
काठमाडौँ : व्यक्तिगत आचरणसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
सरकारी जिम्मेवारीमा रहेका व्यक्तिको व्यक्तिगत विषयले सरकार तथा मुलुकको सार्वजनिक छविमा असर पर्न सक्ने भन्दै उनले नैतिक जिम्मेवारीका आधारमा पद त्यागेको बताइएको छ ।
एक महिलाले छिरिङविरुद्ध उजुरी दिँदै आफूलाई उनको वैवाहिक अवस्थाबारे गलत जानकारी दिइएको दाबी गरेकी थिइन् । साथै, उनीहरूबीचको व्यक्तिगत सम्बन्धका क्रममा सरकारी पदको प्रभाव, व्यावसायिक सुविधा तथा स्वार्थको द्वन्द्वसँग सम्बन्धित प्रश्नसमेत उठाइएको थियो ।
उक्त उजुरीसँग सम्बन्धित निजी सन्देश र तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विषय थप चर्चामा आएको थियो ।
भुटानको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै छिरिङले व्यक्तिगत विवादलाई लिएर स्वेच्छाले राजीनामा दिएको जनाएको छ । सार्वजनिक पदमा रहँदा सुशासन, जनविश्वास र संस्थागत मर्यादाका उच्च मापदण्ड कायम राख्नुपर्ने मान्यताअनुसार आफू पदबाट अलग भएको छिरिङको भनाइ रहेको विज्ञप्तिमा उल्लेख छ ।
गृहमन्त्रीको राजीनामासँगै भुटानमा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिको व्यक्तिगत आचरण, सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने आरोप तथा त्यस्ता विवादले सरकार र राज्यको प्रतिष्ठामा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।