२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

३२औं विश्व आदिवासी दिवस कतारमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २६ गते १५:४३
Shares
३२औं विश्व आदिवासी दिवस कतारमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइँदै

दोहा, कतार : नेपाल आदिवासी जनजाति महासंघ, दोहा कतार तथा महासंघमा आबद्ध सम्पूर्ण मातृ संस्थाहरूको संयुक्त आयोजनामा ३२औं विश्व आदिवासी दिवस–२०२६ विविध सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

ncell

संयुक्त राष्ट्रसंघले यस वर्षका लागि अघि सारेको ‘आदिवासी र कृत्रिम बुद्धिमत्ता : अधिकारको रक्षा, भविष्यको निर्माण’ भन्ने मूल नारालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गर्न लागिएको हो । महासंघका अनुसार कार्यक्रममा कतारमा रहेका विभिन्न नेपाली आदिवासी जनजाति समुदायका मौलिक भाषा, संस्कृति, कला, परम्परा र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति रहनेछन् । साथै आदिवासी जनजातिको अधिकार, पहिचान, समावेशिता तथा सांस्कृतिक संरक्षणका विषयमा शुभकामना आदान–प्रदानसमेत गरिनेछ ।

कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार तथा कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि महासंघले आग्रह गरेको छ । कार्यक्रम आगामी शुक्रवारका दिन अल वकिरमा रहेको डिपीएस मोनार्क अन्तर्राष्ट्रिय स्कुलको हलमा आयोजना हुनेछ। कार्यक्रम मध्यान्ह १२:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

विश्व आदिवासी दिवसले विश्वभरका आदिवासी जनजातिको पहिचान, अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षणका साथै सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा समान सहभागिताको सवाललाई उजागर गर्दै आएको छ । कतारमा पनि नेपाली आदिवासी जनजाति समुदायले हरेक वर्ष विविध कार्यक्रममार्फत यो दिवस मनाउँदै आएको छ । यस वर्षको कार्यक्रममार्फत कतारमा रहेका नेपाली आदिवासी जनजाति समुदायबिच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली मौलिक संस्कृति तथा पहिचानलाई प्रवासमा समेत संरक्षण र पुस्तान्तरण गर्ने सन्देश दिने प्रयास गरिने जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

ताजा खबर

सम्बन्धित खबर