
काठमाडौँ : सार्वजनिक लेखा समितिले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा जलेका सरकारी स्रेस्ताको अवस्थाबारे अध्ययन तथा छलफल गर्ने भएको छ ।
समितिले उक्त विषयमा छलफलका लागि आगामी मंगलबार बिहान ११ बजे बैठक बोलाएको छ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बैठकमा आन्दोलनका क्रममा क्षति पुगेका स्रेस्ता तथा त्यसबाट लेखापरीक्षणमा परेको प्रभावबारे विषय केन्द्रित गरिने जनाइएको छ ।
बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव तथा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ । आन्दोलनका क्रममा सरकारी कागजात तथा स्रेस्ता जलेका कारण कतिपय अभिलेखको लेखापरीक्षण हुन नसकेको विषयलाई समितिले छलफलको आधार बनाएको हो ।
देशभर आन्दोलनका क्रममा क्षति भएका स्रेस्ताको अवस्था, अभिलेख संरक्षण तथा लेखापरीक्षणमा उत्पन्न भएको व्यावहारिक समस्याबारे सम्बन्धित पदाधिकारीसँग जानकारी लिने समितिको तयारी छ ।