधिवेशन प्रतिनिधि संयोजनका लागि पूर्वअध्यक्ष राजेन्द्र भण्डारी, उपाध्यक्ष दलवीर भण्डारी, सरिता घले, पूर्वउपाध्यक्ष मुक्तिनाथ अधिकारी, महासचिव मिलन कट्टेल, पूर्वअध्यक्ष नरेश गेलाल, मञ्चका उपाध्यक्ष गोविन्द कटुवाल, सचिव सोम तामाङ, श्यामचन्द्र खतिवडा, वैकुण्ठ पौडेल ‘वैभव’, देउमान नेम्वाङ, राजेन्द्र बस्नेत, डण्डपाणि भट्टराई (दिलीप), मदन पौडेल, रोहन पौडेल, आनन्द कोइराला, राजेन्द्र अधिकारी, शिवहरि मैनाली (शीतल) र दीपक आचार्य तोकिएका छन् ।
साउन १९ गते बसेको कार्यसमिति बैठकले प्रतिनिधि पठाउने अन्तिम म्याद साउन २७ गतेसम्म कायम गरेको छ । केही सदस्य संस्थाबाट प्रतिनिधि पठाउन छुटेको अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधि पठाउने समयसीमा थप गरिएको मञ्चले जनाएको छ ।
अध्यक्ष रावलले अधिवेशनलाई थप समावेशी र एकतामुखी बनाउन विगतमा मञ्चको कारबाहीमा परेका सदस्य संस्थालाई समेत समेट्ने नीति लिएको बताएका छन् ।
मञ्चको नेतृत्वका लागि वर्तमान अध्यक्ष जनक रावल, उपाध्यक्ष सरिता घले, महासचिव मिलन कट्टेल, पूर्वउपाध्यक्ष मुक्तिनाथ अधिकारीलगायतले चासो देखाएको मञ्चमा आबद्ध व्यवसायीहरू बताउँछन् ।