
काठमाडौँ : सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्चले विशेष अदालतबाट भएको सफाइको निर्णयलाई सदर गरेपछि उक्त मुद्दा टुंगिएको हो ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतको निर्णयविरुद्ध सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अवैध गतिविधिबाट रकम आर्जन गरेको, धम्कीका माध्यमबाट रकम असुलेको तथा त्यस्तो रकमबाट प्राप्त सम्पत्तिलाई वैध देखाउने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गरेको अभियोग उनीहरूमाथि लगाइएको थियो ।
विभागले अदालतमा दायर गरेको अभियोग पत्रमा चक्रे मिलनले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो । काठमाडौँमा ७ आना जग्गा तथा परिवारका सदस्यको नाममा काठमाडौँ र गोरखामा करिब ३० रोपनी जग्गासहित करिब ७ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको विभागको दाबी थियो ।
यसै मुद्दामा प्रतिवादी रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले भने २०७४ माघ १० गते नै सफाइ पाइसकेका थिए । मुद्दाका अन्य प्रतिवादी गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीसम्बन्धी मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।