२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

अनलाइन सम्बन्ध

Nada
सपना बोहरा
२०८३ साउन ३० गते ०६:००
Shares
अनलाइन सम्बन्ध

‘चिया पाक्यो, भान्सामा आउनुस्’ 

ncell

उताबाट श्रीमतीको मोबाइलबाट म्यासेज आउँछ । फेसबुकको नोटिफिकेसन आएपछि श्रीमान् झटपट म्यासेज हेर्छन् र रिप्लाई गर्छन्– ओके । 

श्रीमती दुई कप चिया तयार पारिसकेकी हुन्छिन् । एउटै टेबुलमा दुईजना छन् । मिठो चिया छ । तर, संवाद हुँदैन । श्रीमान्ले टेबलमा राखिएको चियाको कपको फोटो खिच्छन् अनि स्टाटस लेख्छन्– गुड मर्निङ । श्रीमती पनि फेसबुकमै व्यस्त थिइन् । कमेन्ट लेख्छिन्– मर्निङ । केही समय दुवैजना सामाजिक सञ्जालमा व्यस्त हुन्छन्, तर कुराकानी हुँदैन । श्रीमती भान्साको काममा लाग्छिन् । श्रीमान् घरका अरू काम गर्छन् । खाना पाकिसकेपछि पस्केर थालमा राखेको खानाको फोटो खिचेर म्यासेन्जरमा पठाउँछिन् । फोटोमा लभ रियाक्ट गरेर श्रीमान् खाना खान भान्सामा जान्छन् । उताबाट छोरीको म्यासेज आउँछ । म्यासेजमा कलेजको फि तिर्नका लागि र केही व्यक्तिगत खर्चका लागि पैसा चाहियो भन्ने थियो । ठुलो स्टिकर वाला लाइक पठाउँछन् । अनि क्युआरमार्फत एक मिनेटमै अकाउन्टमा पैसा पुग्छ । अन्य कुनै संवाद हुँदैन । 

उनी फेरि फोनमै व्यस्त हुन्छन् । रिल्स, टिकटक हेर्छन्, त्यसैमा रमाउँछन् । हजुरबुवा–आमालाई घरमा न्यास्रो लाग्छ भनेर फोन चलाउन सिकाएका छन् । घरमा रेडियो घन्किन छाडेको दशकौं भइसक्यो । टिभी छ, तर कसैले हेर्दैनन् । स्मार्ट फोन चलाउन सिकेपछि बुवा–आमाले घरीघरी भिडियो कल गरेर हैरान पार्छन् । पछिल्लो समय परिवारका सदस्यबीच भिडियो कल..., कल पनि पातलिँदै गयो । भ्वाइस म्यासेज छाड्यो, बस् । हातमै फोन भए पनि परिवारमा संवाद छैन । परिवारमा कसले के गरिरहेको छ ? ती सबै कुरा फेसबुक हेरेपछि मात्र थाहा हुन्छ । चाहे त्यो सकारात्मक होस् वा नकरात्मक । 

‘हाम्रो त परिवारमा कसैसँग केही कुरा हुँदैन । साँझ एकैपटक खाना खानेबेला भेट हुन्छ । खाना खायो, आ–आफ्नो बेडमा गयो’ चिया गफमा एकजनाले भन्दै छन् । तर, बेडमा अबेरसम्म कोही निदाउँदैन । सबैजना सामाजिक सञ्जालमै व्यस्त हुन्छन् । 

पछिल्लो समय सामाजिक सञ्जालले संसारलाई जोडेको छ । दुनियाँ चिनाएको छ । तर, आफू र आफ्ना आफन्तलाई टाढा बनाएको छ । परिवारभित्रको सदस्यले कसरी जिन्दगी चलाइरहेको छ, त्यो बुझ्दैन । सामाजिक सञ्जालमा कसैले पोस्ट गरेकै भरमा सहयोग गर्न तम्सिन्छन् । सामाजिक सञ्जालले दुनियाँलाई नजिक र नजिककालाई टाढा बनाउँदै लगेको छ । यति टाढा कि एउटै छानामुनि बस्ने परिवारमा संवाद होइन, मोबाइलको नोटिफिकेसनको पर्खाइ हुन्छ ।  

धेरै समय मोबाइल, कम्प्युटर चलाएर ‘बोर’ भयो भनेर साथी खोज्छन् । चिया खान क्याफेमा समेत पुग्छन् । तर, लागेको लत कहाँ छुट्छ र ? सुरुमै फोनमा वाइफाई कनेक्ट हुन्छ । चियाको चुस्कीसँग मिठा–मिठा गफ हुनुपर्ने, तर मोबाइलमै ध्यान हुन्छ । 

पछिल्लो समय हरेकका लागि मोबाइल मुटुजस्तै भइसक्यो । एकछिन चल्न छाड्यो वा हरायो भने मुटुको धड्कन नै चल्न रोक्ने । बरु, मान्छे बिरामी भए केही समयपछि अस्पताल जाला, तर मोबाइल बिरामी हुनुभएन । अन्य सामान चोरी भए केही समय पर्खिएला । यताउता खोजतलासमा समय लाग्ला । तर, फोन हरायो भने जुनसुकै अवस्थामा पनि प्रहरीमा खबर पुग्छ र बडो चासोका साथ प्रहरीलाई निरन्तर सोधीखोजी गरिन्छ । केही दिनपहिले उपत्यका प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पनि प्रहरी प्रमुखले भन्दै थिए– सर्वस्व नै हराएको जस्तोगरी मोबाइल हरायो भन्दै आउने गर्छन्, अचम्म लाग्छ । 

सञ्चो, विसञ्चो सोध्ने चलन पनि हटिसक्यो । बस्, फेसबुक, हवाट्सएपलगायतमा निलो सिग्नल आए पुग्छ । त्यति मात्रै होइन, परिवारका सदस्य कोही टाढाको यात्रामा छ भने पुग्यो कि भनेर सोध्ने चलन नै हराइसक्यो । सामाजिक सञ्जालले संसारसँग जोडेको छ । टाढा रहेका आफन्तसँग भिडियो कल गर्न सकिन्छ । साथीहरूसँग क्षणभरमै कुरा गर्न सकिन्छ । नयाँ सूचना तुरुन्तै पाउन सकिन्छ । तर, यही सुविधा परिवारभित्र भने एउटा अचम्मको दूरीकोे कारण बन्न थालेको छ । 

हामीले मोबाइललाई स्मार्ट बनायौं । घरलाई पनि स्मार्ट बनायौं । इन्टरनेटको गति बढायौं । संसारलाई औंलाको टुप्पोले चलायौं, सामाजिक सञ्जालबाट एक–अर्कासँग जोड्यौं । तर, सामाजिक सञ्जालमा चौबीसै घण्टा अनलाइन हुँदा कतै आफ्नै स्वजन, आफन्त र परिवारको जीवनमा भने ‘अफलाइन’ त हुँदै गइरहेका छैनौं ?

ताजा खबर

सम्बन्धित खबर