२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

भिजन एन्ड भ्यालुको आयोजनामा रक्तदान

Nada
२०८३ साउन २३ गते ०६:२०
Shares
भिजन एन्ड भ्यालुको आयोजनामा रक्तदान

काठमाडौं : वैदेशिक रोजगार क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउन सफल संस्था भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.को आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ncell

राजधानीका अस्पतालहरूमा रगतको अभाव देखिएकाले त्यसको परिपूर्ति गर्न मद्दत पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको भिजन एन्ड भ्यालुका सञ्चालक पदम पौडेलले मध्यान्हलाई जानकारी दिए । कार्यक्रममा ८९ जनाले रक्तदान गरेका छन् ।

सञ्चालक पौडेलले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रममा भिजन एन्ड भ्यालुका सञ्चालक, कर्मचारी, त्यस क्षेत्रमा कार्यालय सञ्चालन गरेका वैदेशिक रोजगार व्यवसायी तथा स्थानीयलगायतले रक्तदान गरेका थिए ।

भिजन एन्ड भ्यालुले केही वर्षयता रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको सञ्चालक पौडेलले बताए ।

रक्तदान कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’, पूर्वअध्यक्ष रोहन गुरुङ, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, समितिका कार्यकारी उपाध्यक्ष तारानाथ अर्याल, हरिश कुँवर, जगत श्रेष्ठ, निर्मल जिसीलगायतको उपस्थिति रहेको थियो ।

उनीहरूले रक्तदान कार्यक्रम आयोजना गरेर भिजन एन्ड भ्यालुले अस्पतालहरूमा देखिने रगतको अभाव पूर्तिका साथै अन्य व्यवसायीहरूलाई समाजसेवामा अघि बढ्न उत्प्रेरित गरेको बताए । रक्तदाताहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

रगतको अभाव पूर्ति गर्ने आधुनिक चिकित्सा प्रणालीमा अहिलेसम्म अर्को विकल्प पत्ता लागेको छैन । अचानक हुने सडक दुर्घटनाका घाइते, अत्यधिक रक्तस्राव भएका व्यक्ति, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामीलाई रगतको अभावमा समस्या पर्ने गरेको भन्दै सञ्चालक पौडेलले समयमै रगत नपाए त्यस्ता बिरामीको ज्यान नै जोखिममा पर्ने भएकाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

कुनै दीर्घरोग नभएका, कम्तीमा १८ देखि ६० वर्ष उमेरका तथा ४५ किलोग्राम तौल भएका व्यक्तिले कम्तीमा तीन महिनाको फरकमा रक्तदान गर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

कम्पनीले रक्तदानका अतिरिक्त वैदेशिक रोजगारमा जाने युवायुवतीलाई निःशुल्क तालिम प्रदान गरेर संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतका कामसमेत गर्दै आएको सञ्चालक पौडेलले बताए ।

ताजा खबर

सम्बन्धित खबर