२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गौरमा निःशुल्क एन्टी-रेबिज खोप शिविर सञ्चालन, समयमै खोप लगाउन आयोजकको आग्रह

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन २३ गते १५:४०
Shares
गौरमा निःशुल्क एन्टी-रेबिज खोप शिविर सञ्चालन, समयमै खोप लगाउन आयोजकको आग्रह

रौतहट : जिल्लाको सदरमुकाम गौरमा कुकुरबाट सर्न सक्ने घातक रेबिज रोगको रोकथाम तथा नियन्त्रणका लागि शनिबार बिहानदेखि निःशुल्क एन्टी–रेबिज खोप शिविर सञ्चालन गरिएको छ । समुदायमा छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुन सक्ने रेबिजको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त खोप शिविर आयोजना गरिएको हो ।

ncell

सामाजिक अभियन्ता सन्तोष पौडेलको व्यक्तिगत प्रायोजन तथा डा. सुभाष एनिमल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि., गौर, रौतहटको प्राविधिक सहयोग एवं सहकार्यमा सो शिविर सञ्चालनमा ल्याइएको हो । शिविरमा स्थानीयवासीलाई आफ्ना घरपालुवा कुकुर ल्याएर निःशुल्क एन्टी–रेबिज खोप लगाउन आह्वान गरिएको छ भने छाडा कुकुरलाई समेत प्राथमिकताका साथ खोप दिने व्यवस्था मिलाइएको छ ।

रेबिज रोगको जोखिमबाट बच्न पूर्वसावधानी र समयमै खोपको पहुँच अपरिहार्य हुने कुरालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । समाजमा अझै पनि कुकुर वा अन्य जनावरले टोकेपछि लापरबाही गर्ने र समयमा खोप नलगाउने परिपाटी रहेकाले जनचेतना फैलाउनु यस कार्यक्रमको मुख्य ध्येय रहेको आयोजकको भनाइ छ ।

कार्यक्रमबारे जानकारी दिँदै प्रायोजक तथा सामाजिक अभियन्ता सन्तोष पौडेलले समाजमा व्याप्त स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सामाजिक दायित्वअन्तर्गत यो कदम चालिएको बताए । ‘रेबिजजस्तो शतप्रतिशत घातक तर खोपबाट शतप्रतिशत रोकथाम गर्न सकिने रोगबारे समुदायस्तरमा अझै पर्याप्त सचेतना पुग्न सकेको छैन,’ उनले भने, ‘यस्ता शिविरले पशु स्वास्थ्यको रक्षा गर्नुका साथै मानव जीवनलाई सम्भावित जोखिमबाट जोगाउन प्रत्यक्ष योगदान पुर्‍याउँछ ।’

शिविर सञ्चालनमा प्राविधिक सहयोग पुर्‍याइरहेको डा. सुभाष एनिमल हस्पिटल एन्ड रिसर्च सेन्टरका पशु चिकित्सक तथा प्रतिनिधिहरूले रेबिज रोग र यसबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी गराएका थिए । चिकित्सकहरूका अनुसार कुकुर, बिरालो वा अन्य शंकास्पद जनावरको टोकाइ, चिथोराइ वा सम्पर्कपछि घाउलाई तुरुन्तै सफा पानी र साबुनले कम्तीमा १५ मिनेटसम्म धुनुपर्छ र ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा गई एन्टी–रेबिज खोप लगाउनुपर्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार रेबिज भाइरसको संक्रमण भएर एकपटक लक्षण देखिइसकेपछि यसको कुनै अचुक उपचार सम्भव हुँदैन र बिरामीको मृत्यु निश्चितप्रायः हुन्छ । त्यसैले जनावरको टोकाइपछि लक्षण पर्खेर नबसी तुरुन्तै चिकित्सकीय परामर्श र खोप लिनु नै सुरक्षित उपाय हो ।

आयोजक टोली तथा डा. सुभाष एनिमल हस्पिटलले सम्पूर्ण गौरवासी तथा आसपासका नागरिकलाई रेबिजको जोखिमबाट बच्न आफ्ना घरपालुवा जनावरलाई नियमित रूपमा एन्टी–रेबिज खोप लगाउन र जनावरको टोकाइ वा शंकास्पद सम्पर्कपछि आवश्यक स्वास्थ्य सावधानी अपनाउन पुनः विशेष आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर