
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृतविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चुलाचुली गाउँपालिकाका छैठौं तहका इन्जिनियर डिल्ली राज खड्का र आठौं तहका लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
इन्जिनियर डिल्लीराज खड्काले गाउँपालिका अन्तर्गतको योजनामा रहेको पुलको 'रिडिजाइन' स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहज गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आयोगमा परेको थियो । सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारको विस्तृत अनुसन्धानका क्रममा सो कार्यमा इन्जिनियर खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईको आपसी मिलेमतो रहेको पुष्टि भएको छ । योजनामा पुलको डिजाइन, रिडिजाइन, 'थर्ड पार्टी भेरिफिकेसन' तथा भुक्तानीसम्बन्धी कार्य सम्पन्न गर्न र ठेक्काको बिल भुक्तानी गराउन आफूहरूले महत्त्वपूर्ण भूमिका खेली सहजीकरण गरिदिएको भन्दै उनीहरूले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर पुष्टि भएपछि अख्तियारले दुवै जनामाथि जनही ६ लाख रुपैयाँ बिगो कायम गरेको छ । अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।