
अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्दै सुशासन, परिणाममुखी सेवा प्रवाह र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीति पुनः दोहोर्याएको छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले “कम्प्युटरमा देखाएर होइन, नतिजामा देखिनुपर्छ” भन्दै कर्मचारी संयन्त्रलाई स्पष्ट सन्देश दिएका छन् ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले स्थानीय सरकारको सफलता केवल बजेट खर्चको आकारले नभई त्यसले जनजीवनमा पारेको प्रभाव, सेवा प्रवाहको गुणस्तर र संस्थागत उत्तरदायित्वले निर्धारण हुने बताए । समीक्षा कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी आगामी योजनालाई प्रभावकारी बनाउने आधारका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वडा नं. १ देखि १२ सम्मका जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । विभिन्न शाखाहरूले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम, बजेट कार्यान्वयन, सेवा प्रवाह, भौतिक तथा सामाजिक विकासका उपलब्धि, चुनौती र आगामी योजना प्रस्तुत गरेका थिए । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा तथा प्रशासनिक सुधारलगायतका क्षेत्रमा भएका कामहरूको समग्र समीक्षा गरिएको थियो ।
स्रोत–साधन सीमित हुँदाहुँदै पनि नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको सहभागीहरूको भनाइ छ । तथापि, सेवा प्रवाहमा ढिलासुस्ती, अनुगमनको कमजोरी र कर्मचारी अभाव जस्ता चुनौतीहरू पनि औंल्याइएको छ । विशेषगरी शिक्षा क्षेत्रमा अपेक्षाअनुसार सुधार हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा कर्मचारी व्यवस्थापन सुधार गरी गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नगरप्रमुख श्रेष्ठले आगामी दिनमा पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैली अपनाउन निर्देशन दिँदै सेवा प्रवाहलाई छिटो, गुणस्तरीय र प्रभावकारी बनाउन आग्रह गरे । “जनताको अपेक्षा बढ्दो छ, त्यसअनुसार काम गर्न सबैले इमान्दारिता र अनुशासन आवश्यक छ,” उनले भने ।
उपप्रमुख मिश्रा आचार्यले समीक्षा कार्यक्रमले नीति निर्माण, योजना कार्यान्वयन र जवाफदेही प्रशासन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले समीक्षा निष्कर्षलाई आगामी योजनासँग जोडेर कार्यान्वयन गरिने जानकारी दिँदै कर्मचारी र जनप्रतिनिधिको योगदानप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले आ–आफ्ना प्रगति विवरण प्रस्तुत गरेका थिए । योजना तथा भौतिक पूर्वाधार, आर्थिक प्रशासन, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, साना उद्योग लगायतका क्षेत्रका उपलब्धि र चुनौतीहरूबारे विस्तृत जानकारी दिइएको थियो ।
नगरप्रमुख श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नागरिकप्रति जवाफदेही र मुस्कानसहितको सेवा दिन कर्मचारीलाई आह्वान गरे । उनले २४ घण्टा सेवा प्रवाहका लागि तयारी अवस्थामा रहनुपर्ने बताउँदै विकासका काम समयमै सम्पन्न गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रमले संस्थागत सिकाइ, पारदर्शिता र सुशासनलाई थप सुदृढ बनाउने आधार तयार गरेको सहभागीहरूको निष्कर्ष छ ।