
भक्तपुर : भक्तपुरमा खाना पकाउने एलपी ग्याँसको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना किराना पसल सञ्चालकलाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर सात हजारको दरले एलपी ग्याँस बिक्री–वितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । शनिवार प्रहरीले उक्त पसलमा चेकजाँच तथा अनुगमन गर्दा कालोबजारी भइरहेको पुष्टि भएको हो ।
प्रहरीले पसलबाट ३ थान ग्याँस सिलिन्डर बरामद गर्नुका साथै पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।