
चितवन : भरतपुर महानगरपालिका-२८ जितपुरमा बाघको आक्रमणबाट एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मंगले बोटे रहेका छन् ।
बोटे बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए । बिहान करिब ८ बजे उक्त क्षेत्रमा बाघ देखिएको सूचना प्राप्त भएपछि खोजी कार्यलाई थप तीव्र बनाइएको थियो ।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको समन्वयमा हात्ती प्रयोग गरी बोटेको खोजी गरिएको थियो ।
खोजीका क्रममा अपराह्न ४ बजेर २० मिनेटमा जितपुरबाट करिब चारदेखि पाँच किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणमा परेको अवस्थामा बोटेको शव फेला परेको हो ।
फेला परेको शव बोटेकै भएको उनका छोराले सनाखत गरेका छन् । घटनापछि सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।