
दोहा कतार : कतारको गृह मन्त्रालयले रातिको समयमा सवारीसाधन चलाउँदा आवश्यक बत्ती प्रयोग नगर्ने चालकलाई कारबाही हुने जनाएको छ । कतारको ट्राफिक कानुनअनुसार सूर्यास्तदेखि सूर्योदयसम्म सवारीसाधन चलाउँदा अगाडि र पछाडिका आवश्यक बत्ती बाल्नुपर्ने व्यवस्था छ । त्यस्तै, प्रतिकूल मौसम वा दृश्यता कम भएको अवस्थामा पनि आवश्यकताअनुसार बत्ती प्रयोग गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
ट्राफिक कानुनको धारा ७० मा सवारीसाधनका बत्तीको प्रयोगसम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्था उल्लंघन गरेमा धारा ९५ बमोजिम तीन हजारदेखि १० हजार कतारी रियालसम्म जरिवाना वा एक सातादेखि एक वर्षसम्म कैद हुनसक्ने व्यवस्था रहेको छ । मन्त्रालयले रातिको समयमा बत्ती नबालेर सवारी चलाउँदा चालक स्वयं तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा जोखिम बढ्ने भएकाले ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न चालकलाई आग्रह गरेको छ ।
कतारमा पछिल्लो समय सडक सुरक्षा तथा ट्राफिक नियमको पालनामा जोड दिँदै आएको मन्त्रालयले चालकलाई सवारीसाधनका सबै आवश्यक बत्ती ठिक अवस्थामा राख्न र परिस्थितिअनुसार उचित बत्ती प्रयोग गर्नसमेत सचेत गराएको छ ।