
काठमाडौं : सरकारले विदेशस्थित पाँच वटा नेपाली कुटनैतिक नियोग बन्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली राजदुतावासका साथै अमेरिकाको सानफ्रान्सिस्को र चीनको छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भइरहेको बताए ।
प्रवक्ता क्षेत्रीकाअनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलर लगायतका सेवाहरूमा कुनै अवरोध नआउने गरी काम भइरहेको छ ।
सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भएपनि यो व्यवस्था अल्पकालीन मात्र भएको मन्त्रालयको दाबी छ । प्रवक्ता क्षेत्रीले मुलुकको आर्थिक क्षमता वृद्धि हुँदै गएपछि आगामी दिनमा आवश्यकताअनुसार कुटनीतिक उपस्थिति पुनः विस्तार गरिने स्पष्ट पारे ।