
काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले भर्ना तथा छनोट प्रक्रियामा रकम बुझाउनुपर्दैन भन्ने जानकारी राख्न थालेका छन् । यो अन्तर्राष्ट्रिय अभ्यास हो ।
सोमबार मलेसियाको प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीका लागि उड्न लागेका १५ जना पुरुष श्रमिकले सञ्चारका विभिन्न माध्यमबाट निःशुल्क रूपमा वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने सुनेको विषय फ्युजन इन्टरनेसनल प्रा.लि.बाट यथार्थमा परिणत भएको बताए ।
रोजगारीका लागि मलेसिया जाँदा म्यानपावर कम्पनीले ठुलो रकम खर्च गरेको सुनेका रामभगत साह श्रम स्वीकृतिको प्रक्रियामा रोजगारदाताले म्यानपावर कम्पनीमार्फत आफ्नो बैंक खातामा १५ हजारभन्दा बढी रकम पठाएपछि खुसी देखिन्थे । उक्त रकम मेडिकल गर्दा लागेको ९ हजार ८९०, अन्तरवार्ताका लागि काठमाडौं आउँदा–जाँदा र काठमाडौंमा बस्दाको ४ हजार ४१४ तथा अभिमुखीकरण तालिमलगायतमा कामदारले गरेको खर्चअन्तर्गत कम्पनीले फिर्ता गरेको रकम हो ।
उनीसहित १५ पुरुष कामदार सोमबार स्पिकर बनाउने मलेसियाको प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीका लागि उड्नेछन् । उनीहरू सोही कम्पनीमा दुई वर्ष काम गरेका अनुभवी कामदार हुन् ।
कार्यक्रममा नेपालमा श्रमिक भर्ना प्रक्रियाको सम्पूर्ण लागत रोजगारदाताले व्यहोर्ने ‘इम्प्लोइमेन्ट पे मोडल’ अर्थात् नैतिक भर्ना प्रणालीको अनुगमन गरिरहेको पौरखी नेपालअन्तर्गत इन्स्योर परियोजनाका सुदास खत्रीले नेपालमा शून्य लागतमा वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने सन्देश व्यवस्थित रूपमा फैलिएको बताए ।
उनले मलेसियाका ग्लोब्स कम्पनीमा निःशुल्क रूपमा जानुपर्ने भए पनि भर्ना प्रक्रियामा रकम बुझाएका धेरै श्रमिकको उजुरी वैदेशिक रोजगार विभागमा पठाएको र नेपाली म्यानपावर कम्पनीहरूको अनुगमन गरिरहेको बताए ।
प्रिमियम साउन्ड सोलुसन्समा जाने श्रमिकसँगै उनीहरूका अभिभावक पनि बिदाइ कार्यक्रममा सहभागी थिए । परिवारका सदस्य शून्य लागतमा मलेसिया जान पाउँदा उनीहरू पनि खुसी थिए ।
फ्युजन इन्टरनेसनल कन्सल्टेन्ट प्रा.लि.का सञ्चालक कुमुद खनालले शून्य लागतमा जाने कामदार छनोट प्रक्रियामा धेरै सावधानी अपनाउनुपर्ने देखिएको, तर काममा सन्तुष्टिको स्तर रकम लिएर पठाउनुभन्दा उच्च रहेको अनुभव पनि सुनाए ।
मलेसियाको प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीले फ्युजन इन्टरनेसनल प्रा.लि.मा दिएको १५ जना पुरुष कामदारको माग देखाएर ठगहरूको गिरोहले २ लाख ५० हजारसम्म उठाउन खोजेपछि फ्युजन इन्टरनेसनलले आफैं ‘स्टिङ अपरेसन’ चलाउनुपरेको सञ्चालक खनालले बताए ।