
मकवानपुर : मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक सम्पदा र शाहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृति प्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । तराईको राप र हेटौँडाको गर्मीबाट राहत खोज्नेहरूका लागि करिव २० देखि २५ किलोमिटरको दूरीमा रहेको बुढीचौर एक शीतल गन्तव्य बनेको छ । यहाँको स्वच्छ हावापानी र यात्राका क्रममा देखिने मनोरम पहाडी दृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको छ ।
पछिल्लो समय यहाँ निर्माण गरिएको रेलिङ र पदमार्ग सामाजिक सञ्जालमा चर्चामा आएपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् । हाल बुढीचौरमा दैनिक १५० देखि २०० सम्म मोटरसाइकल, अटो, साना विद्युतीय गाडी (ईभी) तथा टाटा सुमोमार्फत पर्यटकहरू पुग्ने गरेका छन् ।
काठमाडौं र हेटौँडा लगायतका क्षेत्रबाट आउने पर्यटकहरूले यहाँको शान्त वातावरण र प्राकृतिक दृश्यलाई अन्तर्राष्ट्रिय स्तरका च्यानलमा देखिने दृश्यसँग तुलना गर्ने गरेका छन् । हेटौँडाबाट घुम्न पुगेका पर्यटक दिलिपकुमार श्रेष्ठ भन्छन्, ‘तराईको गर्मीबाट केही किलोमिटरकै यात्रामा यस्तो शीतल र शान्त ठाउँ भेटिनु अद्भुत छ । यहाँको वातावरण निकै आनन्ददायी छ ।’ पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको बुढी चौर आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्यका रूपमा उदय भइरहेको छ ।
सुरुमा सामान्य गाउँ वा जमघट हुने थलोका रूपमा चिनिए पनि, प्रत्यक्ष भ्रमणका क्रममा यस क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको पाइएको छ । बुढी चौर पुग्ने पर्यटकहरूले यस क्षेत्रको प्राकृतिक बनावट र दृश्यलाई विश्वस्तरीय च्यानलहरूमा देखाइने मनोरम दृश्यहरूसँग तुलना गर्न थालेका छन् । नजिकैको गर्मी क्षेत्रबाट करिब २०–२५ किलोमिटरको दूरीमा रहेको यो स्थान पुग्ने बाटो र वरपरको वातावरण निकै मनमोहक रहेको भ्रमणमा आएका पर्यटकहरू बताउँछन् ।