
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिए । जसअनुसार राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) फर्म्याटको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । यसअघि रोहित पौडेलले नेतृत्व गर्दै आएका थिए ।
सचिव खड्काले आधुनिक क्रिकेटको आवश्यकता, खेलाडीको कार्यभार र सन् २०२७ तथा २०२८ का विश्वकप लक्ष्यहरूलाई मध्यनजर गर्दै दुईवटा फर्म्याटका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गर्ने निर्णय लिइएको प्रष्ट पारे ।
सचिव खड्काले भने, ’रोहित पौडेल नेपालका सर्वाधिक सफल कप्तान हुन् र उहाँकै नेतृत्वमा हामीले ऐतिहासिक सफलताहरू हासिल गरेका छौं । तर भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि नेतृत्वमा यो हेरफेर गरिएको हो । यसले टोलीमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने हाम्रो विश्वास छ ।‘
नेपाली टोलीको आगामी तालिकाबारे जानकारी दिँदै सचिव खड्काले टोली शुक्रबार नै भारत प्रस्थान गर्न लागेको बताए । भारतमा विशेष तयारी गरेपछि टोली उतैबाट सिधै मलेसिया जाने कार्यक्रम तय भएको छ । मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ, किनकि यो प्रतियोगिता एसिया कप छनोटको आधारसमेत हो ।
उनले भने, ‘हाम्रो मुख्य उद्देश्य एसिया कपमा छनोट हुनु र ओडिआई वरीयतामा सुधार गर्नु हो । नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि बाह्य मैदानमा सोही अनुरूपको नतिजा आउन सकेको छैन । अबको लक्ष्य भनेको विदेशी भूमिमा पनि उत्कृष्ट खेल पस्किनु हो ।’
क्यानले अब केवल ‘म्यानेजमेन्ट’मा मात्र सीमित नभई क्रिकेटको ‘डेभलपमेन्ट’मा केन्द्रित हुने योजना अघि सारेको छ । सचिव खड्काले क्रिकेट एक सामूहिक खेल भएको र यसमा कुनै एक व्यक्तिको भन्दा पनि सिंगो राष्ट्रको जित महत्वपूर्ण हुने उल्लेख गरे । उनले राष्ट्रिय टोलीलाई सहयोग गर्ने सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक र सञ्चारकर्मीहरूप्रति आभार समेत व्यक्त गरे ।
नेपाली टोलीले एसिसी प्रिमियर कपका साथै आइसिसी विश्वकप लिग–२ का खेलहरू र अस्ट्रेलियामा हुने ‘ए’ टिमको भ्रमणलाई पनि प्राथमिकतामा राखेको छ । क्यानले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन सबै सरोकारवालाहरूबाट धैर्य र निरन्तर सहयोगको अपेक्षा गरेको छ ।