
दोहा कतार : परियार मित्रता समाज, कतारले राष्ट्रिय नौमती बाजाको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाली मौलिक कला, संस्कृति र पहिचान जोगाउने उद्देश्यले विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्कृति, सम्मान र पहिचान : राष्ट्रिय नौमती बाजा संरक्षण तथा प्रवर्द्धन हाम्रो अभियान’ नारासहित आयोजित कार्यक्रममा नौमती बाजाका मुख्य व्यक्तित्वलाई फेटा लगाई सम्मान गर्नुका साथै विधिपूर्वक बाजाको पूजा गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा वक्ताहरूले नौमती बाजा कुनै एक जाति वा समुदायको मात्र नभई समग्र नेपाली पहिचानसँग जोडिएको राष्ट्रिय सम्पदा भएकाले यसको संरक्षणमा राज्यसहित सबै पक्षको पहल आवश्यक रहेको बताए ।
समाजका संरक्षक कृष्ण परियारले नौमती बाजाको इतिहासबारे जानकारी दिएका थिए भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारले सोरठी भाकामा नृत्य प्रस्तुत गरेका थिए । एक दर्जनभन्दा बढी कलाकारको साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले विदेशमा रहेर मौलिक संस्कृति संरक्षणमा समाजले गरेको प्रयास प्रशंसनीय रहेको बताए ।
समाजका अध्यक्ष सुमन नेपाल परियारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था, कलाकार, सञ्चारकर्मी तथा सहयोगीप्रति आभार व्यक्त गरे । कार्यक्रममा सांस्कृतिक तथा सामाजिक गतिविधिमा सहयोग गर्ने विभिन्न संघसंस्था, कलाकार, समाजसेवी र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । भाग्यशाली चिठ्ठामा पहिलो पुरस्कार एचपी ल्यापटप गायिका गुना मगर ‘निशु’ले प्राप्त गरिन् भने दोस्रो पुरस्कार ट्याब, तेस्रो स्मार्टफोन र पाँच जनालाई स्मार्ट घडी प्रदान गरिएको थियो ।