
दोहा : कतारमा सञ्चालित सामुदायिक स्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलमा नेपालले फिलिपिन्स ‘सी’ टोलीलाई लगातार दुई सेटमा २५–४ र २५–१४ को प्रभावशाली अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि नेपाली टोलीले ट्युनिसिया र कतार फाउन्डेसनलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
कोशेली मगरको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टोलीको लगातारको प्रभावशाली प्रदर्शनले कतारमा रहेका नेपाली समर्थकमा उत्साह थपिएको छ । खेलाडीको हौसला बढाउन नेपाली समर्थकहरू खेल स्थलमा उपस्थित भएर नेपाली टोलीलाई समर्थन गरेका थिए । एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले नेपाली टोली अब प्रतियोगिताको उपाधिको नजिक पुगेको बताउँदै कप जित्नेमा आफू विश्वस्त रहेको बताए ।
नेपाली खेलाडीको शानदार प्रदर्शनपछि खेल स्थलमा उपस्थित नेपाली समर्थकहरूमा उत्साह थपिएको छ । ‘नेपाल–नेपाल’को नारासहित नेपाली टोलीलाई समर्थकहरूले हौसला प्रदान गरिरहेका छन् ।